सोसल मिडिया
Contact Us
युनिकोड
कोलम्बो । श्रीलङ्कामा कोरोनाभाइरस विरुद्धको खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । सरकारी अधिकारीहरूले बुधबारदेखि कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाउन सुरु भइसकेको जानकारी दिएका छन् । दोस्रो मात्राका लागि अस्ट्राजेनिका खोप उपलब्ध गराइएको छ । दोस्रो मात्राको खोप अहिले पहिलो चरणमा लगाउन थालिएको हो । पहिलो चरणमा अग्रपक्तिमा खटिने बर्गका व्यक्तिहरूलाई लगाउने गरिएको अधिकारीहरूले बताएका छन् । ‘पहिलो चरणमा खोपको पहिलो मात्रा लगाएको ९० दिन पुगेकाले उनीहरूका लागि अहिले दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको हो’ सरकारी एक स्वास्थ्य अधिकारीले भने । श्रीलङ्कामा गत जनवरी २९ मा पहिलो चरणमा पहिलो मात्राको खोप लगाउन सुरु गरिएको थियो । तर खोपको अभावका कारण केही समय खोप लगाउने अभियान स्थागित गरिएको थियो । औषधीजन्य पदार्थहरूको उत्पादन, वितरण र अनुगमन राज्य मन्त्री चान्ना जयसुमानाले पत्रकारहरूलाई दिएको जानकारी अनुसार राजधानी कोलम्बोमा रहेको डिभिजनल हस्पिटलमा दोस्रो मात्राको खोप लगाउने व्यवस्था गरिएको छ । अहिले विषेश गरेर स्वास्थ्यकर्मीहरूलाई यो सेवा उपलब्ध गराइएको पनि उनले बुधबार बताए । पछिल्लो विवरण अनुसार श्रीलङ्कामा अहिलेसम्म नौ लाख २५ हजार २४२ जनाले पहिलो मात्राको खोप लगाएका छन् । उनीहरू सवैलाई दोस्रो मात्राको खोप लगाउने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् । एसियाली मुलुक श्रीलङ्कामा कोरोनाभाइरसका कारण अहिलेसम्म ६५५ जनाको मृत्यु भएको छ भने सात हजार ९७६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या भने एक लाख तीन हजार ४८७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।– सिन्ह्वा