सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचार प्रसारको कार्यसम्पादन गर्न पार्टी केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ । कांग्रेसको केन्द्रीय प्रचार प्रसार समितिको आज बसेको बैठकले केन्द्रीय कार्यालयमा सञ्चार केन्द्रका साथै प्रदेश, जिल्ला, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने निर्णय गरेको हो । बैठकले निर्वाचन क्षेत्रका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी प्रदेश, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहसम्मका प्रचार प्रसार समिति र पार्टी संयन्त्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ । समितिका संयोजक एवं पार्टी प्रवक्ता डा प्रकाश शरण महतको अध्यक्षतामा बसेको बैठकले पार्टीको निर्वाचन प्रचार प्रसारका लागि आवश्यक प्रचार सामग्री निर्माण गर्ने र विभिन्न सञ्चारमाध्यमहरु रेडियो, एफएम, टीभी, प्रिन्ट मिडिया, अनलाइन तथा सामाजिक सञ्जाललगायतबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने निर्णय गरेको छ । उक्त कार्यका लागि पार्टी सम्बद्ध भ्रातृ एवं शुभेच्छुक संस्था, विज्ञ बुद्धिजीवी, सञ्चारकर्मी, अन्य पेसागत संस्था र साथीहरूलाई अधिकतम संलग्न गराई सक्रिय गराउने तथा प्रचार सामग्री उत्पादन तथा प्रचार प्रसारका लागि विभिन्न उप–समितिहरु गठन गरिएको पार्टी कार्यालयले जनाएको छ ।
कांग्रेसले चुनावमा परिचालनका लागि गठन गर्यो विभिन्न उपसमिति
नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समिति’ अन्तर्गत सचिवालय तथा विभिन्न उपसमितिहरू गठन गरेको छ । समितिको बैठकमा निर्वाचनमा कांग्रेस र गठबन्धन दलबीच सहमति भई बनेका गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन पार्टीका सबै तहका संयन्त्रहरूलाई व्यापक परिचालन गर्ने सन्दर्भमा छलफल भएको पार्टी कार्यालयले जनाएको छ । यसैगरी बैठकले समितिअन्तर्गत भ्रातृ एवं शुभेच्छुक संस्था समन्वय एवं परिचालन, अनुगमन मूल्याङ्कन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय समन्वय, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन, निर्वाचन अनुगमन तथा अनुशासन, निर्वाचन आयोग समन्वय, जिल्ला–काठमाडौँ सम्पर्क समिति समन्वय र प्रदेश परिचालन समन्वय उपसमिति (सातवटै प्रदेशका लागि) गठन गर्ने निर्णय गरेको छ । समितिका संयोजक गोपालमान श्रेष्ठको संयोजकत्वमा बसेको बैठकमा समिति सदस्यहरू डा रामशरण महत, प्रवक्ता डा प्रकाशशरण महत, चन्द्रबहादुर केसी, उमेशजङ्ग रायमाझी, अब्दुल सत्तार, नैनसिंह महर, राजीव ढुङ्गाना, महेन्द्रकुमारी लिम्बू, हरिशरण नेपाली, अजयबाबु शिवाकोटी, गङ्गालक्ष्मी अवाल, सुशीला थिङ, सीतादेवी देवकोटा, दिव्यमणी राजभण्डारी, खिलानाथ दाहाल, तिलकबहादुर रानाभाट, तीर्थ थापा, महेन्द्र यादव, सन्दीप राना, जनार्दन नेपाल, डा अरुणकुमार सुवेदी, शिव लम्साल र पूर्णप्रसाद आचार्यले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
एमाले नेत्री फुलकुमारी महतो कांग्रेसमा प्रवेश
नेकपा (एमाले)बाट मधेस प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार बनेकी नेत्री फूलकुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । महतो अखिल महिला सङ्घको सचिवालय सदस्यसमेत हुन् । महतोलाई कांग्रेसका सहमहामन्त्री, पूर्वमन्त्री तथा धनुषा नम्बर–४ मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका महेन्द्र यादवले पार्टीमा प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा महतोले मधेसको पक्षधर, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एकमात्र पार्टी कांग्रेस रहेको महसुस गर्दै आफू कांग्रेसमा प्रवेश गरेको बताइन् । जनताको सुखदुःखमा साथ रहनु नै एउटा सच्चा नेताको जिम्मेवारी हुने भन्दै उनले त्यो प्रमाणित गर्न पनि आफू मधेसको पक्षमा उभिँदै कांग्रेसमा प्रवेश गरेको बताइन् । “मुलुकमा सबैभन्दा बढी नागरिकताविहीन मधेसमै छन् र अहिले मधेसको मुख्य मुद्दा पनि नागरिकता नै हो”, महतोले भनिन् । कांग्रेस सहमहामन्त्री यादवले महतोलाई कांग्रेसमा प्रवेश गरेकामा बधाई दिँदै मधेसका मुद्दालाई थप सशक्त ढङ्गले उठाइने प्रतिबद्धता जनाए ।