चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण : सभामुख

आइतबार, असोज १६, २०७९

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले नेपालका चाडपर्व व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भ्रातृत्व एवं सम्बन्ध सुधारका लागि महत्वपूर्ण बन्ने बताएका छन् । 
दसैँ, तिहार, छठलगायत राष्ट्रिय पर्व र नेपाल संवत् ११४३ का अवसरमा सबै नेपालीलाई बधाई तथा शुभकामना दिँदै उहाँले हाम्रा संस्कृति, परम्परा एवं मनाउँदै आएका चाडपर्वले मौलिकता र विविधताको प्रतिनिधित्व गर्ने उल्लेख गरे । 
सन्देशमा सभामुख सापकोटाले भनेका छन्, “मौलिकता र विविधता नेपालीको मूल विशेषता रहेको छ । दसैँ, तिहार, छठलगायतका चाडपर्व सामाजिक अन्तरघुलन र सद्भाव बढाउन महत्वपूर्ण सावित भएका छन् ।” 
उनले चाडपर्वका अवसरमा हुने पारिवारिक जमघट एवं आफन्त भेटघाटका क्रममा हुने छलफल समाज रुपान्तरणका लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । डेङ्गु सङ्क्रमणको जोखिमलाई ध्यान दिई सचेत भएर चाडपर्व मनाउन उनले सबैमा विशेष अपिल गरेका छन् । 
आगामी मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचन निष्पक्षरुपमा सफल बनाउन हरेक बालिग नेपाली नागरिकको विशिष्ट योगदान रहेको भन्दै उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने विषयलाई गहिरो गरी आत्मसात् गर्न सम्पूर्ण नेपालीमा आग्रह गरेका छन् । 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार