विश्वविद्यालयका प्राध्यापकको कृषि मोह 

शनिबार, असोज २९, २०७९

दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्ट प्राध्यापनसँगसँगै व्यावसायिक कृषिमा पनि लागेका छन् । 
एक दशकदेखि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा ग्रामीण विकासको उपप्राध्यापक रहेका उनी प्राध्यापन बाहेकको समय कृषिमा खर्चिन्छन् । उनले महेन्द्रनगरमा कुखुरापालन, बाग्लुङमा अलैँची खेती र डडेल्धुरामा भटमास प्रशोधन केन्द्रमा लगानी गरेका छन् । विश्वविद्यालयमा प्राध्यापनमा पनि अब्बल मानिएका उनी अध्ययन अनुसन्धानमा संलग्न छन् । “मेरो प्रमुख पेशा प्राध्यापन रहे पनि अध्ययन अनुसन्धान र प्राज्ञिक कार्य नै रुचिको विषय हो”, उनले भने, “कृषिबाट आर्थिक लाभ लिनेभन्दा पनि उद्यमशीलताबाट ग्रामीण विकासमा टेवा पुगोस् र समाजमा पनि यो पेशामा रहेका व्यक्तिलाई उत्प्रेरणा मिलोस् भन्ने उद्देश्य हो ।”

उनले महेन्द्रनगरमा एक बिघा जग्गा भाडामा लिएर कुखुरापालन गरेका छन् । करिब १० हजार कुखुरा रहेको उहाँको फार्ममा चार जनाले परिवारसहित रोजगारी पाएका छन् । “अहिले फार्ममा सात हजार अण्डा दिने कुखुरा छन् । बाँकी अण्डा नदिने कुखुरा छन्”, उनले भने, “प्रत्यक्ष सहभागी भएर खट्न नसक्ने भएपछि दाजु दिनेशचन्द्र भट्टलाई जिम्मा दिएको छु ।” 
उनले कुखुरापालन व्यवसायमा धेरै चुनौती रहेको बताए । विभिन्न समयमा आउने प्राकृतिक प्रकोप, बजारको अभावलगायत समस्या रहेको उनको भनाइ छ । 
“हामीसँग उत्पादन भएको बेला बजारको समस्या हुन्छ बजार भएको बेला उत्पादन हुँदैन”, उनले भने, “यो व्यवसायबाट आर्थिक लाभ नभए पनि चार-पाँच जनाले रोजगारी पाएका छन् ।” त्यसैगरी उहाँले अन्य साथीसँगको सहकार्यमा बागलुङमा पनि अलैँची खेती गर्नुभएको छ । 

“बागलुङमा काम नलाग्ने चार सय रोपनी बाँझो जग्गा लिजमा लिएर अलैँची खेती गरेका छौँ”, उनले भने, “यसले पनि राष्ट्रिय उत्पादन बढाएर आर्थिक लाभ लिन सकिन्छ ।” उनले विभिन्न प्राविधिक कमीकमजोरी, प्रत्यक्ष निगरानीको अभाव र रोगका कारण हालसम्म उत्पादन फस्टाउन नसकेको बताए । “सरकारी पक्षबाट हुनुपर्ने प्राविधिक सहयोग पनि हुन सकेन”, उनले भने, “विभिन्न कारणले गर्दा उत्पादन र लगानीको अवस्था बराबर छ हामीले नाफा आर्जन गर्न सकेका छैनौँ ।” 
योबाहेक उनले डडेल्धुराको भटमास प्रशोधन केन्द्रमा पनि लगानी गरेका छन् । “यो प्रशोधन केन्द्रमा छ सय लगानीकर्ता छन् । यसले पनि यो क्षेत्रमा रोजगारी सिर्जना गरेको छ”, उनले भने, “यसले भटमास उत्पादनमा वृद्धि हुन्छ ।” उहाँले आफूले अध्ययन गरेको विषयलाई समाजमा व्यवहारमा उतार्ने र कृषि व्यवसायप्रति समाजको सम्मान बढोस् भनेर आफू कृषिमा लागेको बताए  । नेपालमा कृषि व्यवसायमा ठूलो सम्भावना रहेको भए पनि कृषि व्यवसायप्रति हेर्ने समाजको नकारात्मक दृष्टिकोणका कारण यो व्यवसाय व्यावसायीकरण हुन नसकेको उनी बताउँछन् । 
“सुरुमा मैले आफ्नै घरमा कपाल काट्ने पसल सञ्चालन गरेँ, आफू प्रत्यक्ष त्यहाँ नबसे पनि यहाँका स्थानीयवासीले रोजगारी पाएका थिए”, उनले भने, “मैले यो पसल सञ्चालन गर्दा समाजमा अनेकौँ टीकाटिप्णी हुन थाले ।” त्यो बेला व्यवसायप्रति समाजको हेर्ने देष्टिकोण भिन्न रहेको उनले बताए । “अहिले पनि नेपालमा भारतीय श्रमिक आएर काम गर्छन्”, उनले भने, “सामान्य सीप भएकाले पनि स्थानीयस्तरमै रोजगारी हुनसक्छ तर पेशा गर्नेप्रति समाजले हेर्ने दृष्टिकोणका कारण नेपाली श्रमिक यसतर्फ आर्कर्षित हुँदैनन् ।” 
उनले जबसम्म कुनै पनि पेशा व्यवसायको सम्मान हुन सक्दैन तबसम्म आर्थिक वृद्धि हासिल गर्न नसकिने बताए । उनले यहाँ कपाल काट्ने कामदार नपाएका कारण पसल बन्द हुन पुगेको दुखेसो गरे । कृषि व्यवसायमा बीमालगायत प्राविधिक सहयोग हुन नसक्दा यो पेशाप्रति आकर्षण घटेको उनको भनाइ थियो । 
नेपाल–भारत श्रमिक आप्रवासन विषयमा विद्यावारिधि गरिरहेका उपप्राध्यापक भट्टले व्यावसायिकरूपमा कृषिमा लाग्नका लागि विभिन्न समस्या रहेको सुनाए । “लगानीको सुरक्षा छैन, पेशाप्रति सम्मान छैन यसले गर्दा व्यावसायीकरण हुन नसकेको हो”, उनले भने, “म प्राध्यापक पनि कृषिमा लागेको छु भने अरुले किन नलाग्ने यसलाई सकारात्मक हिसाबले हेर्नुपर्छ ।” 
यो बाहेक बजारको व्यवस्थापन, सरकारी नीति निर्माणमा ध्यान दिनुपर्ने उनले बताए । “नेपाल अहिले दूध, अण्डा र मासुजन्यमा आत्मनिर्भर भइसकेको छ”, उनले भने, “वैदेशीक पूँजी भित्र्याउन सकिने सम्भावना रहेकाले राज्यले ध्यान दिनुपर्छ ।”

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  ०५:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार