संविधानको रक्षाका निम्ति सत्ता गठबन्धनलाई मतदान गर्न माओवादीको आह्वान 

बिहीबार, कात्तिक ३, २०७९
Global Ime Bank

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेताहरूले प्राप्त उपलब्धि संस्थागत गर्नका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन् । 
माओवादी केन्द्र सम्र्पक समन्वय प्रदेश समितिले आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक–वैचारिक प्रशिक्षण’ कार्यक्रममा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक÷समावेशीकरणलगायत संविधानको रक्षाका निम्ति गठबन्धलाई विजयी गराउन अपिल गरेका हुन् । 
आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन रहेको छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, “अहिले देश माओवादीको एजेण्डामा छ, हामीले राजनीतिक व्यवस्था बदलेका छौँ तर जनताको अवस्था बदल्नु पर्नेछ, त्यसका निम्ति अबको चुनावमा जनताले सत्ता गठबन्धनलाई मतदान गर्नुपर्नेछ ।” उहाँले आगामी निर्वाचनपछि शान्ति प्रक्रियाका बाँकी कार्यलाई सम्पन्न गर्दै जनताको शिक्षा, स्वास्थ्य र रोजगारीलगायत समस्या समाधान गर्दै आर्थिक, सामाजिक विकाससहित मुलुकलाई समाजवादको बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । 
माओवादीका सचिव डिलाराम आचार्यले माओवादीका कारण प्राप्त उपलब्धि उपलब्धिलाई जनतासमक्ष पु¥याउँदै आगामी निर्वाचनमा केन्द्रित हुन आमकार्यकर्तालाई आग्रह गरे । माओवादीका स्थायी कमिटी सदस्य सत्या पहाडीले आर्थिक, सामाजिक रुपान्तरणसँगै समृद्धि र समाजवादका निम्ति पनि आगामी निर्वाचनमा सत्ता गठबन्धनलाई मतदान गर्नुपर्नेमा जोड दिए । 

संविधानको रक्षाका लागि गठबन्धनलाई मत : निधि 

यता जनकपुरधाममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको रक्षा र मुलुकमा राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् । 
धनुषाको नगराइनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेता निधिले संविधानमाथि अझै आक्रमणको खतरा रहेकाले संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धन भएकाले गठबन्धनलाई जिताउनुपर्ने बताए । 
पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि चुनावी प्रचारप्रसारमा समेत लाग्न कार्यकर्तालाई उनले आग्रह गरे । 
आचारसंहिता अनुसार आगामी निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूले कात्तिक १७ गतेपछि मात्रै यस्ता चुनावी कार्यक्रम गर्न पाउने भएका छन् । भेलामा नेपाली कांग्रेसका नेता तथा प्रदेशसभातर्फ धनुषा क्षेत्र नम्बर ३ (क) का उम्मेदवार रामसरोज यादवले गठबन्धनलाई जिताउने गरी जुट्न नेता कार्यकर्तासँग आग्रह गरे । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  ०४:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार