रौतहटसहित मधेशमा चैती छठको समापन : उदाउँदो सूर्यलाई अघ्र्य दिँदै विसर्जन

बुधबार, चैत ११, २०८२

रौतहट । श्रद्धा, निष्ठा र लोक आस्थाको महापर्व चैती छठ बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य (भोरका अरघ) दिएसँगै विधिवत् रूपमा समापन भएको छ । रौतहटसहित सम्पूर्ण मधेश प्रदेशभरका जलाशयमा आज बिहान व्रतालुहरूले अँजुलिभरी जल र प्रसाद लिएर सूर्यदेवको आराधना गरेका छन् । गत आइतबार चैत शुक्ल चतुर्थीका दिन ुनहाय९खायु विधिबाट सुरु भएको यो महापर्व चार दिनसम्म चलेको थियो । मंगलबार षष्ठी तिथिका दिन व्रतालुहरूले दिनभर निराहार उपवास बसी साँझपख अस्ताउँदो सूर्यलाई ‘सँझिया अरघ’ अर्पण गरेका थिए । पर्वको अवसरमा रौतहटका बागमती र लाल बकैया नदी किनारका साथै स्थानीय पोखरी र नहरका घाटहरूलाई सिँगारिएको थियो । सन्तान प्राप्ति, चर्म रोगबाट मुक्ति र पारिवारिक सुख-समृद्धिको कामना गर्दै मनाइने यस पर्वले गर्दा मधेशका गाउँदेखि सहरसम्मको वातावरण पूर्ण रूपमा भक्तिमय बनेको छ । यस महापर्वमा सूर्यदेव र षष्ठी देवी (छठी माइ’को उपासनाका लागि ठेकुवा, भुसवा जस्ता पकवानका साथै केरा, उखु, सुन्तला, बेसारको बोट, मूला र सुथनी जस्ता स्थानीय कृषि उपजलाई प्रसादको रूपमा चढाइन्छ । बुधबार बिहानको अघ्र्य सकिए लगत्तै व्रतालुहरूले पारण गरी परिवार, आफन्त र छरछिमेकलाई प्रसाद वितरण गरेका छन् । वर्षमा दुई पटक (कात्तिक र चैत) मनाइने छठ मधेशको लोक संस्कृतिको अभिन्न अंग हो । सामान्यतया कात्तिकको तुलनामा चैती छठ मनाउनेहरूको संख्या केही कम हुने भए पनि पछिल्ला वर्षहरूमा यसप्रति जनसहभागिता र श्रद्धा उल्लेखनीय रूपमा बढ्दै गएको स्थानीयहरू बताउँछन् ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार