अवैध खसीबोका नियन्त्रण

सोमबार, भदौ २७, २०७९

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयको गस्ती टोलीले ५४ वटा अवैध खसीबोका नियन्त्रणमा लिएको छ । जिल्लाको शिवराज नगरपालिका–२ हल्लानगरबाट पिकअपमा लोड गरी चन्द्रौटातर्फ ल्याउँदै गरेको अवस्थामा ५४ वटा अवैध खसीबोका नियन्त्रणमा लिइएको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ । भन्सार नगरी भारतबाट लुकाइछिपाइ ल्याइएको रु एक  लाखभन्दा बढी मूल्य पर्ने अवैध खसीबोका अनुगमन टोलीले नियन्त्रणमा लिएको हो ।

पछिल्लो समय जिल्लाको विजयनगर गाउँपालिकामा रहेको नेपाल–भारत सीमामा खसीबोकालगायत अन्य तस्करी खुलारूपमा भइरहेको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको कृष्णनगर भन्सार कार्यालय प्रमुख जनार्दन पौडेलले बताए । एक हप्ताअघि मात्र सोही स्थानबाट ५० भन्दा बढी अवैध खसीबोका बरामदगरिएको भन्सार प्रमुख पौडेलले जानकारी दिए । महाराजगञ्ज क्षेत्रबाट दुई पिकअपमा लोड गरी लैजाँदै गरेको अवैध ५० खसीबोका गएको मङ्गलबार नियन्त्रणमा लिइएको भन्सार कार्यालले जनाएको छ ।
हल्लानगरमा समातिएको खसीबोका कहाँबाट ल्याएको भन्ने विषयमा अनुसन्धानभइरहेको भन्सारले जनाएको छ । हल्लानगर नजिकै रहेको इलाका प्रहरी कार्यालय सुन्दरीडाँडा, इलाका प्रहरी कार्यालय गणेशपुर र सशस्त्र बेस क्याम्पसमेत हुँदाहँुदै कसरी भारतबाट ल्याइयो भन्नेबारे अनुसन्धान भइरहेको छ । खुला सिमानाका कारण खसीबोका तस्कर गर्ने गिरोह चाडपर्वको समयमा सक्रिय भएको पाइन्छ । बडादसैँ नजिकिँदै गर्दा अवैध खसीबोका ठूलो मात्रामा भित्रिरहेको स्थानीयवासी कृष्ण रैदासले बताए । सिमाना क्षेत्रमा सुरक्षा पोष्ट हुँदा पनि तस्करले झुक्याएर ठूलो मात्रमा खसीबोका नेपाल भित्र्याउने गरेको पाइन्छ । जिल्लाको विजयनगर क्षेत्रमा प्रहरी कार्यालय गणेशपुर, सशस्त्रको सीमा सुरक्षा पोष्ट डालपुर तथा सीमा सुरक्षा पोष्ट जवावैराठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अवैध चोरी निकासी नियन्त्रणमा लागेको जनाएको छ ।–रासस

 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  ०४:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार