कांग्रेसमा सभापतिको गरिमा

बिहीबार, कात्तिक २०, २०७७
डिस होम विज्ञापन
Global Ime Bank

१३ औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि एउटा प्रस्ताव लिएर सभापति पदका उम्मेदवार रामचन्द्र पौडल समक्ष पुगे । उनको प्रस्ताव थियो, ‘यसपटक शेरबहादुरजीलाई छाडिदिनोस्, तपाईंलाई प्रधानमन्त्री बनाउने जिम्मा उहाँको हुनेछ । लिखित प्रतिबद्धता चाहिन्छ भने पनि उपलव्ध गराउन तयार छु । पार्टी सभापति बन्ने भनेको पनि प्रधानमन्त्री हुनकै लागि हो, सिधै प्रधानमन्त्री बन्नोस् ।’
निधिको यो प्रस्ताव पौडेलले ठाडै अस्वीकार गरे । उनले जवाफ दिए, प्रधानमन्त्रीको कुर्सीभन्दा नेपाली कांग्रेसको सभापतिको कुर्सीको गरिमा माथि छ ।’ 
पौडेललाई मनाउन निधि असफल भएपछि देउवा आफैँले प्रयास गरे । देउवाले पौडेललाई भेटेर भने, म तीनपटक प्रधानमन्त्री भइसकेँ । मलाई अब प्रधानमन्त्रीको रहर छैन । अब तपाईं प्रधानमन्त्री भएको देख्ने चाहना छ । म एकपटक त पार्टी सभापति हुनै पर्‍यो ।
नेपाली कांग्रेसका सबै सभापतिहरू राजनीतिक युग परिवर्तनको संवाहक बनेका छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला संस्थापक सभापति हुन् । उनकै मार्गदर्शनमा यतिबेला मुलुकका प्रायः सबै हिँडेका छन् ।
देउवाको प्रयास पनि असफल भयो । पौडेलले भने, मलाई प्रधानमन्त्री पदभन्दा सभापति पद नै महत्वपूणर् छ । बरु तपाईं नै प्रधानमन्त्री बन्नोस् । सभापतिमा मलाई छाडिदिनोस् ।
तीनपटक प्रधानमन्त्री भइसकेका देउवाका लागि पार्टी सभापति पद जीवनमरणको प्रश्न थियो । एकपटक पनि सभापति पदमा नपुगी राजनीतिक जीवन सिद्धिने हो कि भन्ने त्रासका कारण पनि देउवाले १३औँ महाधिवेशनमा धेरै ठूलो ताकत प्रयोग गरे । जोसँग जे सम्झौता गर्दा आफूलाई मत प्राप्त हुन्छ, त्यही त्यही गरे । चुनाव जितेपछि सम्झौता कार्यान्वयन गर्न सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न थाती राखे । आखिर चुनाव पनि जिते ।
पदबहालीका क्रममा मिडियासँग कुरा गर्दै देउवाले भने, यति ठूलो गौरव र जिम्मेवारी बोध प्रधानमन्त्री पद बहाली गर्दासमेत मलाई भएको थिएन । बीपी कोइराला, सुवणर्शमशेर, किसुनजी, गिरिजाबाबु बसेको कुर्सीमा बस्ने अवसर पाएको छु । मुलुकमा प्रधानमन्त्री त कति बने बने तर कांग्रेसको सभापतिको जिम्मेवारी लिनेहरू अमर छन् ।
हुन पनि नेपाली कांग्रेसका सबै सभापतिहरू राजनीतिक युग परिवर्तनको संवाहक बनेका छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला संस्थापक सभापति हुन् । उनकै मार्गदर्शनमा यतिबेला मुलुकका प्रायः सबै हिँडेका छन् ।
मातृकाप्रसाद कोइराला सभापति हुँदा २००७ सालको जनक्रान्ति सम्पन्न भयो । नेपाल एकीकरणपछि २००७ सालको जनक्रान्तिले १०४ वर्षको राणा शासन अन्त्य गरेर राजनीतिक युग परिवर्तन गरेको थियो ।
सुवणर्शमशेर राणा २००७ सालको परिवर्तनका महासेनानी थिए । उनकै नेतृत्वमा नेपाली कांग्रेसले समाजवादको सिद्धान्त अङगीकार गरेको हो । कृष्णप्रसाद भट्टराईको कार्यकालमा पञ्चायती व्यवस्था समाप्त भई संसदीय प्रजातन्त्र पुनर्वाहाली भयो । २०४६ सालको परिवर्तन पनि नयाँ युगको सुरुवात थियो ।
शेरबहादुर देउवा सभापतिको कुर्सीमा पुगेयता मुलुकको राजनीतिमा नेपाली कांग्रेसको भूमिका दिन गनेर कमजोर हुँदै गएको छ । यतिसम्म कि संसदको अधिवेशन बोलाउन आवेदन दिनसक्ने हैसियत समेत विपक्षी दल कांग्रेसमा छैन । 
गिरिजाप्रसाद कोइरालाको कार्यकालमा मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भई २४० वर्ष पुरानो राजतन्त्र समाप्त भयो । उनकै नेतृत्वमा जनआन्दोलन २०६२र६३ को परिवर्तनले मुलुकमा नयाँ युग ल्यायो । यो परिवर्तन संस्थागत गर्ने काम सुशील कोइरालाको पालामा भयो । 
पहिलो संविधानसभा असफल हुनु र दोस्रो संविधानसभाको निर्वाचनपछि जब सुशील कोइराला प्रधानमन्त्री बने दुई वर्षभित्रै संविधान जारी हुनु संयोग मात्रै थिएन ।
कांग्रेसका अहिलेसम्मका सभापतिहरूले निर्वाह गरेको ऐतिहासिक भूमिका र उनीहरूले छाडेको बिरासतलाई देउवाले निरन्तरता देलान् कि, टुटाउलान् भन्ने प्रश्नको सेरोफेरोमा १३औँ महाधिवेशन सम्पन्न भएलगत्तै धेरै बहस भएको थियो ।
कांग्रेसका अहिलेसम्मका सभापतिहरूको इतिहास प्रष्ट छ । फलानो सभापति हुँदा मुलुकले यो यो उपलव्धि हासिल गर्‍यो भन्ने कुरा बीपीदेखि सुशीलको पालासम्म स्वणर् अक्षरले लेखिएको छ ।
सुशीलसम्मका सबै सभापतिहरूले ऐतिहासिक काममात्रै गरेनन्, कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो हैसियत भएको पार्टी पनि बनाए । कांग्रेसलाई मुलुकको राजनीतिक मियो बनाए । अरू पार्टीलाई कांग्रेस वरिपरि फनफनी घुमाए ।
शेरबहादुर देउवा सभापतिको कुर्सीमा पुगेयता मुलुकको राजनीतिमा नेपाली कांग्रेसको भूमिका दिन गनेर कमजोर हुँदै गएको छ । यतिसम्म कि संसदको अधिवेशन बोलाउन आवेदन दिनसक्ने हैसियत समेत विपक्षी दल कांग्रेसमा छैन ।
सभापतिका रूपमा देउवाको नियमित कार्यकाल सकिएको एक वर्ष पुग्नै लागेको छ । महाधिवेशन गराउने प्रयोजनका लागि थपिएको एक वर्षको कार्यकाल गुज्रिनै लागेको छ । कांग्रेसको बिरासत देउवाको यो कार्यकलमा भङ्ग भएको छ ।
यतिबेला देउवाको मुख्य चिन्ता एउटै विषयमा छ । त्यो के हो भने, नेपाली कांग्रेसको सबैभन्दा नालायक सभापतिको इतिहास बनाएर बिदा लिने कि फेरि एकपटक सभापति बनेर आफ्ना पूर्वजहरूको बिरासत बचाउने । तर, दोहोरिएर सभापति भए भने उनले कांग्रेसलाई आफ्ना अग्रजहरूले जस्तै मुलुकको मियो पार्टी बनाउन सक्लान् ? अग्रजहरूले झैँ आफ्नो नाम इतिहासको पानामा स्वणर् अक्षरले लेखाउन सक्लान् ?
देउवाले कार्यकर्ताहरूका उपर्युक्त जिज्ञासाहरूमा विश्वास दिलाउन सक्नुपर्छ । अवसरकै कुरा गर्ने हो भने देउवाले जति अवसर कांग्रेसमा अहिलेसम्मका कुनै पनि नेताले पाएन । २०५२ देखि २०७४ सालसम्म २२ वर्षको अवधिमा देउवा चारपटक प्रधानमन्त्री बने । यति लामो अवसर कांग्रेसका कुनै सभापतिले पाएनन् । बीपी कोइरालाले एकपटक, त्यो पनि १८ महिना मात्रै अवसर पाए । सुवणर्शमशेरले एक वर्षमात्रै अवसर पाए । कृष्णप्रसाद भट्टराईले दुईपटक गरी डेढ वर्ष अवसर पाए । सुशील कोइरालाले पनि पुगनपुग दुई वर्षमात्रै अवसर पाए । अलिक लामोमा गिरिजाप्रसादले पनि २०४८ देखि २०६४ अर्थात करिब १६ वर्षमात्रै अवसर पाए । देउवाले त २२ वर्ष पाए !
प्रधानमन्त्रीका रूपमा देउवाका चारवटै कार्यकालमा उपलव्धिभन्दा कलंकको भारी बढी भयो । पहिलोपटक २०५२ भदौदेखि २०५३ फागुनसम्म १८ महिना प्रधानमन्त्री हुँदा देउवाले आफ्नो पद जोगाउन अवलम्बन गरेका उपायहरूले कांग्रेसको साख कतिसम्म घटाएको थियो भन्ने कुरा २०५४ सालको स्थानीय निर्वाचनको परिणामले देखाइदियो । 
संसदीय व्यवस्था बद्नाम भएको यसै बेलादेखि हो । सांसदहरूलाई प्राडो र पजेरो सुविधा दिएर भ्रष्ट बनाएको र मन्त्रीहरूलाई सामूहिकरूपमा बैंकक पठाउएको लगायतका आरोप प्रधानमन्त्री देउवामाथि लाग्यो । त्यतिबेला भारतसँग गरिएको महाकाली सन्धि अर्को कलंकका रूपमा खडा छ । दोस्रोपटक २०५८ साउनदेखि २०५९ असोजसम्म प्रधानमन्त्री हुँदा देउवाले आफ्नो पद लम्ब्याउन संसदीय व्यवस्था नै समाप्त गरिदिए । आफ्नो पद धरापमा पर्न लागेपछि प्रतिनिधिसभा नै विघटन गराइदिए । प्रतिनिधिसभाको अर्को निर्वाचन गराउन सकेनन् । 
संसदीय व्यवस्थालाई नै साध्य मान्ने पार्टी नेपाली कांग्रेसको प्रधानमन्त्रीले भएको संसद पनि विघटन गरी मुलुकलाई संसदविहीनताको अवस्थामा राख्ने कदम चाल्नु सामान्य घटना थिएन । तेस्रोपटक त उनी राजाको मनोनित प्रधानमन्त्री बन्न पुगे, जुन प्रावधान छँदै संविधानमा थिएन । २०१७ सालको कदमपछि तुल्सी गिरिले जे गरेका थिए, देउवाले लगभग त्यही गरे ।
जतिपटक प्रधानमन्त्री भयो त्यति नै पटक लोकतन्त्रको हुर्मत लिएको नेतालाई फेरि प्रधानमन्त्री बनाउने गरी नेपाली कांग्रेसलाई भोट हाल्न नयाँ पुस्ता तयार होला ? 
चौथोपटक प्रधानमन्त्री बन्न देउवाले माओवादीसँग न्यायपालिका नै समाप्त गर्ने सम्झौता गरे । अवकाश हुन एक महिनामात्रै बाँकी रहेकी प्रधानन्यायधीश सुशीला कार्कीमाथि महाअभियोगको प्रस्ताव दर्ता गराए । त्यो पनि आफ्ना नातेदारलाई कानून विपरीत प्रहरी महानिरीक्षक बनाउन नपाएको झोँकमा । कानुन मिच्न नपाएकै कारण प्रधानन्यायाधीशलाई अपदस्थ गर्ने काम त विश्वका मै हुँ भन्ने तानाशाहहरूले पनि कमैले मात्रै गरेका छन् । यस्तो पृष्ठभूमि भएका देउवालाई कांग्रेसका कार्यकर्ताहरूले फेरि सभापति बनाउने आँट गर्लान् ? आँट गरिहाले भने देउवालाई पाँचौँपटक प्रधानमन्त्री बनाउन जनताले कांग्रेसलाई मतदान गर्लान् ? अनेक यक्ष प्रश्न खडा छन् । 
स्थानीय चुनाव आउन डेढ वर्ष पनि बाँकी छैन । आमचुनाव आउन दुई वर्ष जति बाँकी छ । अब कांग्रेसमा जो सभापति बन्छ उसैको मुख हेरेर जनताले मतदान गर्ने हुन् । देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा जन्मेकाहरू आगामी आम निर्वाचनमा प्रधानमन्त्री बन्न उमेरले योग्य भइसकेका हुनेछन् । आफू जन्मनुअघिदेखि नै प्रधानमन्त्री हुँदै आएको र जतिपटक प्रधानमन्त्री भयो त्यति नै पटक लोकतन्त्रको हुर्मत लिएको नेतालाई फेरि प्रधानमन्त्री बनाउने गरी नेपाली कांग्रेसलाई भोट हाल्न नयाँ पुस्ता तयार होला ?
यस्ता प्रश्नको विश्लेषण गरेर मात्रै देउवाले फेरि सभापति पदको उम्मेदवार हुने कि नहुने भन्ने निणर्य गर्नु उचित हुनेछ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार