अग्रगमनको पक्षमा मतदान गर्न माधव नेपालको आह्वान 

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न निरन्तर पहल गरिरहेको बताएका छन् ।  अध्यक्ष नेपालले पार्टीका तर्फबाट एक विज्ञप्ति जारी गर्दै उपलब्धिको रक्षा गर्ने र स्वेच्छाचारी शासन सञ्चालन गर्न चाहने पक्षबीच आसन्न निर्वाचनमा प्रतिस्पर्धा हुन लागेको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “हामी प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिको प्राप्ति र अग्रगमनका निम्ति निरन्तर पहल गरिरहने पक्षमा छौैँ । यही अडानमा रहिरहने छौँ । हामीलाई के विश्वास छ भने जनताले प्राप्त उपलब्धिहरूको रक्षा र अग्रगमनको पक्षमा मतदान गर्नेछन् ।”
दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै नभएर कम्युनिष्ट आन्दोलनप्रति वितृष्णा उत्पन्न भएको उल्लेख गर्दै विज्ञप्तिमा नेकपा (एमाले) नेतृत्वका कारणले कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति भएको उनले बताए ।
“एमाले नेतृत्वलाई सुधार्न र ठीक ठाउँमा ल्याउन नसकिने भएपछि हामीले विद्रोह गरी नेकपा (एकीकृत समाजवादी) गठन ग¥यौँ । अहिले हामी कलम चुनाव चिह्न लिएर यहाँहरूमाझ आएका छौँ”, उनले भने । 
अध्यक्ष नेपालले अहिलेसम्मको उपलब्धिको रक्षा गर्दै जनताको पक्षमा आफूहरूले काम गर्ने उल्लेख गरे । सरकारले जनअपेक्षा र निर्वाचनका बेलामा जनतासमक्ष गरिएका प्रतिबद्धताअनुरूप काम गर्न नसकेको बताउँदै उनले भ्रष्टाचार र कुशासनलाई न्यूनीकरण गर्न नसकिएकाले जनताको अपेक्षा पूरा हुन नसकेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

गठबन्धनको उमेदवारलाई विजयी गराउन नेता रिजालको आग्रह  

नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धनको उमेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । सुनसरीको धरानमा आज अयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले गठबन्धनको उम्मेदवार विजयी भएमा मात्र संविधान र लोकतन्त्रको रक्षा हुने भएकाले गठबन्धनको उमेदवारलाई भारी मतले विजयी गराउन कार्यकर्ताहरूलाई आग्रह गरे ।
पार्टीभित्र भएका केही कमजोरी भएको खण्डमा त्यस विषयमा पार्टीभित्रै झगडा गरेर समाधान खोज्न सकिने उनको भनाइ थियो । शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायत समस्याको समाधान गर्ने जिम्मा गठबन्धनको सरकारको भएको नेता डा रिजालले बताए ।

गठबन्धनले बहुमत ल्याउने एनपी साउदको दाबी

यता कञ्चनपुरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउदले लोकतान्त्रिक–वाम गणबन्धनले जनताको विश्वास जितेर स्थितर सरकार निर्माण गर्ने दावी गरेका छन् । 

कृष्णपुर नगरपालिका–२ बाणीमा आज आयोजित चुनावी छलफलमा उनले गठबन्धनको उद्देश्य देश निर्माणका लागि भएको बताए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार रहेका साउदले भने, “समग्र देश विकासका लागि एक ठाउँमा उभिएका छौँ, विगतका कमीकजोरीलाई केलाउँदै चुनावमा एकबद्ध भएर हिँडेका छौँ, बहुमतको सरकार बनाउछौँ, ढुक्क भए हुन्छ ।”

देशको विकास र समृद्धिका लागि गठबन्धन गठन भएकाले त्यो सार्थक हुने विश्वास व्यक्त गर्दै उहाँले निकुञ्ज विस्थापितको वर्षौदेखि बल्झिएको समस्या समाधान गरेरै छाड्ने बताए । 

निर्वाचनपछि तीन तहमा गठबन्धन सरकार : गृहमन्त्री खाँण 

गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आम निर्वाचनपछि सङ्घीय सरकार र प्रदेश सरकार गठबन्धनकै बन्ने दावी गरे । स्थानीय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकारमा सहमति गरेर देशमा शान्ती बहाल एवं जनताको जीवनस्तर सहज तुल्याउनका लागि नै गठबन्धन आवश्यक भएको बताए । 
पाँच दलीय गठबन्धनमा कांग्रेसका तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारसमेत रहनुभएको खाँणले सिद्धार्थनगर नगरपालिका–६ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा भने, “देशको शान्ती, स्थायित्व, स्थिरता र विकास नै अहिले देशको मूल मुद्दा हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि गणतन्त्रको प्रतिफल नेपाली जनताले प्राप्त गर्नुप¥यो, यी सबैको प्राप्ती नै पाँच दलीय गठबन्धनको मूल योजना हो ।”
नेपालमा शान्ती, राजनैतिक स्थायित्वको लागि विभिन्न राजनैतिक विचारधारा बोकेका दलको बिचमा सहमति र सहकार्य भएर नै गठबन्धन बनाइएको उनले बताए । “जुन पार्टीले सरकार बनाउँछ, उसैले नै विकासको निति निर्माण गर्दछ ।” उनले भने, “यस क्षेत्रको विकासको लागि जिल्लाको विकासको लागि पाँच दलीय गठबन्धनलाई सहयोग पु¥याउन अपिल गर्दछु ।” सीमामा बसेर देशको रक्षा गर्ने नै असली राष्ट्रवादी भएको बताउँदै खाँणले यस्ता राष्ट्रवादीको सम्मान गर्न गठबन्धनले कुनै प्रकारको कमिकमजोरी नगर्ने बताए । 
यस्तै पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोष पाण्डेले पाँच दलीय गठबन्धन पवित्र रहेको बताए । उनले भने, “पाँच भनेकै पवित्र शब्द हो, हाम्रो पाँच दलीय गठबन्धन पवित्र गठबन्धन हो ।” उनले आउँदो सन्ततीको भविष्य निर्माणको लागि गठबन्धनको पक्षमा सहयोग गर्न अपिल गर्दै भने, “विभिन्न विचारधारा बोकेका व्यक्ति राष्ट्रको हितको लागि पाँच दलीय गठबन्धनका आवद्ध भएका छौँ ।”
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  २३:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार