अर्घाखाँचीको मौलिक भैरव नाँच 

शनिबार, असोज १५, २०७९

अर्घाखाँची । अर्घाखाँचीका नेवार समुदायको पहिचानका रुपमा रहेको भैरव नाँच नेवार समुदायको मौलिक नाचका रुपमा रहेको छ । भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कार्तिक औँशीसम्म नाचिन्छ । देउसी, भैलीको मादल बज्नु अगाडि यस नाचलाई विसर्जन गर्नुपर्छ भन्ने स्थानीय मान्यता रहेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।  
भैरव नाच सात ताल (पटक)सम्म नाचिन्छ, सामान्यतया एउटा ताल २० मिनेटको हुन्छ, बीचमा छोटो विश्रामपछि पुनःसुरु हुन्छ । यसमा कालभैरव मुख्य हुन्छ भने श्वेत भैरव र रातो भैरव सहायक हुन्, साथमा डंकिनी पनि हुन्छ ।
भैरवको स्वरुपमा हुने यस नाचका नर्तकलाई भगवान्को प्रतिकका रुपमा पूजा गरिन्छ । यद्यपि, डंकिनीलाई पनि पूजा गरिन्छ । डंकिनी नारी स्वरुपको हुन्छ । पुरुष नर्तक महिलाको भेषमा शृङ्गार गरेको हुन्छ । यसको स्पष्टस्वरुप नखुले पनि भैरव नाचको अभिन्न अङ्गका रुपमा रहँदै आएको छ । तीनवटै भैरव आफ्नो भूमिकाअनुसारका रङमा ख्वापः (खप्पर), कपडा, चमर (चौरी गाईको पुच्छर), मालासहित शृङ्गार गरी भगवानको विशाल आकृति निर्माण गरिने लात्तेबाज भैरव नाच संरक्षण समिति तथा भूमिकास्थान नगरपालिका–८ का वडाध्यक्ष राजकुमार श्रेष्ठले बताए । 
भैरवलाई आकर्षक बनाउन समयसापेक्ष शृङ्गार सामग्रीको पनि प्रयोग गरिन्छ । यसपछि तान्त्रिक विधिबाट पूजा गरी नाच सुरु गरिन्छ । बाजा बजाउने मुख्य रूपमा नेवार समुदायकै भए पनि सहायक वाद्यबादकमा अन्य जातजातिका पनि सहभागी हुन्छन् । यसले जातीय सद्भावलाई झल्काउँछ । यसमा मुख्य गरी खीं बाजा (मिर्दुङ) लाई गुरु मादलका रुपमा राखिन्छ भने साथमा झुर्मा (झ्याली), सहनाइ, धङ्कुरीलगायतका वाद्यबादन प्रयोग गरिन्छ । 
सातवटै ताल (पटक) को लय फरकफरक हुन्छ । तान्त्रिक विद्यामा निपूणलाई विशेषगरी पाँच ताल र छ तालमा भैरव उत्रिन्छ । यसरी काम्नेमा दर्शक पनि हुन सक्छन् र नर्तक पनि । भैरव नाचको तान्त्रिक पूजा विधिमा गल्ती भए यसले क्षति पनि पु¥याउँछ भन्ने जनविश्वास भएकाले यो नाचप्रति धेरै सचेत हुने गर्दछन् । 
नाचलाई रोचक बनाउन लाठी नाच (टाकुनडोली), घोडा, चरा, लाहुरे लाहुरेनी नाचलगायतका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने उद्योग वाणिज्य सङ्घ अर्घाखाँचीका कोषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठले बताए ।
नेवार समुदायका विभिन्न प्रचलित एवं ऐतिहासिक नाचमध्येको एक भैरव (भैरम) नाच यस समुदायभित्र मात्रै होइन अन्य समुदायका बीचमा पनि लोकप्रिय छ । भैरव नाच पश्चिम नेपालका अर्घाखाँची, पाल्पा, बाग्लुङ, दैलेखलगायतका क्षेत्रमा नाचिन्छ । यसको शैली भिन्नाभिन्नै छ । अर्घाखाँचीको भैरव नाँच गुल्मी, प्यूठान, पाल्पा, कपिलवस्तु, रुपन्देहीलगायतका क्षेत्रमा पनि लोकप्रिय छ । यसको विशिष्ट प्रकारको बाजाको ताल, नर्तकमा उजागर हुने एक किसिमको ऊर्जाले (अलौकिक शक्तिको अनुभूति प्रदान गर्छ । जसका कारण यसले अन्य समुदायका व्यक्तिलाई पनि मोहित पार्ने गरेको छ ।

थारु बस्तीमा सखिया नाचको रौनक
यतिबेला थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दसैँँको आगमनसँगै यो समुदायमा अबेर रातिसम्म मादल घन्किने गर्दछ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सीता चौधरी दिनभर काममा व्यस्त भए पनि राति अबेरसम्म सखिया नाचमा झुम्छन् ।
उनीलगायत गाउँका सबै मान्छे साँझ ८ बजे बडघरको आँगनमा जम्मा हुने गर्दछन् । त्यहाँ प्रत्येक साँझ सखिया नाच्छन् । “साझ खाना खाएर सबै जना बडघरको आँगनमा जम्मा भएर सखिया नाच्छौँ”, उनले भने, “सखिया नाच्ने अधबैंसे र तन्नेरी युवायुवती सबै हुन्छौँ ।” उनले दशैँ सुरुआत भएसँगै थारु समुदायमा सखिया नाचको रौनक छाउने गरेको बताए ।
“यो नाचमा गाउँका सबैले अनिवार्य उपस्थिति हुनुपर्छ नआउनेले जरिवाना तिर्नुपर्छ”, उनले भने, “सखिया नाच सुरु नभएसम्म गाउँमा दसैँँ आएको अनुभूति नै हुँदैन ।” उनले पहिलेको पुस्ताले दसैँँ आउनुभन्दा एक महिना अगाडिदेखि नै सखिया नाच्ने गरे पनि पछिल्लो समय यो नाच छोट्टिदै गएको बताए । 
“अहिले दसैँँसम्म मात्रै नाचिन्छ पहिलेको पुस्ताले एक महिनाअघिबाटै सखिया नाच्न सुरु गर्थे”, उनले भने, “हाम्रो सांस्कृतिक परम्परा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न जरुरी छ ।” 
थारु समुदायमा दसैँँमा सखिया नाचको विशेष महत्व हुने देवी चौधरी बताउँछन् । “सखिया नाच नभएपछि गाउँमा दसैँँ आएको हो कि होइन थाहा हुँदैन”, उनले भने, “थारू भाषामा सखीको अर्थ साथीसङ्गी हुन्छ, गाउँका सबै साथीसङ्गी मिली नाचिने भएकाले यसको नाम सखिया हुन गएको हो ।”
सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाइने स्थानीय लक्ष्मीरा चौधरीले बताए । उनका अनुसार सखिया नाच्ने युवतीले सेतो रङको फरिया र रातो रङको चोलिया लगाउने गर्छन् भने केटाले सेतो रङको धोती र रुचिअनुसारको रङको कमिज लगाउने गर्छन् । “गीत नसकिएसम्म नाच सकिँदैन यो धेरै लामो हुन्छ गीत सकिएपछि मात्र नाच सकिन्छ”, उनले भने, “गीत गाउनले चलन पछि छुट्टै छ सुरुआतमा गाउनुपर्ने गीत दोस्रो दिन वा अन्त्यमा गाउन मिल्दैन ।”
प्रायःपुरुषले मादल बजाउने र युवतीले नाच्ने प्रचलन यो समुदायमा रहिआएको छ । आउने पिंढीलाई आफ्नो संस्कृतिप्रति लगाव बढाउन पनि सखिया नाचमा युवापुस्ता सहभागी गराउने गरेको उनले बताए । 
“आफ्नो संस्कृतिको जगेर्नासँगै आपसी भाइचारा बढाउन पनि सखिया नाच नाच्ने गरिन्छ”, उनले भने, “हाम्रो समुदायमा दसैँँ धुमधामका साथ मनाउने गरिन्छ अन्य समुदायले दशमीका दिन जमरा लगाए पनि थारु समुदायले नवमीबाटै जमरा लगाउने चलन छ ।”
थारु समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन सुरु भए पनि दसैँँमा यसको रौनक छुट्टै हुने थारु अगुवा बताउँछन् । सखिया नाचमा गीतको भाका लामो भएकाले कुनैकुनै गाउँमा तिहारसम्म पनि सखिया नाच नाच्ने प्रचलन रहेको छ । दसैँँका बेला घरघरमा गएर सखिया नाच्ने प्रचलनले आपसी सम्बन्ध बलियो बनाउने र समुदायमा भाइचाराको सम्बन्ध स्थापीत हुने विश्वास यो समुदायमा रहेको छ ।–रासस 
 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार