एकै गाउँका पाँच जना उम्मेदवार

बुधबार, असोज २६, २०७९
Global Ime Bank

अर्घाखाँची । आगामि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि अर्घाखाँचीमा एकै गाउँका पाँच उम्मेदवार बनेका छन् । प्रतिनिधि सभाको एक र प्रदेश सभाको लागि दुई निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन पदका लागि जम्मा २९ जनाले उम्मेदवारी दर्ता गराएका मध्ये पाँच जना सन्धिखर्क नगरपालिका–९ अर्घाका रहेका छन् । 
नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी पूर्व उपसभामुख पुष्पा भुसाल, प्रदेशसभा ‘क’ मा नेकपा एमालेबाट उम्मेदवार बनेका चेतनारायण आचार्य, नेकपा माओवादीबाट उम्मेदवार बनेका ठाकुर कुमार विक र स्वतन्त्र उम्मेदवार बसन्त केसी पाँचै जना एउटै गाउँका हुन् ।
प्रतिनिधि सभा १ क्षेत्र मात्र रहेको अर्घाखाँची जिल्लामा  १२ जना, प्रदेश सभा (क) का लागि आठ जना र प्रदेश सभा (ख) का लागि नौ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत डा श्रीकृष्ण भट्टराईले बताए । 
प्रतिनिधिसभाको लागि राप्रपाबाट होमनारायण बेल्बासे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद भुसाल, जसपा नेपालबाट नेत्रबहादुर थापा, हाम्रो नेपाली पार्टीबाट दुर्गा बन्जाडे, नेपाल मजदूर किसान पार्टीबाट सुतेज दुलाल, राप्रपा नेपालबाट खलिल मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका मधुबहादुर सारु र स्वतन्त्रबाट पशुपति ढकाललगायत १२ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत सुरेश भट्टराईले जानकारी दिए ।

प्रदेशसभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य, गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुरकुमार विक, नेकपा एकीकृत समाजवादीबाट रामबहादुर चौहान, राजमोबाट सागर केसी, राप्रपाबाट झविन्द्र फुल्लेल र स्वतन्त्रबाट राजन नेपाली लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा (ख) का लागि नेपाली कांग्रेसबाट कमलप्रसाद भुसाल र एमालेबाट पूर्व प्रदेश सांसद रामजीप्रसाद घिमिरे, राजमोबाट जिवलाल पौडेल, जसपाबाट टुकबहादुर चेवाली, राप्रपाबाट चेतबहादुर पौड्याल र स्वतन्त्रबाट बाबुराम रोका मगर र चिरञ्जीवी अर्याल लगायतले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत महेश खनालले बताए ।  
 

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार