कला, संस्कृति, वेशभूषा संरक्षणका लागि मगर सङ्ग्रहालय निर्माण 

बुधबार, भदौ २९, २०७९

घोराही,  ।  दाङको घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा मगर जातिहरुको मौलिक संस्कृति र परम्परा झल्किने सङ्ग्रहालय निर्माण गरिएको छ । मगर समुदायले आफ्नो कला, संस्कृति, भाषा, धर्म र वेशभूषाको संरक्षण र नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले नेपाल मगर सङ्घको घोराहीस्थित कार्यालयमा सङ्ग्रहालय निर्माण गरिएको हो ।सङ्ग्रहालयमा परम्परागत धनुष, नरसिङ्गा, पञ्चेबाजा, घुँघरु, ढुन्डी, सुरही, हाते पिरुङ्गा, दिया टुक्की, ठेकी, जाबे झोला, तुला जस्ता अन्य घरेलु उत्पादनका वस्तुलगायत मगर जातिहरुले हातले बुनेका कपडाहरु राखिएको छ । त्यस्तै मगर समुदायसँग जोडिएका र प्रयोग गर्दै आएका वस्तु तथा सीप र उनीहरुसँग जोडिएका कला, संस्कृति, वेशभूषालगायतका सामग्री सङ्ग्रहालयमा राख्न सङ्कलन गर्न पनि शुरु गरिएको छ ।  मौलिकता झल्काउने सामग्री उपलब्ध गराउन सबैमा आग्रह गरिएको मगर सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष शीतलाल पुन मगरले बताए  ।

बाहिर जति आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने कुरा गरे पनि व्यावहारिकरूपमा प्रयोगमा ल्याउन नसक्नु मुख्य चुनौती बनेको उनले बताए  । आधुनिकतासँगै आफ्नो भाषा, धर्म, संस्कृति र परम्परालाई बिर्सन नहुने उनको भनाइ छ ।  सङ्ग्रहालय निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले रु आठ लाख उपलब्ध गराएको छ । त्यही रकमबाट सङ्ग्रहालय निर्माण गरिएको हो । अहिले केही सजावट गरेर आंशिकरूपमा मगर संस्कृति झल्कने खालका सामग्रीहरु राखिएको नेपाल मगर सङ्घ दाङका अध्यक्ष खलु पुन मगरले बताए  । उनहले मगर समुदायको बाहुल्य भएका रोल्पा, रुकुमजस्ता ठाउँहरुमा मगर परम्परा बोकेका सामग्रीहरुको खोजी कार्य भइरहेको बताए  । मगर जातिको बाहुल्य रहेका रोल्पा, रुकुम जस्ता ठाउँबाट बसाइसराइ गरेर दाङमा आउने बढ्दै गएकाले सङ्ग्रहालयमा मगर समुदायको पहिचान दिलाउने सामग्रीबाट उहाँहरु पनि प्रेरित हुनुहुनेछ भन्ने विश्वास लिएको उनको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार