सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रमुख राजनीतिक दलले काठमाडौँ उपत्यकाका विभिन्न निर्वाचन क्षेत्रमा आफ्नो चुनावी अभियानलाई तिव्रता दिएका छन् । काठमाडौँ उपत्यकामा प्रतिनिधिसभातर्फ १५ निर्वाचन क्षेत्र छन् । यस्तै प्रदेशसभातर्फ ३० निर्वाचन क्षेत्र छन् । सत्तारुढ गठबन्धन र विपक्षी गठबन्धनले आआफ्नै शैलीमा चुनावी अभियानलाई तीव्र पारेका हुन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर दलले मतदातासँग मत माग्नेदेखि, उम्मेदवार परिचय तथा कार्यकर्ता परिचालन सुरु गरेका छन् । प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नं २ मा आज वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार परिचयको कार्यक्रम आयोजना गरियो । सत्तारुढ गठबन्धनका उम्मेदवारको परिचय तथा निर्वाचन क्षेत्र केन्द्रित योजनाका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सँग आबद्ध नेता तथा कार्यकर्ताले संविधानको रक्षाका खातिर भएको गठबन्धनले नै देश र जनताको हित गर्ने धारणा राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद दिपक कुइँकेलले लोकतन्त्र, संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि पनि गठबन्धन नै सही भएको र नेपाली जनताले विजयी गराउने बताए । सो क्षेत्रमा सत्तारुढ गठबन्धनका तर्फबाट पूर्वसभामुख ओनसरी घर्ती उम्मेदवार छिन् । कार्यक्रममा उम्मेदवार घर्तीले संविधानसभाबाट संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन नेकपा९एमाले०का महासचिव माधवकुमार नेपालको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै सोही जगमा वर्तमान गठबन्धन तयार भएको बताए । वाम लोकतान्त्रिक गठबन्धन रामेछापले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकलाई संविधानसम्मत बाटोमा हिँडाउने काम वर्तमान सत्तारुढ गठबन्धनले गरेको बताए । उनले संविधान विरोधी तत्वलाई पराजित गर्नका लागि पनि वाम लोकतान्त्रिक गठबन्धनको विजय जरुरी रहेको धारणा राखे । रामेछापमा वाम लोकतान्त्रिक गठबन्धनकोतर्फबाट कांग्रेसका पूर्णबहादुर तामाङ प्रतिनिधिसभातर्फ उम्मेदवार छिन भने प्रदेशसभातर्फ माओवादीका तारानारायण श्रेष्ठ र युवराज चौलागाईं उम्मेदवार छन् । नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभामा कैलाश ढुङ्गेल र प्रदेशमा शान्ति पौडेल र मिलन घिसिङ उम्मेदवार छिन् ।
निर्वाचन आयोगद्धारा तीनवटा निर्वाचन चिह्नमा सामान्य हेरफेर निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा निर्वाचन चिह्नमा सामान्य हेरफेर गरेको छ । आयोगको अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले चिह्न हेरफेर गरिएको आयोगले जनाएको छ । यही असोज २७ गतेको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती निर्वाचन चिह्नको अनुसूचीमा हेरफेर गरिएको सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । निर्देशिकाको अनुसूची २९ को क्रम सङ्ख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिह्न लौरो र अनुसूची–३० को खण्ड (क) मा रहेका स्वतन्त्र उम्मेदवारको लागि निर्धारित निर्वाचन चिह्नअन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचन चिह्न हेरफेर गरिएको छ । हेरफेर गरिएका निर्वाचन चिह्नसहितको विवरण वेबसाइटमा राखिएकोे आयोगले जनाएको छ । आगामी मङ्सिर ४ गते आइतबार देशभर एकै चरणमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । आयोगले यही असोज २६ गते मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको थियो ।