सोसल मिडिया
Contact Us
युनिकोड
कर्णाली । विसं २०४९ मा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा प्रमुख पदमा उम्मेदवार बन्नुभएको थियो, नेपाली कांग्रेसका कालीप्रसाद शाक्य र नेकपा (एमाले) का यामलाल कँडेल ।
निर्वाचनमा शाक्यलाई पराजित गर्दै कँडेल वीरेन्द्रनगरको प्रमुख पदमा विजयी भएका थिए । तीन दशकअघि प्रतिस्पर्धा गरेका शाक्य र कँडेल मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा पुनः आमनेसामने भएका छन् ।
सुर्खेत क्षेत्र नं २ प्रदेशसभा (क) बाट आइतबार उम्मेदवारी मनोनयन गरेका कांग्रेसका शाक्यलाई सत्तारूढ गठबन्धनअन्तर्गतका नेकपा (एकीकृत समाजवादी) बाहेकका दलको समर्थन छ भने एमालेका कँडेललाई आफ्नै पार्टीको मात्र । कँडेल–शाक्यसँगै उक्त पदमा एकीकृत समाजवादीका शिवप्रसाद उपाध्याय, राप्रपाका सूर्यबहादुर खत्रीसहित १० उम्मेदवार प्रतिस्पर्धामा छन् ।
एमाले नेता कँडेल मुख्यमन्त्री बन्ने योजनासहित २०७४ को निर्वाचनमा प्रदेशसभाको उम्मेदवार बनेका थिए । तत्कालीन बाम गठबन्धनको सहयोगमा पाँच हजारभन्दा बढी मतान्तरले कांग्रेसका कमलराज रेग्मीलाई पराजित गर्दै उनी विजयी भएका थिए ।
यसपटक पनि प्रदेशसभामा दोहोरिन खोजेका कँडेललाई चुनौतीको भारी बनेका छन्, गठबन्धनका शाक्य । गठबन्धनको बलमा आफूले चुनाव जित्ने शाक्य बताउँछन् । “मेरो उम्मेदवारीबाट सिङ्गो पार्टी पङ्क्ति र गठबन्धन उत्साही छ”, उनले भने, “सङ्गठन मजबुत र गठबन्धन दलको सहयोग मेरो जित्ने आधार हो ।”
कांग्रेसका पूर्वजिल्ला उपसभापति, पटक–पटक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भएका शाक्य जिल्ला समन्वय समिति संयोजक बन्ने योजनासहित २०७४ को स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगर–९ को वडा सदस्यमा उम्मेदवारी दिएका थिए । तर पराजित भए । एमालेका कँडेल हाल पार्टीको कर्णाली प्रदेश इन्चार्ज र स्थायी कमिटी सदस्य हुन् । विसं २०५१ मध्यावधि र २०७४ को संविधानसभा निर्वाचनमा विजयी बन्नुभयो भने २०५६ को संसदीय र २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका हृदयराम थानीसँग पराजित भए ।
विद्यार्थी राजनीतिदेखि नै थानी–कँडेलको प्रतिस्पर्धामा भने विसं २०७४ देखि विश्राम लागेको छ । त्यसयता कँडेल प्रदेशसभा र थानी प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दै आएका छन् । एमाले उम्मेदवार कँडेलले प्रदेशसभाको पहिलो कार्यकालले उल्लेख्य काम गर्न नसकेकाले पुनः प्रदेशसभाकै उम्मेदवार बनेको बताउँदै भन्छन्, “केन्द्र, प्रदेश जहाँ भए पनि सङ्घीयता कार्यान्वयनमा भूमिका निर्वाह गर्ने हो ।”
झापामा पाँच पदका लागि एक सय एकको उम्मेदवारी
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एक सय एकजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नौजना मात्र महिलाको उम्मेदवारी परेको छ ।
पाँचवटा क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी उम्मेदवारी क्षेत्र नं ५ बाट परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विभिन्न राजनीतिक दलबाट ६८ जनाले र स्वतन्त्रबाट ३३ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्र नं १ बाट १६, क्षेत्र नंं २ मा २०, क्षेत्र नं ३ मा १८, क्षेत्र नं ४ मा २०, क्षेत्र नं ५ मा २७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी प्रदेशसभाका १० पदका लागि एक सय छजनाको उम्मेदवारी दर्ता भएको छ । जसमा प्रदेश नं १ को (क) मा छ, (ख) मा १२, क्षेत्र नं २ को (क) र (ख)मा १०–१०, क्षेत्र नं ३ को (क) मा आठ, (ख) मा ११, क्षेत्र नं ४ को (क) मा १० (ख) मा १२, क्षेत्र नं ५ को (क) मा ११, (ख) मा १६ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
झापामा तीन राजनीतिक दलका शीर्षनेता उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा होमिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली क्षेत्र नं ५ बाट, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन क्षेत्र नं ३ बाट र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरी चुनावी अभियानमा होमिएका छन् ।