सोसल मिडिया
Contact Us
युनिकोड
भरतपुर । चितवनमा दुई बाल मजदुरको उद्धार गरिएको छ । इच्छाकामना गाउँपालिका–५ मुग्लिन बजारमा रहेको धौलागिरि थकाली होटलबाट दुई बाल मजदुरको उद्धार गरिएको हो । घरबाट भागेर आइ मुग्लिनको होटलमा एक महिनादेखि बाल मजदुरको रुपमा काम गरिरहेका १४ वर्षमुनिका उनीहरुलाई प्रहरी, गाउँपालिकाका जनप्रतिनिधि र होटल व्यवसायी सङ्घका प्रतिनिधिले उद्धार गरेका थिए । पाल्पा जिल्लाका उनीहरु कक्षा ९ मा पढ्दा पढ्दै आएका थिए । बालकलाई शुक्रबार नै परिवारको जिम्मा लगाइएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए। राजमार्ग क्षेत्रका अन्य होटलमा पनि बालमजदुर हुनसक्ने भएकाले अनुगमन अघि बढाइने उक्त गाउँपालिकाको उपाध्यक्ष माया सिलवालले बताइन् । उनले भनिन्, “अन्य होटललाई पनि कडाइका साथ निर्देशन दिएका छौँ, अनुगमनमा जाँँदा बालमजदुर फेला परे होटल सञ्चालकलाई कारबाही गर्छौं ।” कानुनअनुसार १८ वर्षभन्दामुनिका बालबालिकालाई कुनै पनि काममा लगाउनु दण्डनीय भएकाले यस्तो नगर्न उपाध्यक्ष सिलवालले सबै व्यवसायीलाई आग्रह गरिन् ।
अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण
इच्छाकामना गाउँपालिकाले शारीरिक अपाङ्गता भएका १५ व्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ । शुक्रबार कुरिनटारमा आयोजित एक कार्यक्रममा उक्त गाउँपालिकाको उपाध्यक्ष माया सिलवालले उनीहरुलाई सहायता सामग्री वितरण गरिन् । शारीरिकरुपमा अपाङ्गता भएका व्यक्तिको दैनिक जीवनयापनलाई सहज बनाउनका लागि ती सामग्री वितरण गरिएको उनले जानकारी दिए । “पहिलो चरणमा करिब रु पाँच लाखको सहायता सामग्री खरिद गरेर वितरण गरेका छौँ”, उपाध्यक्ष सिलवालले भनिन्, “आवश्यकता परे थप बजेट व्यवस्था गरेर गाउँपालिकाभित्रका सबै अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गर्नेछौँ”, सहायता सामग्रीमा कम्बोड टर्वाइलेट कुर्ची, वैशाखी, इलेक्ट्रिक म्याट, ह्विल चियरलगायत सामग्री छन् ।
भारतबाट उद्धार गरिएका १६ बालक अभिभावकको जिम्मामा
नुवाकोटको किस्पाङ गुम्बाबाट अवैधरुपमा भारत पु¥याइएका १६ बालकलाई नेपाल फर्काएर शुक्रबार अभिभावकको जिम्मा लगाइएको छ । गत भदौ ७ गते नेपालबाट अवैधरुपमा भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एशोसिएशन नामक गुम्बामा लामा अध्ययन गराउन भनेर लैजाने क्रममा उत्तर प्रदेशको बस्ती भन्ने स्थानबाट गत भदौ ८ गते उद्धार गरिएका ती बालकलाई नुवाकोट ल्याइएको थियो । नुवाकोट घर भएका दश र रसुवा घर भएका पाँच बालकलाई नुवाकोट जिल्ला प्रहरी कार्यालयको रोहवरमा उद्धार गरेर ल्याउने संस्था शान्ति पुनः स्थापनागृहले अभिभावकलाई बुझाएको छ । कैलाली घर भएका एक बालकको अभिभावक ललितपुर बस्ने भएकाले सोही स्थानमा नै लगेर जिम्मा लगाइएको शान्ति पुनः स्थापना गृहको नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए । उनका अनुसार तीनसाता अघि भारतमा उद्धार गरिएका ती बालकलाई नेपाल प्रहरी र भारतीय राजदूतावासको सहयोगमा कर्नाटकबाट नेपाल फर्काइएको थियो । सामाजिक संस्थासँगको सहकार्यमा उद्धार गरिएका बालकको अभिभावकलाई बोलाएर घर पठाइएको प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । उनका अनुसार गुम्बामा लामा अध्ययन गराउने भनेर लैजान लागेका बालक अलपत्र परेको खबर प्राप्त भएपछि उनीहरुलाई लैजाने किस्पाङ गुम्बाका प्रतिनिधि र अभिभावकबाट विवरण लिएर बालकलाई सामाजिक संस्थामार्फत उद्धार गरी घर फर्काइको हो । “गुम्बामा प्राथमिकतहदेखि पिएचडीसम्मको लामा अध्ययनका लागि भनेर अवैधरुपमा लैजान लागेको जानकारी पाएलगत्तै उद्धार गर्न केन्द्रित भयौँ ।” प्रहरी प्रमुख पण्डितले भने, “उनीहरुलाई लैजान कानुनी प्रक्रिया पूरा नगरेको तथा लैजाने उद्देश्य खुल्न नसकेकाले मानव बेचबिखन तथा ओसारपसारलगायत अपराधसमेत आकर्षित हुनेसक्ने हुँदा सोही बमोजिम अनुसन्धान अघि बढाइने छ ।” मानव बेचबिखन तथा ओसारपसार अभियोगको हदम्याद नहुने भएकाले बालकलाई पठाउने अभिभावक, विभिन्न स्थानबाट सङ्कलन गरेर लैजाने किस्पाङ गुम्बा र सम्लग्न व्यक्तिको सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनीहरुलाई लैजान नुवाकोट र रसुवाका वडा कार्यालयले क्षेत्राधिकारभन्दा बाहिर हुने गरेर सिफारिस गरेको पत्रसमेत पाइएको छ भने यसअघि पनि भारतको गुम्बामा किस्पाङ गुम्बाबाट ठूलो सङ्ख्यामा बालक लामा अध्ययनको लागि भनेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
बाल सहभागिता सम्मान तिलोत्तमलाई
बाल सहभागिता सम्मान यस वर्ष अधिकारकर्मी तिलोत्तम पौडेललाई प्रदान गरिएको छ । बाल सहभागितामा कार्यरत संस्थाको साझा समूह (कन्र्सोटियम) नेपालले हरेक वर्ष प्रदान गर्दै आएको छ बाल्यकालदेखि बालअधिकार र बाल सहभागिताका क्षेत्रमा क्रियाशील बालमैत्री अभियन्ता पौडेललाई सञ्जालको सो संस्थाको वार्षिक साधारणसभा तथा बाल दिवसको अवसरमा शुक्रबार उक्त सम्मान राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रदान गरेका थिए । विसं २०५५ माघ ४ गते १७ वर्षको उमेरमा संयुक्त राष्ट्रसङ्घको बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिअनुसार नागरिकताबिना बाल संस्थाको कानुनी मान्यताको माग गर्दै पौडेलले सर्वोच्च अदालतमा नवलपरासीको जागृति बाल क्लबका तर्फबाट रिट दायर गरेका थिए । उक्त रिटमाथि २०५८ साउन २५ गते बाल संस्थाको कानुनी मान्यताको पक्षमा फैसला भएपछि नेपालमा बाल क्लब गठन हुने क्रम बढेका थिए । कन्र्सोटियमका अध्यक्ष मोहन दङ्गालले बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, संवैधानिक, कानुनी, नीतिगत, संरचनागत र कार्यक्रमिक व्यवस्था हुन थालेको स्मरण गर्दै पौडेललाई सम्मान गरिएको बताए । पौडेल हाल जागृति बाल तथा युवा सरोकार नेपाल र सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको अध्यक्ष तथा राष्ट्रिय युवा परिषद्को कार्यकारी सदस्यको रुपमा सामाजिक क्षेत्रमा क्रियाशील छन्।