भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार थापालाई स्पष्टीकरण

बुधबार, कात्तिक २, २०७९
Global Ime Bank

भक्तपुर । निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्यका भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार एवं नेपाली काँग्रेसका जिल्ला अध्यक्ष दुर्लभ थापालाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । थापाले सूर्यविनायक नगरपालिका वडा नं. २, ३, ४ र ६ का चोक, गल्ली र पोलहरूमा दलको झण्डा, फ्लेक्स प्रिन्ट राखेको तथा सामाजिक सञ्जालमा पोष्ट गरेको कार्य आचारसंहिता विपरीत हुने भएकाले स्पष्टीकरण सोधिएको हो । थापालई निर्वाचन आयोगमा वा उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ बमोजिम जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ज) मा ‘कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने’ व्यवस्था रहेको स्मरण गराउँदै त्यसरी विभिन्न स्थानको बाटो तथा पोलहरूमा दलको झण्डा राखेको देखिएको हुँदा आचारसंहिता विपरीत हुने गरी उक्त कार्य किन गरिएको हो ? भनी स्पष्टीकरण सोधिएको छ ।

‘तपाईं नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिको अध्यक्ष तथा भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहनु भएको हुँदा निर्वाचन आचारसंहिताको पालना गर्ने गराउने जिम्मेवारी तपाईंको हो, होईन ? स्पष्टीकणमा भनिएको छ, ‘यदि जिल्ला कार्यसमिति भक्तपुरबाट निर्वाचन आचारसंहिता विपरीत कार्य भएको हो भने तपाईंलाई किन निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिमको कारवाही हुनु नपर्ने हो ?’

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार