सोसल मिडिया
Contact Us
युनिकोड
गण्डकी । सङ्घ र प्रदेशको चुनाव नजिकिँदो छ । यही असोज २ र ३ गते समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने निर्वाचन कार्यतालिका छ । जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकायदेखि चुनावमा भाग लिने दलहरू तयारीमा जुटेका छन् । आसन्न चुनालाई हेरेर मतदाता नामावली अद्यावधिक, मतदानस्थल थप, स्थानान्तरणदेखि अरु व्यवस्थापकीय काम भइरहेका छन् । चुनावी माहोल क्रमशः बढ्दै गएको छ । मुलुक सङ्घीय शासन व्यवस्थामा गएपछिको दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको हो । स्थानीय तहको चुनाव भएको केही महिनामै हुन गइरहेको सङ्घ र प्रदेशको चुनावले जनसाधारणमा पनि चासो थपिएको छ । चुनाव जितेर सत्ताको बागडोर सम्हाल्न कुन दल आइपुग्ला भन्ने उत्सुकता बढ्दो छ । निर्वाचन आयोग र मातहात निकायका पदाधिकारीले चुनावी तयारी अघि बढेको जनाएका छन् । कास्कीका जिल्ला निर्वाचन अधिकारी होमनाथ पराजुलीले मतदाता नामावली अद्यावधिक र मतदानस्थल पुनरावलोकनको काम भइसकेको बताए । “पोखरा महानगरमा एउटा मतदानस्थल थपिएको छ, एउटा समायोजन भएको छ”, उनले भने, “मतदाता नामावली पनि अद्यावधिक भइसकेको छ, अब आयोगले अन्तिम नामावली सार्वजनिक गर्छ ।” एक महानगरपालिका र चार गाउँपालिका रहेको कास्कीमा दुई लाख ९० हजार मतदाता छन् । एक सय ५० मतदानस्थल र तीन सय ३६ मतदान केन्द्र रहेका छन् । यसपालि मतदान केन्द्र केही थप हुन सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका सम्बन्धमा जिल्ला तहमा गर्नुपर्ने तयारीका काम निरन्तर भइरहेको निर्वाचन अधिकारी पराजुलीको भनाइ छ । गण्डकी प्रदेशका अरु जिल्लामा पनि निर्वाचनको तयारी अघि बढेको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले आयोगको निर्देशनानुसार काम भइरहेको बताए । “मतदाता नामावली अद्यावधिक गरेर आयोगमा नामावली पठाएका छौँ”, उनले भने, “मृत्यु भएका र बेजिल्ला दोहोरो भएका नामावली घटाएर आयोगबाट अन्तिम मतदाता नामावली आउन बाँकी छ ।” बागलुङमा हाल एक लाख ९६ हजार चार सय ५७ मतदाता कायम छन् । आयोगबाट अद्यावद्यिक भएर अन्तिम नामावली आउँदा उक्त सङ्ख्या घट्ने प्रमुख रिजालले उल्लेख गरे । उनका अनुसार तीन मतदानस्थल थप र तीन वटाको स्थानान्तरणका लागि जिल्ला मतदानस्थल सिफारिस समितिले आयोगमा निर्णय पठाएको छ । आयोगबाट स्वीकृत भएर आउँदा नयाँ मतदानस्थलको सङ्ख्या एक सय छ पुग्नेछ । बागलुङमा यसअघि एक सय तीन मतदानस्थल र दुई सय तीस मतदान केन्द्र थिए । “जनशक्तिको खटनपटन, तालिमलगायतका काम आयोगको निर्देशन र निर्वाचन कार्यतालिका अनुसार हुन्छ, अहिले मतदाता नामावली र मतदानस्थल व्यवस्थापनको काम भइरहेको छ”, प्रमुख रिजालले भने ।
समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची दलले आयोगमा नै बुझाउने हुँदा उक्त कामको जिम्मेवारी जिल्ला तहका निर्वाचन कार्यालयलाई नपर्ने उनले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि चुनावको व्यवस्थापकीय तयारीले अझ तीव्रता पाउने प्रमुख रिजालको भनाइ छ । मङ्सिर ४ मा हुने निर्वाचनका लागि असोज २३ गते मनोनयन दर्ता हुनेछ । असोस २४ गते उम्मेदवार विरुद्ध उजुरी दिने, २४ र २५ गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २६ गते उम्मेदवारी फिर्ताका लागि समय दिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । सरकारी संयन्त्र जसरी निर्वाचन सम्पन्न गर्न लागि परिरहेको छ, उसैगरी राजनीतिक दलहरु पनि चुनाव केन्द्रित बनेका छन् । प्रदेश र सङ्घीय निर्वाचन क्षेत्रबाट सिफारिस भई प्रदेशमा आएका सम्भावित उम्मेदवारको नामावलीलाई सुझावसहित केन्द्रमा पठाएका छन् । चुनाव लक्षित भेला, प्रशिक्षण र प्रचारात्मक अभियान पनि सुरु हुन थालेका छन् ।