कञ्चनपुरमा बाढीले पाक्नै लागेको धान खेती नष्ट, किसान चिन्तित

मंगलबार, असोज ४, २०७९

वेदकोट । कञ्चनपुरमा शुक्रबार रातिको अविरल वर्षापछि आएको बाढीले खेती नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । धानमा बाला लागेर पाक्नै बेलामा बाढीले क्षति पु¥याएपछि किसान निराश बनेका हुन् । 

लालझाडी गाउँपालिका–३ नन्द गाउँका लोकबहादुर बडायकले पाँच बिघा खेतमा धान खेती गर्नुभएको थियो । शुक्रबार रातिदेखि अविरल वर्षापछि दोदा नदीमा आएको बाढीले उहाँको धान खेतीमा क्षति पुर्‍यायो ।

खेतको बालीमा मात्रै होइन बडायकको घरभित्र भण्डारण गरेको अन्न पनि बगाएको छ । “आफ्नै पाँच बिघा जमीनमा धान लगाएको थिएँ, नदीले ल्याएको बालुवाले सबै पुरिदिएको छ”, उनले भने, “धान सबै ढलाएको छ, त्यति मात्रै होइन घरभित्रको अन्नपातसमेत बाढीले भिजाएको छ ।”
बाढीले छ महिनाको मेहनतको फल धानको बाला टुसाउँदै गर्दा खेतमै नष्ट गरिदिएको उनको गुनासो छ । “धानको बाला लागिरहेका थिए, केही ठाउँका त पाकेर दसैँतिर काट्ने भइहाल्थे”, उनले भने, “तर बाढीले सबै सखाप पारेको छ, खेतमै बालुवाले च्यापेर ढलेका छन् ।” 

उनलाई अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ । “११ जनाको परिवार छ, वर्षभरि खाने घरभित्र र खेतको अन्नबाली सबै सत्यानाश भएपछि अब के गर्ने ?”, उनले प्रश्न गरे । 
गत वर्षको बाढीले पनि धान खेतीमा क्षति गर्दा भित्र्याउन नपाएको उनले सुनाए । 
“गत वर्ष पनि खेती भित्र्याउन पाएनौँ, यसपटक पनि यस्तै भयो”, उनले भने, “घरभित्र बाढीले बालुवा थुपारेर बस्न सकिएको छैन, त्रिपाल टाँगेर बसेका छौँ ।”
लालझाडी गाउँपालिकाको छ वटै वडामा बाढीले खेतीपातीमा ठूलो क्षति पुर्‍याएको कृषि शाखाप्रमुख हजमिला लावडले बताए । 
“बाढीले धान, उखु, बदाम, सखरखण्डलगायतमा ठूलो क्षति पुर्‍याएको छ, हामी क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”, उनले भने, “पालिकाको आधा खेतीमा क्षति पु¥याएको अनुमान छ ।”
वर्षदिनभरि खाने अन्न माटोमै मिसिएपछि शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका हरिकृष्ण भट्ट पनि परिवार कसरी पाल्ने भनेर चिन्तित छन् । 
उनले भने, “वर्षभरि खाने धान खेतमै बालुवाले ढाकेको छ, अब कसरी परिवार पाल्ने, अनिकाल लाग्ने भयो ।”

एकान्त टोलमा १५ कठ्ठा जग्गामा लगाएको धान खेतीमा वनहरा नदीको बाढीले क्षति पु¥याएको उनले बताए । 
“धानसँगै बदाम, मास र तिल पनि बाढीले ल्याएको बालुवाले पुरियो, २०६४ सालयता यस्तो बाढी हामीले कहिल्यै देखेनौँ”, उनले भने । 
दोदा, वनहरा, स्यालीलगायत नदीको बाढीले कञ्चनपुरको पुनर्वास, शुक्लाफाँटा, बेलौरी, लालझाडी, कृष्णपुर क्षेत्रको तटीय क्षेत्रमा बालीनालीमा क्षति पु¥याएको कृषि ज्ञानकेन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर बिष्टले बताए ।

“बालुवाले पुरेको बाली उठ्न समस्या छ, अरू त बिस्तारै पानी कम हुँदै गएपछि उठ्न सक्ला”, उनले भने, “बाढीले खेतीमा क्षति गरेको प्रारम्भिक जानकारी छ, के कति क्षति भन्ने यकिन विवरण आएको छैन ।” आफूहरू पनि बाढी प्रभावित क्षेत्रको अनुगमनमा गएकाले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्न सक्ने उहाँले बताए । 

बाढीपहिराबाट ज्यान गुमाएकालाई जनही एक लाख दिने निर्णय 

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिराबाट ज्यान गुमाएका परिवारलाई जनही रु एक लाख दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज बसेको प्रदेश विपत् कार्य समितिको बैठकले मृतकका परिवारलाई रु एक लाख र  प्रतिव्यक्ति रु २० हजार थप क्रिया खर्च उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले जानकारी दिए । बैठकले घर पूर्ण रूपमा क्षति भएका परिवारलाई जनही रु ५० हजार क्षतिपूर्ति दिने निर्णय गरेको  छ ।
पछिल्लो समयमा डेङ्गुको समेत प्रकोप बढेकाले यसको नियन्त्रणका लागि झूल रु १० लाखको खरिद गरी वितरण गरिने छ । त्यस्तै विपत्बाट पीडित परिवारलाई त्रिपाल र म्याट रु १०-१० लाखको खरिद गरी वितरण गर्ने निर्णय भएको छ ।
त्यसैगरी बाढी र पहिराबाट विस्थापित भएका घरपरिवारलाई जिल्ला प्रशासन कार्यालयबाट प्राप्त प्रारम्भिक द्रुत लेखापरीक्षणमा आधारित भई प्रतिपरिवार रु दुई हजारका दरले खाद्यान्नबापत रकम वितरण गर्न विभिन्न स्थानीय तहलाई रु एक करोड उपलब्ध गराउन स्वीकृतिका लागि प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ को दफा ११ को उपदफा (२)  बमोजिम प्रदेश विपद् व्यवस्थापन परिषद्मा पेस गरिने मन्त्री रावलले बताए ।
विपद्का कारण जनजीवन विच्छेद भएका स्थानमा राहत सामग्री पुर्‍याउन सङ्घीय सरकारसँग समन्वय गरी आवश्यक ढुवानीको व्यवस्था गरिने छ । जिल्ला विपद् व्यवस्थापन समिति अछाम, कैलाली, र कञ्चनपुरबाट माग भएबमोजिमको बाढी, पहिरो पीडित÷प्रभावितहरूलाई राहत सामग्री यथाशीघ्र उपलब्ध गराउने निर्णय गरिएको जनाइएको छ ।
गत शुक्रबार आएको बाढीपहिरामा परी अछाम जिल्लामा २२ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएको आन्तरिक मामिला तथा  कानुन मन्त्रालयका उपसचिव विश्वदीप बेस्राले बताए । कैलालीमा तीन र कञ्चनपुरमा दुईजनाको मृत्यु भएको थियो । 
त्यस्तै बाढी र पहिरामा परी कैलालीमा पाँच हजार ७८, कञ्चनपुरमा चार सय २० र अछाममा एक सय ११ परिवार विस्थापित भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।–रासस 

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  ०४:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार