सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । झण्डै झण्डै विभाजनको मुखमा पुगेको नेकपा एमालेको संस्थापन पक्ष र कारवाहीमा परेको समूहबीच आज दिनभर जसो पार्टी एकताका लागि छलफल भएको छ । बिहान माधव नेपाल समूहका योगेशकुमार भट्टराईले बालुवाटारमा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट गरे भने साँझ अध्यक्ष अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । उनीहरूबीच पार्टीभित्र देखिएका अन्तरसंघर्ष व्यवस्थापन गर्ने सम्बन्धमा गम्भीर विचार विमर्श शुरु भएको बताइएको छ । गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उनीहरूबीच संवाद भएको थिएन । स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरेपछि ओली–नेपालको वार्ताको वातावरण बनेको हो । भट्टराईले पार्टीभित्रको विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गरेका थिए । बुधबार साँझ झण्डै २ घण्टा ओली र नेपालबीच नक्सालस्थित होटल मेरियटमा छलफल भएको हो । प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले दुवै नेताबीच सकारात्मक वार्ता भएको प्रतिक्रिया दिएका छन् । ‘दुवैजना प्रफुल्ल मुद्रामा निस्किनुभयो’ दुगडले भने । सरकारको नेतृत्व गरिरहेको एमालेभित्रको विवाद उत्कर्षमा पुगेको बेला ओली र नेपालबीच भेट भएको हो । दुबै नेताले भेटबारे प्रतिक्रिया दिएका छैनन् । यो भेट पूर्वनिर्धारित पनि थिएन । आकस्मिक रुपमा तय भएको हो । नेपाल समूहका नेता योगेश भट्टराई बुधबार विहान बालुवाटार पुगेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेटेका थिए । उनले पार्टी एकता जोगाउनुपर्ने भन्दै विगतका तितामिठा बिर्सिएर अग्रसता लिन ओलीलाई आग्रह गरेका थिए । सम्वादकै क्रममा अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई टेलिफोन गरेको बताइएको छ । त्यही सम्वादका क्रममा मेरियटको भेट तय भएको हो । भेटका लागि चाँजोपाजो मिलाउन अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगड पुगेका थिए । अध्यक्ष ओली र नेता नेपाल होटल परिसरबाट बाहिरिएपछि दुगड पनि त्यही भेटिएका थिए । भेटघाटको चाँजोपाँचो तपाईंले मिलाउनुभएको हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘भगवान, भगवान । म त बाइ द वे आएको हुँ ।’ दुई ठूला नेता मिलेमा देशका लागि राम्रो हुन्छ भन्दै उनले भने, ‘दुई जना निस्किँदा खुसी मुद्रामा निस्किएको तपाईंले पनि हेर्नुभयो । संकेत राम्रै देखेको छु ।’