माओवादीले बागी उम्मेदवारी फिर्ता लिने समय थप्यो  

बुधबार, कात्तिक २, २०७९
Global Ime Bank

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समयावधी यही कात्तिक ४ गतेसम्मका लागि थप गरिएको छ ।
माओवादीले बागी उम्मेदवारी दिएकालाई यसअघि असोज ३१ गतेसम्म फिर्ता लिन भनेको थियो । मंगलबार पुनः अर्को विज्ञप्तिमार्फत थप समय दिई उम्मेदवारी फिर्ता लिन वा निष्क्रिय बनाउन भनेको हो । सो समयभित्र निर्णय गरेमा पार्टीका तर्फबाट कारबाही नहुनेसमेत स्पष्ट पारेको छ ।
यसअघि माओवादीले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई पार्टीबाट निष्कासन गरी कारबाही गर्ने चेतावनी दिएको थियो । माओवादीले बागी उम्मेदवारी दिएकालाई फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ । 

चुनावपछि पनि गठबन्धन रहन्छ : पर्यटनमन्त्री 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ८ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरूबीच रहेको गठबन्धन कायम रहने बताउनुभयो । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ ख को  चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताए ।
विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरूबीच बाम–लोकतान्त्रिक गठबन्धन कायम गरिएको भन्दै मन्त्री श्रेष्ठले सत्ता गठबन्धनबीच सहकार्य चुनावपछि पनि जारी रहने बताए । संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि आफूहरूले गठबन्धन बनाएको उनको भनाइ छ ।
जनताको समृद्धिको आकाङ्क्षालाई आगामी निर्वाचनपछि बन्ने सरकारले निरन्तररुपमा अघि बढाउने उनले बताए । काठमाडौँ ८ मा आफूले सुरु गरेका कयौँ परियोजना निरन्तरताका लागि आफू उम्मेदवार बनेको मन्त्री श्रेष्ठले बताएका थिए । विगतमा राष्ट्रियसभा निर्वाचनदेखि सुरु भएको गठबन्धन अभ्यास सफल हुँदै आएको बताउनुहुँदै उनले गठबन्धनका दलहरूबीच चुनावमा इमान्दारिता कायम हुने विश्वास व्यक्त गरे ।

गठबन्धनका उम्मेदवार जिताउन आग्रह

यता धनुषामा नेपाली कांग्रेसका पूर्वउसभापति विमलेन्द्र निधिले धनुषा निर्वाचन क्षेत्र नं ३ मा पाँचदलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिलकुमार झालाई जिताउन अनुरोध गरेका छन् । 
गृहजिल्ला धनुषा आइपुग्नुभएको नेता निधिले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन सबै किसिमको सहयोग गर्न आफू तयार रहेको बताए । उनले भने, “अनिल झाजीलाई जिताउनका लागि नै म यहाँ आएको हुँ ”
आफू गृहनगरमै रहेर गठबन्धन दलका उम्मेदवारलाई जिताउन हरसम्भव प्रयास गर्ने उनले बताए । 
निनिले यसका लागि अबदेखि आफू चुनावसम्म जनकपुरधाममै रहने जानकारी दिए । नेता निधिले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि चुनावी प्रचारप्रसारमा समेत लाग्न कार्यकर्तालाई आग्रह गरे ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  ०५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार