गोरखामा माओवादी अध्यक्ष प्रचण्ड सहित ५६ जनाको उम्मेदवारी

मंगलबार, असोज २५, २०७९
Global Ime Bank

गोरखा । गण्डकी प्रदेशको गोरखा जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि ५६ जनाको उम्मेदवारी परेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को समेत निर्वाचन क्षेत्र रहेको गोरखामा यस पटक निकै महत्वका साथ हेरिएको छ ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार भएको मनोयन दर्ता क्रममा गोरखा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २३ जना र चार प्रदेशसभाका निर्वाचन क्षेत्रमा ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
प्रतिनिधिसभाअन्तर्गत गोरखा क्षेत्र नं १ मा १० जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए । क्षेत्र नं. १ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र बजगाईंको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतको उम्मेदवारी परेको छ ।
त्यस्तै जनता समाजवादी पार्टीबाट उत्तरबहादुर खड्का, राप्रपाबाट उदयप्रसाद भट्ट, मङ्गोल नेसनल अर्गनाइजेसनबाट देवबहादुर थापा र नेपाल सुशासन पार्टीबाट मीनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएको उनले जानकारी दिए । जसपाबाट नै रुपेश राना, नेपाल मजदुर किसान पार्टीबाट लीलाकुमारी बुढाथोकी र राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाय र विष्णु पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ मा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित १३ जनाको उम्मेदवारी परेको उनले बताए । सत्ता गठबन्धनको सिट बाँडफाँटका क्रममा माओवादीको केन्द्रको भागमा परेको यो क्षेत्रमा नेकपा एमालेबाट अब्दुस सलाम मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कवीन्द्र बुर्लाकोटी, राप्रपाबाट सुशील पन्त, राप्रपा नेपालबाट कुलबहादुर बस्नेत, नेपाली कांग्रेस (विपी) बाट टीकादत्त पोखरेल, नेपाल मजदुर किसान पार्टीबाट प्रल्हाद लामिछाने, हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा र मङ्गोल नेसनल अर्गनाइजेसनबाट सोमबहादुर गुरुङकोे उम्मेदवारी परेको हो । क्षेत्र नं २ मा विनोदकुमार गुरुङ, गणेश देवकोटा र कांग्रेस नेत्री डा माधवी पराजुली (भट्ट) ले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।
प्रदेशसभा तर्फ गोरखा क्षेत्र नं १ (क) मा सातजनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । जसमा नेकपा माओवादी केन्द्रबाट कृष्ण धिताल, नेकपा एमालेबाट सुरेन्द्रबहादुर थापा, राप्रपाबाट सुदीप ढकाल, राप्रपा नेपालबाट हरिराम अर्याल, मङ्गोल नेसनल अर्गनाइजेसनबाट गङ्गाबहादुर राना, नेस्नलिष्ट पिपल्स पार्टीबाट बिष्णुबहादुर कुँवरको उम्मेदवारी परेको छ भने कांग्रेस निकट मानिएका रामशरण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।
क्षेत्र नं १ अन्र्तगत प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने, नेकपा एमालेका मोहन भट्टराई, एकीकृत समाजवादीका टेकराज भट्ट, नेस्नलिष्ट पिपल्स पार्टीका रामचन्द्र कुमाल, मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर लामा, राप्रपा नेपालका सरिता देवकोटा, राप्रपाका सोमनाथ अधिकारीले उम्मेदवारी दर्ता गर्नुभएको छ भने डाकबहादुर पराजुली, माओवादी केन्द्रका युवानेता राजकुमार ढकाल र कांग्रेस नेता पूर्णबहादुर दाहालले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । प्रदेशसभाअन्तर्गतको यो क्षेत्रमा १० जनाको उम्मेदवारी परेको हो ।
यस्तै गोरखा क्षेत्र नं २ अन्र्तगत प्रदेशसभा (क) मा  नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा, नेकपा एमालेका राजु राना, नेकपा एकीकृत समाजवादीका जुद्धविलास भण्डारी, नेमकिपाका बेलबहादुर बस्नेत, राप्रपाका राजेन्द्र शाह, मङ्गोलनेसनल अर्गनाइजेसनका विपीका बराम गुरुङ, राप्रपा नेपालका सुबोध बस्न्यात र हाम्रो नेपाल पार्टीका सरोज गिरीले उम्मेद्वारी दर्ता गराउनु भएको छ । प्रदेशसभाको यो क्षेत्रमा गण्डकी प्रदेशका ऊर्जामन्त्रीसमेत रहेका हरिशरण आचार्य र बिलबहादुर तामाङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नं २ को प्रदेशसभा (ख) मा कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, नेकपा एमालेबाट वसन्तकुमार गुरुङ, राप्रपाबाट ठाकुरप्रसाद लामिछाने, राप्रपा नेपालबाट सफिदिन मियाँ र मङ्गोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर घलेको उम्मेदवारी परेको छ ।  क्षेत्र नं २ को प्रदेशसभा (ख) मा हरि पोखरेलले स्वतन्त्र दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

मोरङ जिल्लामा दुई सय २६ जनाको उम्मेदवारी कायम

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङ जिल्लामा दुई सय २६ जना उम्मेदवारी कायम भएका छन् ।
मोरङ जिल्लामा प्रतिनिधिसभाअन्तर्गत ६ स्थानका लागि हुने निर्वाचनमा विभिन्न राजनीतिक दल एवं स्वतन्त्र गरी एक सय आठजनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभाअन्तर्गत १२ स्थानका लागि एक सय १८ जनाले मनोनयन दर्ता गरेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
जिल्लाको प्रतिनिधिसभाको क्षेत्र नं १ मा नेपाली कांग्रेस नेकपा एमाले, राप्रपा र छजना स्वतन्त्र गरी १५ जनाले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी क्षेत्र नं १ प्रदेश सभा (क) मा  नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र दुई स्वतन्त्र गरी सात र क्षेत्र न १ (ख) मा एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र दुई स्वतन्त्र गरी आठजनाले मनोनयन दर्ता गराएका छन् ।
प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकां नेत्री एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, नेकपा एमाले, राप्रपा र दुई स्वतन्त्रसमेत १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा २(क) मा  एमाले, माओवादी केन्द्र, राप्रपा र चार स्वतन्त्र तथा प्रदेशसभा २(ख) मा नेकां, एमाले, राप्रपा र दुई स्वतन्त्र गरी नौजनाले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।
मोरङ क्षेत्र ३ प्रतिनिधिसभाका लागि एमालेबाट पूर्वमन्त्री भानुभक्त ढकाल, राप्रपाबाट नायिका रेखा थापा, नेकांबाट नोबेल मेडिकल शिक्षण अस्पतालका प्रमुख सुनिल शर्मा चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । यस क्षेत्रमा ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा ३(क) मा नेकां, एमाले, राप्रपा र एक स्वतन्त्रसहित सात तथा ३(ख) मा एमाले, राप्रपा र छ स्वतन्त्रसहित १५ जनाले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभा ४ मा एमाले, माओवादी केन्द्र, राप्रपा, नेकां विपी र सात स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभाको ४(क)मा एमाले, राप्रपा नेकां र एक स्वतन्त्र तथा प्रदेशसभा ४(ख) मा एमाले, नेकां, नेकपा एकीकृत समाजवादी, राप्रपा, जसपा र दुई स्वतन्त्र गरी १० जनाले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं ५ मा माओवादी केन्द्र, राप्रपा, जसपा नेपाल, जनमत पार्टी र आठ स्वतन्त्र गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै प्रदेशसभा ५(क)मा नेकां, एमाले राप्रपा र दुई स्वतन्त्र गरी छजनाले तथा प्रदेशसभा ५(ख) मा नेकां, जसपा, राप्रपा, जनमत पार्टी र तीन स्वतन्त्र गरी १० जनाले  मनोनयन दर्ता गराएका छन् ।
यस्तै मोरङ क्षेत्र ६ मा  नेकांका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइराला, नेकपा एमालेबाट पूर्वमन्त्री लालबाबु पण्डित चुनावी प्रतिष्पर्धा हुनुहुन्छ । यस निर्वाचन क्षेत्रमा अन्य राप्रपा, जनमत पार्टी र तीन स्वतन्त्र गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा क्षेत्र नं ६(क) मा एमाले, माओवादी केन्द्र, नेकां विपी, राप्रपा र पाँच स्वतन्त्र गरी १३ जना तथा क्षेत्र नं ६(ख) मा  नेकां, एमाले, नेकपा एकीकृत समाजवादी, जसपा, नेकां विपी र तीन स्वतन्त्र गरी १४ जनाले मनोनयन दर्ता गराएका छन् । आगामी मङ्सिर ३ गते १८ वर्ष उमेर पुगेकासमेत गरी सात लाख ३५ हजार पाँच सय २५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

महिला उम्मेदवारको सङ्ख्या न्यून

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङमा महिला उम्मेदवारको सङ्ख्या न्यून रहेको छ ।
मोरङमा रहेको कूल छ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि आइतबार विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी जम्मा एक सय आठ जनाको उम्मेदवारी कायम रहेको छ । उम्मेदवार मध्ये प्रतिनिधिसभा सदस्य पदका लागि राजनीतिक पार्टी र स्वतन्त्रबाट गरी जम्माजम्मी १२ जना महिलाको मात्र उम्मेदवारी परेको छ ।

प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार मोरङ निर्वाचन क्षेत्र नं. १ बाट राजनीतिक दल र स्वतन्त्रबाट १० पुरूष र पाँच जना महिला गरी कूल १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा उम्मेदवारी दर्ता गराउने पाँच महिलामा राष्ट्रिय जनमुक्ति पार्टीबाट बुद्धमाया लिम्बू र स्वतन्त्रबाट निलु लिम्बू, फूलकुमारी पण्डित राई, मनिसा सुवेदी र सुजता थापा छन् । जिल्लाका अन्य क्षेत्र भन्दा क्षेत्र नं. १ बाट सबैभन्दा बढी सङ्ख्यामा महिलाले उम्मेदवारी दिएका छन् । निर्वाचन क्षेत्र नं. २ बाट राजनीतिक दल र स्वतन्त्रबाट ११ पुरूष र दुई महिला गरी कूल १३ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । महिलामा चार दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सुजाता कोइराला र नेश्नलिष्ट पिपल्स पार्टीकी मिना कटुवाल बुढाथोकीले मात्र उम्मेदवारी दिएकी छन् ।
निर्वाचन क्षेत्र नं. ३ बाट राजनीतिक दल र स्वतन्त्रबाट सबैभन्दा धेरै ३१ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउने ३१ जनामध्ये चार जना महिलाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गराउने महिलामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेखा थापा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट चन्द्रिकादेवी लिम्बू र स्वतन्त्रबाट इन्दिरा थापा र चन्द्रकला खत्री छन् ।
निर्वाचन क्षेत्र नं. ४ बाट भने प्रतिनिधी सभाका लागि एकजना पनि महिला उम्मेदवार नरहेको निर्वाचन कार्यालयले जनाएको छ । यो निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी पत्र दर्ता गराउने कूल १७ सबै पुरूष छन् । निर्वाचन क्षेत्र नं. ५ बाट भने एक महिलाले मात्र प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । यस क्षेत्रबाट राजनीतिक पार्टी र स्वतन्त्र गरी कूल १६ उम्मेदवार रहेकोमा महिलामा सञ्जु शर्मा बडईले स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएकी छन् । निर्वाचन क्षेत्र नं. ६ मा राजनीतिक पार्टी र स्वतन्त्रबाट कूल १६ जनाले उम्मेदवारी दिएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  ०४:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार