सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संघीय सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरेपछि उक्त विषय यतिबेला चर्चामा छ । नियुक्तिको विषयबारे पक्ष–विपक्षमा बहस चर्किएको छ । लुम्बिनी बचाउ महाअभियानलगायतका केही संघ संस्थाहरुले आनी छोइङ डोल्माको सम्पत्ति र नागरिकताको विषय उठाएर अनुचित व्यक्तिलाई नियुक्ति गरिएको भन्दै विरोध जनाइरहेका छन् । तर कतिपय प्रतिष्ठित र विज्ञ व्यक्तिहरुले छोइङ डोल्मालाई उपयुक्त स्थानमा अवसर दिइएको भन्दै बधाइ दिइरहेका छन् । आनी छोइङ डोल्माका विषयमा सामाजिक संजाल र सार्वजनिक मन्चहरुमा आलोचना चर्किएपछि नेपाल न्यूज बैंकले उनीसँग प्रतिक्रिया लिएको छ । आफ्नो निजी मामलाका बारेमा आइरहेका प्रतिक्रियाहरुबारे आफू विचलित नभएको उनले बताइन । ‘म सत्कर्ममा विश्वास गर्छु । कहिलेकाहिं यस्ता अफ्ठयाराहरु आइपर्छन । भगवान वुद्धलाई पनि उक्त स्थानमा अवसर दिएको खण्डमा आलोचना हुन्थ्यो होला, हाम्रो समाज नै त्यस्तै छ । कतिपय व्यक्तिहरु कतैबाट परिचालित भएर लागिरहेका छन कि जस्तो लाग्छ । मेरा विषयमा जेजस्तो टिप्पणीहरु भइरहेको छ, त्यसबारे एक एक गरेर जवाफ दिन सकिदैन, जे छ भोग्दै जाने हो, बुझ्नेले बुझ्नु भएकै छ तर म विचलित भएको छैन । सरकारले गरेको विश्वासप्रति आभारी छु,’ उनले भनिन्, ‘सम्पत्ति शुद्धिकरणको विषय सन् २०१८ को अन्त्यतिर नै क्लियर भएको हो । सरकारले पनि मेरोबारेमा राम्रोसँग बुझेरै विश्वास गरेको होला । मैले सरकारलाई भेटेर नियुक्ति पाउनुपरो भनेर निवेदन दिएको होइन, कसैलाई भनेको पनि छैन तर विश्वास गर्नुभएको छ । यो त मेरो सत्कर्मको फल होला नि ।’ सम्पत्ति शुद्धिकरणको विषय आइसकेपछि कर्मचारीतन्त्रबाट आफूले धेरै दुःख पाएको उनले सुनाइन । ‘ब्यूरोक्रेसीबाट त्यसबेला धेरै दुःख पाएँ । घुसखोरी र कमीसनको खेल धेरै नै चल्ने गरेको थियो त्यसबेला, त्यसको शिकार भएँ । सोझो बाटोबाट अर्थात बैंकबाटै आएको पैसाको विषयलाई लिएर हैरानी दिइयो । गलत बाटोबाट आएको भए अपराधिकरण गर्नमिल्थ्यो होला तर लिगल च्यानलबाट पैसा आउँदा अनावश्यक हैरानी दिने काम भएको थियो । त्यो विषय त्यसैबेला टुंगिसकेको हो,’ उनले अगाडि भनिन्, ‘त्यसबेला हङकङको बैंकबाट नेपालको बैंकमै आएको पैसा हो । कुनै गलत बाटोबाट आएकै होइन । हङकङ खराब सूचिमा सुचिकृत भएको देश पनि होइन । नेपाल सरकारको पनि आफ्नो प्रक्रिया र कानुनी बाटो समातेर नै काम गर्नुभएको होला, मैले गलत गरेको भए कहाँ छाड्थ्यो होला त, नियम पुर्याएकै थिएँ तर दुःख दिने नियतले कमीसन माग्ने काम भएको थियो । मैंले नियमसंगत ढंगबाट पार लगाएँ ।’
धेरै काम गर्न सकिन्छ
आफू डाँडामा बसेर आनन्दको जीवन जिउने सोचिरहेकाबेला सरकारले एउटा पवित्र संस्थालाई अझै राम्रो गर्नुपर्यो भनेर आफूलाई अवसर दिएको उल्लेख गर्दै सरकारप्रति सम्मान रहेको प्रतिक्रिया दिइन् । ‘म पद माग्दै सरकारकहाँ गएको होइन । निवेदन दिएको पनि होइन । तर तपाईंले जिम्मेवारी लिइदिनुपर्यो भन्दा स्वीकारेको हुँ, उहाँहरुको त्यो चोखो नियतलाई सम्मान गरेको हुँ,’ उनले स्पष्ट पारिन् । विगतमा लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्नका लागि ठूलो पैसाको चलखेल हुने गरेको आफूले सुन्दै आएको बताएकी उनले पैसाका नाममा संस्थालाई बदनाम गर्न नहुने पनि बताइन् । ‘मेरो योजना डाँडामा कुटी बनाएर आनन्दको जीवन विताउने थियो । तर विश्वास गरेर सम्मानजनक पदमा अवसर दिनुभएको छ । विश्वास गर्नुभएको छ, त्यसलाई मैंले अपमान वा अस्वीकार गर्न कसरी मिल्ला र ? मैंले पनि त्यहाँ बसेर काम गर्दा विश्वभरका बौद्धमार्गीहरुलाई भेट्ने वा बुद्ध जन्मिएको देशलाई केही गर्न पाउँछु भन्ने लागेको हो,’ उनले भनिन् । विश्वमा लुम्बिनी एउटै मात्र रहेकाले उक्त ठाउँलाई पवित्र उद्देश्य र राम्रो योजनाका साथ धेरै काम गर्न सकिने पनि उनले औंल्याइन् । ‘स्वार्थी र लालच भएका व्यक्तिहरुको खराब नियतका कारण संस्थालाई बदनाम गराइयो । नयाँ सरकारको नयाँ रणनीतिले कतिपयको प्लान फेल भयो होला । विगतमा गरिएका गलत व्यक्ति नियुक्तिले संस्थाले काम गर्न सकेन होला, गलत दस्तावेजहरुलाई मिल्काएर अब धेरै कामहरु गर्नुपर्नेछ । विगतमा भएका खराब र गलत दस्तावेजहरु बाहिर ल्याउँछ भनेर पनि धेरैलाई डर लागेको हुनसक्ने र हालको नियुक्तिलाई विवादमा ल्याएको हुनसक्छ । तर म विचलित भएकै छैन, निराश भएको पनि छैन,’ उनले भनिन् । आफू कोषको जिम्मेवारी सम्हालेपछि गलत काम नगर्ने र विगतमा गलत नियतका साथ भएका कामहरु सार्वजनिक गर्ने भन्दै उनले अगाडि भनिन्,‘जिन्दगीमा मैंले पैसा अरुलाई दिनेबाहेक लिने गरेको छैन् । राम्रो काम हुनलाग्दा केही व्यक्तिहरु सक्रिय भएका छन्, ति सिमितको संख्यामा छन् । मलाई केही फरक पर्दैन ।’
नागरिकताको विषय र जिम्मेवारी
नागरिकताको विषयमा पनि आनी छोइङ डोल्माले स्पष्ट पारिन् । आफू नेपालमा जन्मिएको ५५ बर्षपछि यस्तो विषय उठाउनु जायज नभएको उनको तर्क छ । ‘अरे म यो देशमा जन्मेको ५५ वर्ष भयो । यो विषय पनि उठाउने कुरा हो र ? सोध्नेहरुले पनि के सोधिरहेका छन्, अचम्ममा परेको छु । मनमा जे आयो सोधेर हुन्छ र ? मिडियाले पनि सम्बन्धित निकायमा गएर खोजतलास गरेर लेख्नुपर्यो नि । यस्ता कुराहरुको पछि लाग्यो भने मान्छे बौंलाउँछ । अनि नचाहिने पाप कर्ममा बेसी डराइन्छ । म भाग्यमानी मान्छे हुँ, गुरुको आशिर्वाद छ, सत्कर्ममा लागिरहेको छु, होइन र ?’ उनले अगाडि भनिन्,‘सत्कर्ममा वा धर्म कर्ममा लाग्दा केही राक्षसहरु वा भूतहरु अलिकति छटपटिन्छन नि यतिबेला त्यस्तै भइरहेजस्तो लाग्छ ।’ कोषको उपाध्यक्ष पद आफ्नो ठूलो जिम्मेवारी भएको उल्लेख गर्दै उक्त जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाइन् । ‘म यतिबेला धेरै डराएको छु किनभने त्यो जिम्मेवारी मलाई आइपरेको छ । पूरा गर्नुपर्ने वाध्यता छ, त्यो सक्दिन कि भनेर डराएको छु, अरु केहीको डर छैन । जिम्मेवारी कसरी पूरा गर्ने भनेर सोचिरहेको छु । तर यतिकुरा स्पष्ट पार्न चाहन्छु–बुद्धको सेवा गर्ने ठूलो अवसर पाएको छु, टाउकोले टेकेर पूरा गर्छु । जस्तासुकै बिघ्न आओस् बेमतलबका साथ म मेरो आफ्नो धर्म निर्वाह गर्छु,’ उनले स्पष्ट पारिन् ।
डराएर धेरैले हो–हल्ला गरे
लुम्बिनी विकास कोषमा विगतका जिम्मेवार व्यक्तिहरुले धेरै बेथिति भित्राएकाले उनीहरु अतालिएको र डराएको उनको भनाइ छ । ‘त्यहाँ पूराना बेथितिहरु धेरै छन् । जसले बेथिति भित्र्याए उनीहरु नै डराएर हो–हल्ला गरिरहेका छन् । पैसा खर्च गरेर मेरा विरुद्धमा धेरैलाई परिचालित गरिएको छ जस्तो बुझिरहेको छु, यस्तै सुनिरहेको छु । प्रशस्त पैसा खर्च गरेर मान्छेहरु परिचालित गरिएको सुनेको छु । पूराना कर्तुतहरु सार्वजनिक हुनेमा धेरै व्यक्तिहरु डराएका छन् । अर्को कुरा बालेन सरकारविरुद्ध पनि राजनीतिक गतिविधि भएको हो कि भन्ने लागिरहेको छ,’ उनले भनिन्,‘अरुले यसरी हिलो छाप्यो भन्दैमा मुलुकलाई दुषित हुन वा फोहोर हुन दिनु हुँदैन् । मेरो कर्मले मलाई सफा कि फोहोर पार्ने भन्ने मेरो कर्ममा भर पर्छ ।’ मिडियाहरुले पनि बुद्धि विवेक र क्रसचेक गरेर समाचार सामग्री तयार गर्नुपर्ने औंल्याउँदै उनले पैसाको पछाडि दौडिन नहुने तर्क राखिन । ‘म मेरो विषयमा वा पक्षमा लेखिदिनुहोस कसैलाई भन्दिन । तर वास्तविकता र विवेक प्रयोग गरेर लेख्न आग्रह गर्छु । तर पैसा पाएर लेख्दै हुनुहुन्छ भनेर दशैं राम्रोसँग मनाउनुहोला तर पत्रकारिताको धर्म र आचार संहिता नबिर्सिनुहोला । भोलि पाप कर्मको फल त आफैले भोग्ने हो । म तुरुन्तै मिडियामा बोल्ने बोल्ने पक्षमा छैन, समय आएपछि बोल्नुपर्ला । बोल्यो भने आफ्नो बचाउमा बोल्यो भन्लान । पदभार ग्रहण गर्नुअघि राम्रोसँग योजना बनाएर वा हिसाबकिताब गरेर बोल्नुपर्ला,’ उनले भनिन् । विगतमा भएका गल्तीहरुको भार आफू भोग्न तयार नभएको उल्लेख गर्दै योजनाबद्ध रुपमा काम गर्न आफू तयार रहेको उनले स्पष्ट पारिन् । ‘एकदमै राम्रो प्लेटफर्म हो । धेरै काम गर्न सकिने ठाउँ हो । म एक बुद्धको अनुयायी भएकाले पनि भगवान बुद्धको सेवा गर्ने मौका पाएको छु । भगवान बुद्ध जस्तै सेवा गर्ने मौका पाउनु मेरो सौभाग्य हो । विगतमा विग्रिएको कोषको छविलाई शुद्ध पार्ने मेरो कर्तब्य हो । संसारबाट आएर भगवान बुद्धको पाउमा एकसाथ झुकेर नमन गर्ने एक पवित्र स्थल बनाउनु मेरो दायित्व हो । मेरो सपना र धोको त्यही हो। त्यो टाउको टेकेर भएपनि पूरा गर्नुपर्नेछ । चुनौती मोलेर काम गर्नुपर्ने छ । जिन्दगीको यो अन्तिम चुनौति हुनसक्छ । र पाँच बर्ष निर्धक्क सेवा गर्छु,’ उनले प्रतिवद्धता जनाइन् । तर आनी छोइङले आफ्ना योजनाहरु सुनाइरहँदा लुम्बिनी बचाउ महाअभियानका सह–संयोजक राम विकास चौधरी विगतमा भएका सम्झौताविपरित नियुक्ति भएकोमा भोलि शुक्रबार विरोध सभाको तयारी गरिरहेको सुनाउँछन् । ‘उहाँको नियुक्ति सरासर गलत छ । सत्तारुढ दलकै सांसदहरु पनि असन्तुष्ट हुनुहुन्छ,’ उनले भने,‘नियुक्तिका विषयमा आजपनि कार्यक्रम छ, भोलि बृहत सभाको तयारी गरिरहेका छौं ।’ उनले आनी छोइङको नियुक्तिले गलत नजिर स्थापित गर्ने र कोषको विकास हुन नसक्ने जिकिर गरे ।