गठबन्धनको मूल उद्देश्य संविधानको रक्षा र समृद्धि हासिल गर्नु  :  कांग्रेस

मंगलबार, कात्तिक १, २०७९
Global Ime Bank

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सत्ता गठबन्धनको मूल लक्ष्य संविधानको रक्षा र समृद्धि हासिल गर्नुरहेको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालयद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान गठबन्धनको सरकार गठन भएपछि संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षा गर्ने काम भएको बताए । 
पाँच दलीय गठनबन्धन बनेको परिस्थितिको बारेमा जानकारी गराउँदै उहाँले सरकारले छोटो अवधिमा देशलाई कानूनी शासनमा अघि बढाउन र जनजीविकाका सवालमा पनि महत्त्वपूर्ण काम गर्न सफल भएको बताए ।
सरकारले छोटो समयमा चुनौतीपूर्ण अवस्थामा पनि कांग्रेसको नेतृत्वमा धेरै काम गरेको उल्लेख गर्दै सरकारले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उनले बताए । यसैगरी उनले सरकार हाल स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको उल्लेख गरे ।  
निर्वाचनमा पार्टी पूर्णरूपमा परिचालन गरिएको जानकारी गराउँदै प्रवक्ता डा महतले पाँच दलीय गठबन्धनको भावनाअनुसार सिटको बाँडफाँट गरी निर्वाचनमा होमिएको उल्लेख गरे । कांग्रेसले उदारताका साथ निर्वाचनमा भाग लिएको अवगत गराउँदै उनले आगामी आमनिर्वाचनमा प्रतिनिधिसभामा कांग्रेस नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सहमति गरी सिट बाँडफाँट गरेको जानकारी दिए ।
कांग्रेस ठूलो र ऐतिहासिक पार्टी भएको तथा धेरै सक्षम नेता कार्यकर्ता रहेको भए पनि गठबन्धन दलसँग चुनावी तालमेल गरेका कारण धेरै नेता कार्यकर्तालाई उम्मेदवार बनाउन नसकिएको उनको भनाइ थियो । प्रवक्ता डा महतले व्यक्तिगत आकाङ्क्षालाई पन्छाएर परिणाम प्राप्तिका लागि सबै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । आचारसंहिता पालना गरी पार्टी प्रचारप्रसारमा जुटेको उनले बताए ।

चुनावी अभियानमा कांग्रेस उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का आगामी मङ्सिर ४ गते हुने चुनावका सन्दर्भमा चुनावी अभियानका लागि आज गृहजिल्ला सुर्खेत आइपुगेका छन् । खड्का सुर्खेत क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार हुन् । 
चुनावी अभियानका लागि आज काठमाडौँदेखि सुर्खेत आइपुग्नुभएका खड्का क्षेत्र नं १ का नागरिकसँग भेटघाटमा व्यस्त रहेका छन् । गुर्भाकोट नगरपालिकास्थित सिटीहलमा आजै आयोजित कार्यक्रमलाई नागरिकका लोकतान्त्रिक अधिकारलाई स्थापित गर्न र अधिनायकवादी प्रवृत्तिका विरूद्ध सङ्घर्ष गर्नका लागि पुनः एकपटक मुलुकको परिवर्तनकारी शक्तिलाई नेतृत्वदायी भूमिकामा पु¥याउन मतदातासँग अपिल गरेका छन् । 
खड्काले प्रदेश र केन्द्र सरकार वाम–लोकतान्त्रिक गठबन्धनको बनेपछि मात्रै कर्णालीको प्रचुर सम्भावनालाई अवसरमा बदल्न सकिने बताए । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले जिल्लामा आफूहरूले सुरु गरेका विकास निर्माण काम पूरा गर्न र कृषि रोजगार, शिक्षा स्वास्थ्यमा सबै नागरिकको पहुँच पु¥याउने काममा आफ्नो ध्यान केन्द्रित हुने बताए ।
“कर्णालीबाट राष्ट्रिय राजनीतिमा सधैँ मैले समन्वयकारी भूमिका निर्वाह गरेको छु, अब देशको भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न समन्वयकारीसँगै हस्तक्षेपकारी भूमिका मेरो रहन्छ”, उनले भने, “सुर्खेतसहित कर्णालीका हरेक समस्या समाधानका लागि मेरो भूमिका रहँदै आएको छ र रहेनछ ।”

विजयी हुनेमा ढुक्क अर्जुननर सिंह केसी 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवार विजयी हुनेमा ढुक्क रहेको बताएका छन् । 
बेलकोटगढी नगरपालिकास्तरीय संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारसँग प्रतिस्पर्धा गर्न सक्ने उम्मेदवार नरहेको जिकिर गर्दै यस्तो बताएका हुन् । 
“नेता तथा कार्यकर्ता मन, वचन र कर्मले लाग्नुपर्छ । हामी निर्वाचन जित्छौँ । यहाँ गठबन्धनको उम्मेदवारले जित्छन् । कुनै किसिमको शङ्का गर्नुपर्दैन”, नेता केसीले भने, “गठबन्धनको विरुद्धमा फैलने गलत भ्रमलाई चिर्दै वास्तविकतालाई जनस्तरसम्म पु¥याउनुपर्छ ।”
उनले सबै मतदाताको माझमा गठबन्धनका उम्मेदवार पुग्न नसेको खण्डमा आफूलाई आधिकारिक प्रतिनिधि सम्झेर गठबन्धनका उम्मेदवारको पक्षमा मत खस्ने वातावरण बनाउन सत्ता गठबन्धन पार्टीका सक्रिय कार्यकर्तासमक्ष आग्रह गरे ।
साथै उनले नेपालको संविधान २०७२ को रक्षाका लागि र नेपाली जनताको हक र अधिकारको सुरक्षाका लागि राजनीतिक दलहरूबीच गठबन्धन गरी चुनावी माहोलमा होमिएको बताए । 
देशको संविधानलाई सुरक्षित गर्दै समृद्धि र विकासको गतिलाई अगाडि बढाउनका लागि दलहरूबीच गठबन्धन भएको उनको भनाइ छ । “लोकतन्त्र भनेको वाद, प्रतिवाद र संवादको प्रक्रिया हो । व्यक्तिव्यक्ति बीचमा भएको अस्वस्थ प्रतिस्पर्धालाई बिर्सेर सबै कांग्रेसी एक ठाउँमा आउनु आवश्यक छ । माओवादी केन्द्रमा पनि त्यस्तो व्यक्तिगत असन्तुष्टि छ भने बिर्सिएर एकजुट हुन आग्रह गर्दछु”, उनले भने, “परिस्थितिजन्य आवश्यकताका आधारमा राजनीतिक दलहरूबीच चुनावी गठबन्धन भएकाले यसलाई सार्थकता दिनु आजको आवश्यकता हो ।”
आगामी मङ्सिर ४ मा हुने सङ्घ र प्रदेशको निर्वाचनलाई लक्षित गरी पालिकास्तरको बैठकमा वाम लोकतान्त्रिक गठबन्धन दल व्यस्त रहेको छ । गठबन्धन दलले सोमबार नुवाकोट क्षेत्र नं १ अन्तर्गतको लिखु गाउँपालिका र शिवपुरी गाउँपालिकामा बैठक सम्पन्न गरेको छ ।
 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  ०४:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार