प्रदेश नं १ र मधेस प्रदेशबाट मतपत्र ढुवानी सुरु

आइतबार, असोज ३०, २०७९
Global Ime Bank

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको छपाइ भएको मतपत्र प्रदेश नं १ र मधेस प्रदेशबाट ढुवानी सुरु गरेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हालसम्म खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा उक्त मतपत्र ढुवानी भएको छ ।
उक्त प्रणालीका लागि कूल चार करोड छ लाख पाँच हजार मतपत्रको छपाइ सम्पन्न भएको थियो । प्रतिनिधिसभातर्फको समानुपातिक प्रणालीका लागि दुई करोड चार लाख २१ हजार मतपत्रको छपाइ सम्पन्न भएको भने सातवटै प्रदेशका लागि समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ ।
पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आजसम्ममा १७ लाख मतपत्र छपाइ भएको आयोगले जनाएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द लिमिटेडमा उच्च सुरक्षासहित मतपत्र छपाइ भइरहेको छ ।

निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन लागि निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । 
आयोगको कान्तिपथस्थित कार्यालयमा आयोजित कार्यक्रमको शुभारम्भमा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनको परिचालनमा जनशक्ति परिचालन र सामग्री तथा जिन्सी व्यवस्थापन महत्वपूर्ण पक्ष भएकाले आफूले गर्नुपर्ने कामबारे स्पष्ट बोध नभएमा त्रुटि हुनसक्ने भएकाले यस सवालमा सम्बन्धित प्रशिक्षक र कर्मचारी संवेदनशील हुनुपर्नेमा जोड दिइन् ।
आयुक्त डा तुलाधरले परिचालनलाई मूलमन्त्र ठानेर स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित, पारदर्शी तथा मितव्ययी निर्वाचन गराउन आयोग चिन्तित र कटिबद्ध रहेको स्पष्ट रहेको पनि बताइन् । 
कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीले जिन्सी व्यवस्थापन र आर्थिक प्रशासनका विषयमा प्रशिक्षित भई प्रदेश तथा जिल्लास्तरमा प्रशिक्षणको दायित्व भएकाले प्रशिक्षकहरुले निर्वाचन कानुन, निर्देशिका र विद्यमान प्रक्रियासमेतका विषयमा स्पष्ट बुझेर जानुपर्ने बताए । 
 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  ०४:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार