सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित कार्यक्रम गर्ने निर्णय गरेका छन् । बिहीबार बसेको गठबन्धन बैठकले निर्वाचन परिचालन समन्वय समिति गठन तथा सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो । केन्द्रीय तहमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वको गठबन्धनले काम गर्नेछ । प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुख रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने गठबन्धन बैठकको निर्णय छ । जिल्ला संयन्त्रले आवश्यकताअनुसार निर्वाचन क्षेत्र तथा स्थानीय तहमा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्नसक्ने बताइएको छ । बैठकले गठबन्धनका पक्षमा जनमत सिर्जना गर्न अपिल तयार गर्न चार सदस्यीय मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत, नेकपा (माओवादी केन्द्र)का नेता हितमान शाक्य, नेकपा (एकीकृत समाजवादी)का नेता प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरी छन् । सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने र उक्त भेलालाई गठबन्धन आबद्ध दलले संयोजन गर्ने राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलले जानकारी दिइन् । आगामी कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त कार्यकर्ता भेला आयोजना गरिएको छ । गण्डकी प्रदेशको भेलाको व्यवस्थापन नेकपा (एकीकृत समाजवादी) र लुम्बिनी प्रदेशको भेलाको संयोजन नेपाली कांग्रेसले गर्नेछ । कात्तिक ५ गते नेपाली कांग्रेसको संयोजकत्वमा प्रदेश नं १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा भेला हुनेछ । सो भेलामा गठबन्धनमा समावेश भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि आमन्त्रण गर्ने निर्णय भएको छ । कात्तिक ६ गते सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेमा भेला आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेशको भेलाको नेकपा (माओवादी केन्द्र) र कर्णाली प्रदेशको कार्यकर्ता भेलाको व्यवस्थापन कांग्रेसले गर्नेछ । कात्तिक ७ गते माओवादीको संयोजनमा बागमती प्रदेशको काठमाडौँमा भेला आयोजना गरिएको छ । भेलामा गठबन्धनमा सहभागी दलका केन्द्रीय सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुखसहित तीन÷तीन जना सहभागी हुनेछन् । भेलामा वक्ताका रुपमा दलका प्रमुख नेतालाई आमन्त्रण गरिएको छ । बैठकले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा तय गरेको छ ।
कांग्रेसद्वारा विद्रोही उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय गर्न निर्देशन
नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही बनेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी निष्क्रिय गर्न निर्देशन गरेको छ । तोकिएको समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका विद्रोही उम्मेदवारलाई यही असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपर यसअघि गरिएको कारबाही फुकुवा गर्ने कांग्रेसले जनाएको छ । त्यस्ता विद्रोही उम्मेदवारले उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धता जनाउनुपर्ने छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा÷प्रदेशसभाको निर्वाचनमा आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवार बनेका पार्टी सदस्यलाई तोकिएको समय असोज २६ गतेभित्र उम्मेदवारी फिर्ता नलिएकाले त्यस्ता उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई कांग्रेसले पार्टी सदस्यता नरहने गरी पाँच वर्षका लागि निष्काशन गरेको थियो ।