गठबन्धन भित्र एक–अर्काको चुनाव चिह्नमा मतदान गर्न अप्ठ्यारो मान्नु पर्दैन : प्रधानमन्त्री

  ‘उपलब्धि रक्षाका लागि गठबन्धनलाई जिताउनै पर्छ’ 
आइतबार, कात्तिक ६, २०७९

जनकपुरधाम । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राप्त उपलब्धिहरुको रक्षाका लागि पाँच दलिय गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् ।  पाँच दलीय गठबन्धनद्वारा शनिबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले गणतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि गठबन्धन गरिएकाले जिताउनुपर्ने बताए । लोकतन्त्र र गणतन्त्रलाई स्थायित्व गराउन र प्राप्त उपलब्धिहरुको रक्षा गर्न पाँच दलबीच गठबन्धन भएको उल्लेख गर्दै उनले सत्तारुढ गठबन्धनका दललाई एक अर्का दलको चुनाव चिह्नमा मतदान गर्न कुनै अप्ठ्यारो नमान्न आग्रह गरे । 
“एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गर्न हुने, हामीले किन गर्न नहुने ?” प्रश्न गर्दै प्रधानमन्त्री देउवाले भने, “मुलुकलाई बचाएर लोकतन्त्र, सङ्घीय गणतन्त्रलाई स्थायी बनाउन सबै नेता तथा कार्यकर्ताले घरघरमा गएर सबैसँग भोट हाल्न लगाएर गठबन्धनलाई जिताउन आवश्यक छ ।” 

AKS-Dhanusha-PMDeubab1666480264.jpg
“देश बचाउनु छ, सँगसँगै गठबन्धन पनि जोगाउनु छ”, प्रधानमन्त्री देउवाले भने, “संविधानको रक्षा, समावेशी, सङ्घीयता, गणतन्त्रको रक्षा र संविधान जोगाउनका लागि गठबन्धन गर्नु अहिलेको आवश्यकता हो ।” गठबन्धनको सरकार बनेपछि धेरै अवसर सिर्जना हुने र ती ठाउँमा अहिले अवसर नपाएकाको माग सम्बोधन गरिने उनको भनाइ थियो । आसन्न निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री देउवाले विकास र परिवर्तनका निम्ति पाँच दलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए । 
भेलालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन सामान्य प्रक्रिया भए पनि यो खास उद्देश्यका लागि भएकाले गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताए । विशेष परिस्थितिमा आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले बृहत् शान्ति सम्झौताबाट नै मुलुकमा युगान्तकारी परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृतिका विरुद्धमा गठबन्धन बनेको धारणा राखे । 
अध्यक्ष दाहालले शान्ति सम्झौताको निरन्तरता कै रुपमा गठबन्धन अगाडि बढेको उल्लेख गर्दै उनले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्ता एवं नेताहरुलाई निर्देशन समेत दिए । “सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच कुनै समस्या छैन”, उनले भने, “हामी यो देखाउन चाहन्छौँ कि गठबन्धनका हामी नेताहरु एक ढिक्का छौँ, हाम्रो बीचमा अहिले कुनै दरार छैन ।”
नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्ति र व्यक्तिको हातबाट नेतृत्व खोस्न पाँच दलीय गठबन्धन बनेको बताए । एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको गठबन्धनलाई अपवित्र गठबन्धनको संज्ञा दिँदै उनले मुलुकलाई सङ्कटबाट जोगाउन र संविधानको रक्षाका लागि पनि गठबन्धनलाई जिताउनुपर्ने बताए । 

AKS-Dhanusha-PMDeubac1666480265.jpg

विसं २००७ देखि नै देश बचाउन कम्युनिष्ट र लोकतन्त्रवादी दलबीच तालमेल हुँदै आएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “गठबन्धनको एकता र ऐक्यबद्धता नै हाम्रो सङ्कल्प हो ।” राजनीति सही मार्गमा गए मात्र समाजका समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे । 
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन गठबन्धन निर्माण भएको बताए । उनले नेपाली जनतालाई बलियो बनाउन र अर्थतन्त्रलाई सुदृढ तुल्याउन गठबन्धनका उम्मेदवार जित्नुपर्ने विचार व्यक्त गरे । 
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले मधेसी, दलित, मुस्लिम, अल्पसङ्ख्यक, आदिवासी, जनजाति, पिछडिएका वर्गलगायत आमनेपालीलाई सुखी बनाउने लक्ष्य पूरा गर्न आफूहरुले गठबन्धन गरेको जिकिर गर्दै गठबन्धनको पक्षमा मतदान गर्न सबैलाई आग्रह गरे । उहाँले मधेस मुद्दा सम्बोधन र नागरिकता समस्या समाधानका लागि तथा देशलाई अग्रगामी निकासका लागि गठबन्धन गरिएकाले सबैले गठबन्धनलाई जिताउने गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए । 

‘गठबन्धनका साझा उम्मेदवारलाई जिताउनुपर्छ’

नेकपा (एकीकृत समाजवादी)का महासचिव डा वेदुराम भुसालले जनताको मौलिक अधिकारसहित सिङ्गो प्रणालीको रक्षाका लागि गठबन्धनका साझा उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् । 
पार्टीको काठमाडौँ क्षेत्र नं १ ले आयोजना गरेको दसैँ, तिहार, छठ र नेपाल संवत्लगायतका चाडको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा डा भुसालले आगामी मङ्सिर ४ गते हुने निर्वाचन प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गर्दै गठबन्धनका साझा उम्मेदवार अग्रगमनका पक्षधर भएको प्रष्ट पारे । 
नेकपा (एमाले)सँग आफूहरूले विद्रोह नगरेको भए संविधानको रक्षा नहुने बताउँदै उनले आफूहरूले त्यस समयमा विद्रोह गरेर प्राप्त उपलब्धिको रक्षा गरेको उल्लेख गरे । महासचिव डा भुसालले स्थानीय निर्वाचनमा मतदाता शिक्षाको अभावकै कारण धेरै मत बदर भएको स्मरण गर्दै त्यसतर्फ ध्यान दिन र मतदाता शिक्षालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
आगामी चुनावले पार्टीको शक्ति र हैसियतलाई सुदृढ गर्ने र त्यसका लागि प्रत्यक्षसहित समानुपातिकतर्फ पार्टीको कलम चुनाव चिह्नमा मतदान गर्न अभिप्रेरित गर्दै उनले गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए ।

व्यवस्था बदल्यौँ, अब प्रवृत्ति बदलौँ : उपसभापति गुरुङ

यता स्याङजामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा व्यवस्था बदलिए पनि प्रवृत्ति नबदलिएको बताएका छन् । उनले व्यवस्था परिवर्तन भए पनि अवस्था पुरानै र परिवर्तन हुन नसकिरहेको अवस्थामा अब भ्रष्ट प्रवृत्तिको विरोध गरी प्रवृत्ति नै बदल्नु आवश्यक रहेको बताए । 
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ (क)ले वालिङमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारकै कारण देश समृद्धितर्फ जान नसकेको उल्लेख गर्दै अब सबै जना एकजुट भई जरो गाडेर रहेको भ्रष्टाचारको अन्त्यका लागि लाग्नुपर्ने बेला आएको धारणा राखे । 
“भ्रष्टाचारकै कारण देश अगाडि बढ्नुको सट्टा पछाडि–पछाडि धकेलिँदै छ”, उनले भने, “अब पनि यस्तो अवस्था रहिरहे समृद्धि सम्भव छैन, अगाडि होइन, पछाडितर्फ धकेलिन्छौँ ।”
देशको विकास गर्छु भन्नेहरू पहिला आफैँबाट सुध्रिनु आवश्यक रहेको गुरुङले बताए । अरुलाई सुधार्नुपूर्व आफैँ सुध्रिनु आवश्यक छ अनि बल्ल अरुलाई सुधार्न सहज हुने उनी बताउँछन् ।
“नेतृत्व तहमा आउनेले जनताका अगाडि उभिएर एउटा सङ्कल्प गरौँ”, उनले भने, “सबै नेताको सम्पत्ति छानविन गरौँ र त्यसको सुरुआत धनराज गुरुङबाट गर्नुहोस् भनेर म पटक–पटक बोलेको छु ।” उपसभापति गुरुङ नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन् । आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसका  उपसभापति गुरुङ र नेकपा (एमाले) केन्द्रीय सचिव पद्माकुमारी अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अर्यालले कांग्रेसका केन्द्रीय सदस्य एवं तत्कालीन उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन् । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ०४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार