गोरखा दरबारबाट फूलपाती पठाइयो

आइतबार, असोज १६, २०७९

गोरखा । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा२झ ३८८२ नंको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए ।
 गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पु¥याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ । कार्यालयका कर्मचारीसमेत रहनुभएका चण्डीथानका पुजारी कुलबहादुर थापाको नेतृत्वमा हुनमानढोका दरबारमा फूलपाती पठाइएको कार्यालय प्रमुख भुसालले जानकारी दिए ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसँैघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पु¥याएर भित्र्याउने प्रचलन रहँदै आएको छ । गोरखा दरबारको दसैँघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ ।
विधिपूर्वक दसैँघरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाइ गरिएको उहाँले बताउनुभयो । गोरखा दरबारको दसैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । गोरखा दरबार परिसरबाट गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यलगायतले फूलपातीको बिदाइ गरेका छन् । 
त्यस्तै सतिपिपल चौताराबाट गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य, गोरखा नगरपालिकाका निवर्तमान नगरप्रमुख राजनराज पन्तलगायतले हनुमानढोका दरबारका लागि फूलपाती बिदाइ गरेका हुन् । 

हेटौँडामा धार्मिक विधिपूर्वक फूलपाति भित्र्याइयो

बडादसैँको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका–१० राप्तितडस्थित गोरेक्षश्वर महादेव मन्दिरको परिसरबाट आज बिहान निस्किएको धार्मिक भक्तजनको शुभयात्रासहित ल्याइएको फूलपाती स्थानीय भूटनदेवी मन्दिरको जमरा घरमा धार्मिक विधिपूर्वक भित्र्याइयो ।
उक्त अवसरमा नेपाली सेनाको एक टुकडी र नेपाल प्रहरीको जवानले हर्षबढाईसहित सलामी अर्पण गरेका थिए । आजै बिहान फूलपाती लिन मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डे, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, बागमती प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण बज्राचार्य, नेपाली सेनाका उच्च अधिकृत, स्थानीय समाजसेवी, धार्मिक भक्तजन र राजनीतिक दलका प्रतिनिधि स्थानीय गोरेक्षश्वर मन्दिरमा पुगेका  थिए ।
यसैगरी गोरेक्षश्वर मन्दिरबाट निस्किएको अर्को धार्मिक शुभयात्राले हेटौँडा उपमहानगरपालिका–२ वनस्खण्डीको जमरा घरमा ल्याएको फूलपाती आजै वनस्खण्डी मन्दिरमा भित्र्याइएको मन्दिर  व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठले जानकारी दिए।
सोही स्थानमा फूलपाती भित्र्याउन नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा, झाँक्री र धार्मिक भक्तजन सम्मिलित शुभयात्राले हेटौँडा नगरको विभिन्न स्थानमा परिक्रमा गरेको थियो । 
 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार