काभ्रे भुम्लु गाउँपालिकाका स्थानीयले भने, 'अरु केही चाहिन्नँ, लालपुर्जा दिलाइदिनु’

आइतबार, कात्तिक ६, २०७९

काभ्रेपलाञ्चोक ।  सत्तारुढ गठबन्धनका काभ्रेका प्रतिनिधिसभा क्षेत्र नं २ र यसअन्तर्गतको दुई प्रदेशसभा क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारसहितको टोली चार दिनदेखि भुम्लु गाउँपालिकामा ‘घरदैलो’ अभियानमा छ । भुम्लुमा स्थानीयसँग भेटघाटका क्रममा फलाँटे र भुम्लुटार दुई वडाका स्थानीयले उम्मेदवारसँग ४६ वर्षदेखिको आफूहरूको लालपुर्जाको समस्या समाधान गरिदिन माग गरेका छन् । 
“हामीलाई अरु केही चाहिन्नँ, हाम्रो अड्किएको लालपुर्जा दिलाइदिनुस्”, स्थानीय सन्त तामाङले उम्मेदवारसँगको भेटघाटमा भने । उनले अघिल्लो सरकारले पनि आशा देखाएकाले ‘आशावादी’ मात्रै नबनाउन आग्रह गरेका थिए । उम्मेदवारको टोलीले स्थानीयसँग भेटघाटसँगै भए÷गरेका विकासका काम तथा अबको आवश्यकताका बारे चासो दिइरहेको छ ।
लापुर्जाबारे फलाँटेमा प्रतिनिधिसभा क्षेत्र नं २ का शिवप्रसाद हुमागाईँसहितको टोलीले शनिबार दिनभर स्थानीयसँग छलफल नै गरेको थियो । स्थानीयका एउटै माग लालपुर्जा दिलाइदिनुनै रहेको थियो । हुमागाईँ र प्रदेशसभा (क) का उम्मेदवार लक्ष्मण लम्सालले आफूहरू लालपुर्जाको समस्याप्रति निकै गम्भीर रहेको र स्थानीयलाई ढुक्क भएर बस्न आग्रह गरे । स्थानीय पूर्णबहादुर श्रेष्ठले लालपुर्जा दिलाइदिन प्रतिबद्ध उम्मेदवारलाई मात्रै मत हाल्ने बताए । 
छयालीस वर्षदेखि फलाँटे र भुम्लुटारका एक हजार दुई सय स्थानीय लालपुर्जाविहीन अवस्थामा रहेका छन् । विसं २०३२ मा जग्गा नापी गर्दाका बखत साविकको पिपलटार गाविस र भुम्लुटार गाविसबीच टारको खेतीयोग्य जमिन कता राख्ने भन्ने विषयमा दुई गाविसका नेतृत्वबीच विवाद हुँदा तत्कालीन नापी टोली फर्किएको थियो । त्यसयता सरोकारवाला निकायबाट विभिन्न चरणमा समस्या समाधानार्थ प्रयास भए पनि हालसम्म कसैले लालपुर्जा पाउन सकेका छैनन् ।
नेपाली कांग्रेसतर्फबा उम्मेदवारी दिएका पूर्व सांसद हुमागाईँले घरदैलो कार्यक्रममा अधुरा काम आफूले पूरा गर्ने बताउँदै आएका छन् । निर्वाचन आयोगका अनुसार यही कात्तिक १७ गतेसम्म २५ जनाको सङ्ख्यामा उम्मेदवारले घरदैलो गर्न पाउने छन् । आयोगको आचासंहिताअनुसार आफू घरदैलोमा केन्द्रित रहेको उनले बताए । 
छयालीस वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहेपछि स्थानीयले जग्गाधनीबारे छानविनमा थप समस्या उत्पन्न भएपछि छुट्टै नीतिको माग गर्दै आएका छन् । लालपुर्जा अभावमा रसिदका आधारमा किनबेच हुँदै आएकाले मालपोत कार्यालयको फिल्डबुक र हालको रसिदवाहक जग्गाधनीबीच मेल नहुँदा छानविनमा सकस भएको बताइन्छ । यसपछि गाउँपालिकाको ७ र ८ नं वडामा जमिनबारे स्थलगत छानविन गर्न गएको जिल्लास्थित मालपोत तथा नापी कार्यालयका दुई टोली गत असारमै फिर्ता आएका थिए । लालपुर्जा नहुँदा स्थानीयले भूकम्पपछि आवास निर्माणलगायत विभिन्न समस्या झेल्दै आएका थिए । 
हाल मालपोतको टोली कार्यालयमै फिल्डबुक अध्ययन गरिरहेको जनाइएको छ । तर मालपोत र नापी कार्यालयका अधिकारीले लालपुर्जा समस्या छुट्टै नीति बनाएरमात्रै समाधान हुने जनाउँदै आएका छन् । हाल पनि रसिदका आधारमा जग्गा किनबेच भइरहने हुँदा छानविनका बेला एकको नाममा र पुर्जा बन्ने बेला बिक्री भई अर्काको नाममा गइसक्ने समस्याले झन् कठिन भइरहेको फिल्डमा खटेका नापी अधिकृत लवप्रसाद कुइँकेलले बताए । उहाँका अनुसार रसिदकै आधारमा जग्गा किनबेच भएको लगत जिल्ला मालपोत कार्यालयबाट उपलब्ध हुने सकेको छैन ।
टोलीले स्थलगतरूपमा गरेको छानविन र मालपोतको रेकर्डमा कतिपय जग्गाधनीको नाम फरक–फरक भएका कारण थप समस्या उत्पन्न भएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए । “मालपोतको फिल्डबुकमा लगत मिल्दैन, यसअघि लालपुर्जा नहुँदासमेत रसिदका आधारमा किनबेच गरेकाले निकै कित्ताको नाम फरक–फरक आइरहेको छ, त्यसैले हाल थप समस्या उत्पन्न भएको छ”, उनले भने । 
भुजेलले भुम्लुको लालपुर्जा समस्याबारे सरोकारवाला निकायले छुट्टै नीति नबनाएसम्म समाधान हुनसक्ने बताए । उनका अनुसार गाउँपालिकाका पदाधिकारीसहितको टोलीले भुम्लुको लालपुर्जाको समस्या समाधानार्थ जिल्लास्थित मालपोत कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा भूमि आयोगमासमेत हालै आग्रह गरिएको छ ।      
तत्कालीन नक्साङ्कनको अवस्थामा सीमा विवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि करिब एक हजार दुई सय लालपुर्जाविहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा २०७७ माघ महिनासम्म लालपुर्जा प्राप्तिका लागि ७ नम्बर वडास्थित कार्यालयमा नौ सय ३२ र ८ नम्बरमा तीन सय १७ निवेदनसमेत दर्ता गरेका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ०८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार