दसैँ भित्रिएसँगै झापामा सन्थाल नृत्य सुरु

सोमबार, असोज १७, २०७९

झापा । दसैँ भित्रिएसँगै जिल्लाका विभिन्न स्थानमा आइतबारदेखि सन्थाल मेला लाग्न सुरु भएको छ । मेलामा उनीहरूले मौलिक सांस्कृतिक नृत्यहरू रङ्गीचङ्गी पहिरनमा बाजा गाजासहित देखाउने गरेका छन् । 
सोही क्रममा आइतबार कनकाई नगरपालिकास्थित कनकाई माध्यमिक विद्यालयको खेलमैदानमा बृहत् ‘कनकाई सन्थाल मेला’ सञ्चालन भएको छ । कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको मेलामा जिल्लाभरका सन्थाल समुदायको उपस्थिति रहेको छ । 
प्रतिष्ठानले प्रत्येक वर्ष फूलपातीका दिन आयोजना गर्दै आएको मेलामा यस वर्ष नृत्य प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा झापा र मोरङका गरी १८ वटा टिमले लोप हुन लागेको सन्थाल नृत्य प्रस्तुत गरेका छन् । 
दसैँको रमझमसँगै पूर्वी तराईमा सन्थालहरू मुरली, झ्याम्टा र ढोल बोकेर नाच्दै रमाउन थालेका छन् । जिल्लाको गरामनी, सैनिकमोड, गौरीगञ्ज, टाघनडुब्बा, फुलबारी, महाभारा, लालपानी, शरणामती, झापाबजार, चारआली, लखनपुरलगायतका क्षेत्रमा सन्थाल समुदायको बाक्लो बसोबास छ ।
सन्थाल नृत्य गर्दा सन्थाल पुरुष र महिला रङ्गीचङ्गी पहिरन, कमिज गञ्जी, धोती, शिरमा मयुरको प्वाँख र ऐना, कम्मर र खुट्टामा झुम्का र कल्ली लगाउँछन् । 
दसैँमा ‘दुर्गा पूजा’ पनि बडो धुमधामका साथ मनाउने उनीहरूले गाउँगाउँमा स्थापना गरिएका दुर्गा माताका मन्दिरमा पनि नृत्य प्रदर्शन गरेका छन् । आजकै दिनदेखि उनीहरूटोली–टोली मिलेर देउसी खेले जस्तै दसैँ गीत गाउँदै र नाच्दै रमाइलो गर्दै गाउँगाउँ हिँड्छन् ।–रासस 
 

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  ०५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार