चुनावी अभियानमा जुट्न गाउँ पसे दलहरू

आइतबार, असोज ३०, २०७९
Global Ime Bank

वीरेन्द्रनगर । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनावका लागि सुर्खेतका राजनीतिक दलहरू गाउँ केन्द्रीत कार्यक्रममा जुटेका छन् । यतिबेला पार्टीका नेता तथा कार्यकर्ता उम्मेदवारसहित चुनावी अभियानमा हिँडेका छन् । चुनाव आफ्नो पक्षमा पार्नका लागि दलका उम्मेदवार तथा कार्यकर्ताहरु विभिन्न चुनावी कार्यक्रममा जुटेका छन् । 
प्रदेशमा नेपालीकांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन भएको छ भने नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी एक्लै मैदानमा उत्रिएका छन् । 
यतिबेला दलहरू गाउँदेखि प्रदेशस्तरीय कार्यक्रमका लागि गाउ ँकेन्द्रीत हुन थालेका हुन् । दलहरूले प्रशिक्षणदेखि भेलासम्मका कार्यक्रमहरू गर्ने तय गरेका छन् । अहिले गाउँ केन्द्रीत कार्यक्रमलाई जोड दिइएको नेपाली कांग्रेस गुर्भाकोटका सहसचिव रुपक पौडेलले जानकारी दिए । 
“गठबन्धनका उम्मेदवारहरूलाई जिताउन गाउँ तथा टोल केन्द्रीत कार्यक्रमको आयोजना गरिएको छ”, उनले भने, “अहिले हामीले टोलटोलमा भेला र प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै आएका छौँ ।
यसैबीच सत्तारूढ गठबन्धनले कात्तिक ६ गते सुर्खेतको वीरेन्द्रनगरमा संयुक्त भेला गर्ने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने  गरेको निर्णयअनुसार सुर्खेतमा कात्तिक ६ गते कार्यक्रम गर्ने भएको हो । 
त्यसैगरी एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई केन्द्रीत गरेर प्रचार भेला आजदेखि शुरु गर्दैछ । एमाले कर्णाली प्रदेशको प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीद्वारा आयोजना हुने भेलामा विभागका सदस्य तथा चौतारीका जिल्ला अध्यक्ष, प्रदेश कमिटी सदस्य र कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुने बताइएको छ । 
आगामी मङ्सिर ४ गते हुने निर्वाचन केन्द्रीत प्रचारका कामलाई व्यवस्थित र आक्रमकरूपमा सञ्चालन गर्नका लागि प्रचार तथा प्रकाशन विभागसँगको समन्वयमा भेलाको आयोजना गरिएको प्रेस चौतारी कर्णाली प्रदेशले जनाएको छ । 

गृह जिल्लामा सक्रिय गृहमन्त्री खाण

नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहनुभएका गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनलाई लक्षित गरी गृहजिल्ला रुपन्देहीमा सक्रियता बढाएका छन् । 
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा खाणले रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् ।
उनले अहिले निर्वाचन क्षेत्रमा प्रचारप्रसार कार्यालयहरूको उद्घाटन, कार्यकर्ता भेटघाट एवं सभाहरूमा सक्रियता बढाएका हुन् । 
यसैबीच उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी भर्ना गर्दा स्थानीयवासीलाई प्राथमिकता दिइने बताएका छन् । उनले विमानस्थलमा नयाँ रोजगारी खुल्दा र अन्य अवसरमासमेत स्थानीयवासीले प्राथमिकता पाउने भन्दै त्यसतर्फ आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 
गृहमन्त्री खाणले शनिबार भैरहवामा आयोजित गठबन्धनको कार्यक्रममा बोल्दै स्थानीयवासीले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण सम्पन्न भएकाले नयाँ रोजगारी खुल्दा स्थानीयवासीलाई योग्यताअनुसारको रोजगारीमा प्राथमिकता पाउने बताएका हुन् । 
“स्थानीयवासीले जमिन नदिएको भए विमानस्थल बनाउन कठिन हुन्थ्यो, त्यसैले विमानस्थल निमार्णका लागि पुस्तौँदेखि बस्दै आएको जग्गा दिएर योगदान पुर्याएकाहरूले नै हरेक अवसरमा पहिलो प्राथमिकता पाउनुुपर्छ”, उनले भने, “स्थानीयवासीले मुआब्जा लिएर भए पनि विमानस्थल बनाउन गरेको सहयोग सरकार र कसैले पनि बिर्सिनुहुँदैन ।”
उनले विमानस्थलले यस क्षेत्रको आर्थिक समृद्धिको ढोका खोलेको जनाउँदै यहाँ हुने हरेक गतिविधिसँग स्थानीयवासीलाई जोडेर आत्मनिर्भर र रोजगाररत बनाउनु आफूहरुको पहिलो प्राथमिकता रहेको बताए ।
गृहमन्त्री खाणले विमानस्थल निर्माण हुँदा जसको जग्गा अधिग्रहणमा परेको छ, त्यो परिवारका सदस्यलाई विमानस्थलमा रोजगारीमा योग्यताअनुसार प्राथमिकतामा राख्न सरकार प्रतिबद्ध रहेको र यसबारे आफूले गौतमबुद्ध विमानस्थलका प्रमुख र नागरिक उड्डयन प्राधिकरणसँग कुरा पनि गरिरहेको उल्लेख गरे । 
त्यस्तै विमानस्थलमा कार्गो सञ्चालनका लागि पहल भइरहेको भन्दै उहाँले कार्गो सञ्चालनमा आएपछि यहाँको कृषि तथा औद्योगिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुुर्याएर स्थानीयवासीलाई रोजगारी बढाउने योजना सरकारको रहेको जनाए ।
रुपन्देही क्षेत्र नम्बर ३ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोषकुमार पाण्डेयले वर्तमान गठबन्धन पवित्र भएकाले यसले संविधान, लोकतन्त्र, सङ्घीयताको रक्षा गर्दै मुलुकको समग्र विकासमा लाग्ने बताए । 

मनोनयन दर्ता गरेसँगै तेह्रथुमका उम्मेदवार चुनावी अभियानमा

यता तेह्रथुममा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय  तेह्रथुमले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै दलहरू चुनावी अभियानमा जुट्न थालेका छन् ।  
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पक्षमा जित हासिल गर्न तेह्रथुममा रहेका दलहरु एजेन्डासहित गाउँगाउँ पुग्न थालेका छन् । जिल्लामा रहेका सत्ता गठबन्धन दल, एमाले, लिम्बुवान, जनमोर्चा र स्वतन्त्र पार्टी लगायतका उम्मेदवार कार्यकर्ता भेटघाटमा व्यस्त हुन थालेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत सामाजवादीका जिल्ला नेतृत्वसहित गठबन्धन दल तथा एमालेले चुनावी अभियानलाई तीव्रता दिएका हुन् ।
प्रतिनिधिसभामा कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ उम्मेदवार बन्नुभएको छ । निर्वाचन क्षेत्र (क) मा कांग्रेसका सन्तोष सुब्बा र (ख) मा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईँ उम्मेदवार छन् । 
एमालोबाट प्रतिनिधिसभामा एमाले निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष विजय सुव्बा, निर्वाचन क्षेत्र (क) मा किशोरचन्द्र दुलाल र (ख) मा तेजमान कन्दङवाको उम्मेदवारी रहेको छ ।
कांग्रेस केन्द्रीय सदस्य गुरुङले तेह्रथुमलाई विकास र समृद्ध बनाउन आफूले उम्मेदवारी दिएको बताए । एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार सुब्बाले आफ्नो उम्मेदारी जिल्लालाई विकास निर्माणमा नुमना जिल्ला बनाउनका लागि भएको बताए । 
 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  ०४:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार