एमाले उपमहासचिव ज्ञवालीले युरोपेली सांसदहरुलाई भने, 'एमाले एकात्मक प्रणालीमा विश्वास गर्दैन' 

शुक्रबार, असोज ७, २०७९

काठमाडौं ।  नेपाल भ्रमणमा रहेको युरोपेली युनियनको संसदीय प्रतिनिधिमण्डलले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेको छ । 

युरोपेली संसदकी उपसभापति इभलेन रेगनरको नेतृत्वमा आएको ६ सदस्यीय संसदीय प्रतिनिधिमण्डलले संसद भवन नयाँ बानेश्वरमा ज्ञवालीसँग भेटवार्ता गरेको हो । 

भेटमा युरोपेली संघले नेपाललाई गर्दै आएको विकास साझेदारी, नेपालको वर्तमान अवस्था, आगामी मंसिर ४ मा हुने निर्वाचन, स्थानीय तहको निर्वाचन लगायतको विषयमा छलफल केन्द्रित भएको छलफलमा सहभागी एमाले परराष्ट्र मामिला विभागका सचिव अञ्जान शाक्यले जानकारी दिइन् । 

‘एमाले एकात्मक प्रणालीमा विश्वास गर्दैन,’ छलफलमा ज्ञवालीको भनाई उद्वृत गर्दै शाक्यले भनिन्, ‘जनताको बहुदलीय जनवादमा विश्वास गर्ने भएकाले हाम्रो नीति प्रगतिशील छ ।’

पिछडिएको वर्ग, सीमान्तकृत समुदाय प्राथमिकतामा राखेर एमाले अघि बढिरहेको जानकारी ज्ञवालीले दिएका थिए । 

‘निजी क्षेत्र र सहकारीलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो नीति छ । मुलुकलाई स्थायित्व दिने हो भने सबैभन्दा पहिला अर्थतन्त्र बलियो बनाउन जरूरी छ । हामी त्यो कुरालाई ध्यानमा राखेर अघि बढेका छौँ । अर्थतन्त्र उक्सियो भने मात्रै प्रजातन्त्र बलियो हुन्छ,’ उपमहासचिव ज्ञवालीले भने । 

उपमहासचिव ज्ञवालीले एमाले सन्तुलित विदेश नीतिको पक्षमा रहेको वताएका थिए । 

छलफलमा एव्लीनले नेपालसँगको सहयोग साझेदारीलाई अझ विस्तार गर्दै लैजाने कुरामा सकारात्मक रहेको बताएकी थिइन् । 

‘नेपालको विकास र समृद्धिका लागि हामी निरन्तर सहयोग गर्न तयार छौँ । प्रजातन्त्रको स्थायित्वका लागि पनि प्रभावकारी सहयोग गर्न तयार छौँ । हामी नेपाल दिगो विकासको लक्ष्यमा पुगेको देख्न चाहन्छौँ,’ उनले भनिन् । 

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार