सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बारेमा कुनै समाचार प्राप्त नभएको अधिकारीले बताएका छन् । अमेरिकी भूगर्भ सर्भेकाअनुसार आसाम र भूटानको सीमावर्ती पहाडी भागलाई केन्द्रविन्दु बनाएर ६.० म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पको धक्का र परकम्प सयौँ किलोमिटर टाढासम्म अनुभव गरिएको थियो । भूकम्पको केन्द्रबाट करिब ४५ किलोमिटर टाढाको करिब एक लाख जनसङ्ख्या रहेको तेजपुरमा निकै नराम्रोसँग हल्लाएको थियो । मानिस त्रासका कारण सडकमा भेला भएका थिए भने केही घरमा क्षति पुगेको छ । आसामको राजधानी गुवाहाटी भूकम्पको केन्द्रबाट झण्डै १५० किलोमिटर टाढा भए पनि यहाँका घरमा क्षति पुगेको छ । स्थानीयवासीले कम्तीमा दुई वटा ठूलै परकम्प महशुस गरिएको बताएका छन् । अमेरिकी भूगर्भ सर्भेले भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट २९ किलोमिटर मुनि रहेको जनाएको छ । यहाँको हिमाली क्षेत्रमा भूकम्प बारम्बार आउने गरेको छ । सन् १९५० मा आएको भूकम्पमा परेर आसाम र तिब्बतमा गरी झण्डै चार हजार ८०० व्यक्तिको ज्यान गएको थियो ।–एएफपी