सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुरधाम । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषामा प्रत्यक्षतर्फ महिला उम्मेदवारको सहभागिता न्यून देखिएको छ । प्रतिनिधिसभातर्फ धनुषाको चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका एक सय तीन जनाले मध्ये धनुषा क्षेत्र नं ३ मा नेकपा एमालेकी नेत्री जुली महतोसहित छ जना मात्र महिला उम्मेदवारी रहेका छन् । मधेस प्रदेशको राजधानी जनकपुरधामसमेत रहेको धनुषा क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ ३१ जनाले उम्मेदवारी दर्ता गराउँदा नेकपा एमाले–जसपा गठबन्धनबाट एमाले नेत्री महतो, नेपाल जनता पार्टीबाट पुनम चौधरी र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालबाट प्रविणाकुमारी ठाकुरले उम्मेदवारी दर्ता गराउनुुभएको क्षेत्र नं ३ का निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उक्त क्षेत्रमा ज्योतिकुमारी साह, पूजा साह र मिलनकुमारी साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत प्याकुरेलले बताए । त्यस्तै धनुषामा रहेको आठ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ एक सय ३८ जनाले उम्मेदवारी दर्ता गराउँदा महिलाको सङ्ख्या १० जना मात्र रहेका छन् । प्रदेशसभातर्फ धनुषा क्षेत्र नं १ (क) र क्षेत्र नं १ (ख) मा १४÷१४ जनाले उम्मेदवारी दिँदा महिला उम्मेदवार सङ्ख्या शून्य छ । प्रदेशसभा धनुषा क्षेत्र नं २ (क) मा १४ जना र क्षेत्र नं २ (ख) मा १७ जना उम्मेदवारी दर्ता गराउँदा सबै पुरुष उम्मेदवार नै छ । धनुषाको क्षेत्र नं ३ ९क० मा पुनमदेवीदास तत्माले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धनुषा क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका छन् । जसमा पाँच जना महिलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । किरणदेवी साह, पवनदेवी साह, बबिता कुमारी, मिनाक्षी पाण्डे र सीता कुमारीले सो क्षेत्रमा प्रदेशसभा सदस्य पदका उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा तर्फ धनुषा क्षेत्र नं ४ (क) मा १९ जनाले उम्मेदारी दिँदा तीन जना महिलाले उम्मेदवारी दिएका छन् । त्यहाँ नेपाल लोकतान्त्रिक पार्टीबाट आशादेवी साह, जनमत पार्टीबाट मिथलेशदेवी साह र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मीराकुमारी यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
धनुषा क्षेत्र नं ४ (ख) मा १३ जनाले उम्मेदवारी दर्ता गराउँदा जनता प्रगतिशील पार्टी नेपालबाट शोभा कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । गत असोज २३ गते प्रतिनिधिसभा सदस्यका लागि धनुषामा ६६ जना स्वतन्त्र गरी एक सय तीन जना र प्रदेशसभाका लागि ७७ स्वतन्त्र गरी एक सय ३८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । संविधान, ऐन र कानुनले महिलाको प्रतिनिधित्वको सुनिश्चितता गरिए पनि महिलालाई उम्मेदवार बनाउन राजनीति दलले नरुचाएका कारण यस्तो अवस्था देखिएको महिला अधिकारकर्मी तथा कानुन व्यवसायी पार्वती चौधरीले बताए । आगामी निर्वाचनका लागि धनुषामा एक लाख ९३ हजार एक सय चार महिला र दुई लाख १६ हजार आठ सय ७५ पुरुष तथा अन्य ६ जना गरी कूल चार लाख नौ हजार नौ सय ८५ मतदाता कायम रहेको मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका प्रमुख श्रीधर पन्थीले जानकारी दिए ।
अर्घाखाँचीमा २९ उम्मेदवार
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि अर्घाखाँचीमा एकै गाउँका पाँच जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको १ र प्रदेश सभाको लागि दुई निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन पदका लागि जम्मा २९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमा पाँच जना सन्धिखर्क नगरपालिका–९ अर्घाका छन् । नेकपा एमालेबाट प्रतिनधिसभामा उम्मेदवारी दर्ता गराउनुभएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराउनुभका पूर्व उपसभामुख पुष्पा भुसाल, प्रदेशसभा ‘क’ मा नेकपा एमालेबाट चेतनारायण आचार्य, नेकपा माओवादीबाट ठाकुर कुमार विक र स्वतन्त्रबाट वसन्त केसीसहित पाँच जना एउटै गाउँका हुन् । प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको अर्घाखाँचीमा १२, प्रदेशसभा (क) का लागि आठ र प्रदेशसभा (ख) का लागि नौ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत डा श्रीकृष्ण भट्टराईले बताए । अर्घाखाँचीमा प्रतिनिधिसभाको लागि नेपाली कांग्रेसबाट पूर्व उपसभामुख पुष्पा भुसाल र नेकपा एमालेबाट पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १२ जनाले उम्मेदवारी दर्ता गराएको छ । प्रतिनिधिसभाको लागि राप्रपाबाट होमनारायण बेल्बासे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद भुसाल, जसपा नेपालबाट नेत्रबहादुर थापा, हाम्रो नेपाली पार्टीबाट दुर्गा बन्जाडे, नेपाल मजदूर किसान पार्टीबाट सुतेज दुलाल, राप्रपा नेपालबाट खलिल मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका मधुबहादुर सारु र स्वतन्त्रबाट पशुपति ढकाललगायत १२ जनाले उम्मेदवारी दर्ता गराउनुभएको जिल्ला निर्वाचन अधिकृत सुरेश भट्टराईले जानकारी दिनुभयो । प्रदेशसभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य, गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुरकुमार विक, नेकपा एकीकृत समाजवादीबाट रामबहादुर चौहान, राजमोबाट सागर केसी, राप्रपाबाट झविन्द्र फुल्लेल र स्वतन्त्रबाट राजन नेपाली लगायतले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा (ख) का लागि नेपाली कांग्रेसबाट नेपाली कांग्रेसका पूर्व पार्टी सभापति सन्धिखर्क नगरपालिकाका संस्थापक नगरप्रमुख कमलप्रसाद भुसाल र एमालेबाट पूर्व प्रदेश सांसद रामजीप्रसाद घिमिरे, राजमोबाट जीवलाल पौडेल, जसपाबाट टुकबहादुर चेवाली, राप्रपाबाट चेतबहादुर पौड्याल र स्वतन्त्रबाट बाबुराम रोकामगर र चिरञ्जीवी अर्याल लगायतले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत महेश खनालले बताए । प्रतिनिधिसभा निर्वाचनमा मुख्यतया रायमाझी र भुसालबीच प्रतिस्पर्धा हुने भएको छ ।