सोसल मिडिया
Contact Us
युनिकोड
मिनियापोलिस । संयुक्त राज्य अमेरिकाको मिनियापोलिसका पूर्वप्रहरी अधिकृत डेरेक चौभिनलाई अफ्रिकी–अमेरिकी मूलका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गरेको छ । झण्डै तीन सातादेखि अदालतमा चलिरहेको बहसलाई विश्वका सबैजसो प्रमुख समाचारमाध्यमले प्रमुखताका साथ प्रकाशन प्रशारण गरेका थिए । डेरेकले अश्वेत नागरिक फ्लोएडलाई पक्राउ गरेपछि भुइँमा लडाएर घुँडाले घाँटी थिचेपछि उनको मृत्यु भएको थियो । मिनियापोलिसको अदालतले उक्त फैसला सुनाएलगत्तै अदालत बाहिर भेला भएका फ्लोएडका ठूलो संख्याका समर्थकले खुशी साटासाट गरेका थिए । जमानतमा रिहा भएका चौभिनलाई फैसला सुनाउनुअघि हत्कडी लगाएर अदालतमा उपस्थित गराइएको थियो । हेन्नेपिन काउन्टीका न्यायाधीश पिटर केहिलले फैसलाको पाठ सुनाउँदै उक्त फैसला सर्वसम्मत रहेको जानकारी दिएका थिए । अदालतको जुरीमा सातजना महिला र पाँच जना पुरुष रहेका थिए । अदालतको आदेशमा गम्भीर अपराध गरेको भन्दै चौभिनलाई ४० वर्ष जेल सजाय हुने उल्लेख छ । मिनियापोलिस प्रहरीमा १९ वर्ष बिताएका चौभिनले फ्लोएडलाई नौ मिनेटभन्दा बढी घाँटीमा घुँडाले थिचेको भिडियो सार्वजनिक भएको थियो जसमा फ्लोएडले पटकपटक ‘म सास फेर्न सकिरहेको छैन’ भन्ने सुनिएको थियो । छयालीस वर्षीय फ्लोएडको मे २५, २०२० का दिन हत्या भएको थियो । फ्लोएडमाथि एउटा पसलमा २० डलरको नक्कली नोट दिएको आरोप छ । तर उक्त घटनालाई जातीय विभेद र प्रहरीको क्रुरताको रुपमा व्याख्या गर्दै अमेरिका र विश्वका अन्य कतिपय मुलुकमा विरोध प्रदर्शन भएका थिए । फैसला आउनुअघि अमेरिकी शहरमा हिंसा भड्किने खतरा भन्दै सुरक्षा सतर्कता व्यापक बनाइएको थियो ।– एएफपी