ब्राजिलमा अमेजनको वन विनाश तीव्र

अधिकारी भन्छन् : सन् २००८ यताकै उच्च 
मंगलबार, मंसिर १६, २०७७

ब्राजिल । विश्वको जलवायु सन्तुलनका निम्ति अत्यन्त महत्वपूर्ण मानिने ब्राजिलको रेनफरेस्ट भनिने अमेजनको वनजंगल क्षेत्रको तीव्र गतिमा विनाश भइरहेको ताजा तथ्यांकहरूले देखाएका छन् । यो गति विगत १२ वर्ष यताकै उच्च विन्दुमा पुगेको बताइएको छ ।

जैविक विविधताको भण्डारमा क्षति
अमेजन क्षेत्रमा ३० लाख थरी वनस्पति तथा जीवजन्तु पाइन्छन्  भने दशलाख जनजातिय समुदायको बसोबास छ । पछिल्ला आँकडाहरूले त्यहाँ अघिल्लो १२ महिनाको तुलनामा साढे नौ प्रतिशतले वन विनाश भइरहेको देखाएको छ ।अमेजन रेनफरेस्टको विनाश सन् २००८ यताकै उच्च विन्दुमा पुगेको देशको अन्तरिक्ष निकाय आइएनपीइ ले जनाएको छ । आइएनपीइ ले संकलन गरेका भूउपग्रहबाट खिँचिएका तस्बिरहरूले अगस्ट २०१९ र जुलाई २०२० का बीचमा मात्र करिब ११ हजार वर्ग किलोमिटर को जंगल सखाप भएको देखिएको छ । अमेजन वन क्षेत्रलाई विश्वकै महत्वपूर्ण कार्बन भण्डारको रूपमा मानिन्छ र यसले विश्वव्यापी तापक्रम वृद्धिको दरलाई कम गराउन मद्दत गर्ने गर्छ ।

बोल्सोनारुको प्रभाव ?
वैज्ञानिकहरूका अनुसार ब्राजिलमा सन् २०१९ को जनवरीमा राष्ट्रपति जइर बोल्सोनारुले पद सम्हाले यता त्यहाँको विनाश झन तीव्र भएको छ । बोल्सोनारुले विश्वकै सबभन्दा ठूलो जंगल क्षेत्रमा कृषि तथा खानीका क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्दै आएका छन् । वस्तु चरण तथा भटमास खेतीका निम्ति जंगल मासिएका छन् । गत वर्ष त्यहाँ प्रत्येक एक मिनेटमा एउटा फुटबल मैदान जत्रो भूभाग खाली गराइएको पाइएको उनले बताए । यो रफ्तार अहिले झनै बढेको बताइन्छ । बोल्सोनारु विकासको वाचा गर्दै निर्वाचित भएका थिए । उनी खानी तथा कृषिको प्रबर्धनमा केन्द्रित छन् । तर वातावरण वैज्ञानिकहरू भन्छन,–त्यहाँ रहेका अर्बाैं रुखहरूले ठूलो मात्रामा कार्बन भण्डारण गरेका छन् । जसको अभावमा विश्वव्यापी तापक्रम वृद्धि अझै तेज हुनसक्छ ।–बीबीसी 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार