सोसल मिडिया
Contact Us
युनिकोड
दार्चुला । महाकाली नदीमा पानीको बहाव नघट्दा बेपत्ताहरूको खोजीमा समस्या भइरहेको छ । उनीहरूलाई महाकाली नदी किनार नजिकका प्रहरी युनिट परिचालन गरी खोजी भइरहेको छ । राहत र उद्धारको काम सँगसँगै अघि बढाइएको छ । शुक्रबार रातिदेखिको अविरल वर्षा र बाढीपहिरोसँगै बेपत्ता भएका महाकाली नगरपालिकाका १० जना अझँ भेटिएका छैनन् ।
बेपत्ता हुनेमा महाकाली नगरपालिका–३ का धनसिंह कार्की, दीपक कार्की, दिनेश कार्की, वडा नम्बर ४ का सरस्वती लुहार, मोहन लुहार, वडा नम्बर २ का मानमति शाहु, वडा नम्बर १ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजीत लुहार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले बताए । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो मात्रामा जनधनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ भने १० बेपत्ता छन् ।
बस्ती जोगाउन तारजाली लगाउन आपूर्तिमन्त्री बडूको साथ
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडू, प्रदेश सरकारका मन्त्री धामीलगायतले पीडित परिवारलाई भेट्दै तत्काल राहतको व्यवस्था गर्ने बताए ।
विस्थापितलाई अस्थायी बसोवासको व्यवस्था गरिएको छ । अधिकांशले आफन्तको घरमा तथा जिल्ला समन्वय समितिको हलमा आश्रय लिइरहेका छन् । बाढीपहिरोले दार्चुलाका दुई स्थानीय तहका झण्डै एक सय परिवार प्रभावित भएका छन् । बाढिपहिरोमा परि ४२ घर पूर्ण क्षति, नौ घर आंशिक क्षतिभएको छ भने ४० घर जोखिममा रहेका छन् । दार्चुलाको बाढी प्रभावित क्षेत्र महाकाली नगरपालिका–४ बङ्गाबगड क्षेत्रको मानवबस्ती जोगाउन स्थानीयवासीसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले साथ दिएका छन् । शुक्रबार राति लास्कुखोलामा भएको कटानले बङ्गाबगड बस्ती विस्थापित हुन थालेपछि कटान रोक्नका लागि गर्न लागिएको तारजालीको काममा मन्त्री बडू स्वयं ढुङ्गा बोक्ने काममा सहभागी भई स्थानीयवासीलाई साथ दिएका हुन् । प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामी पनि उक्त काममा सहभागी भएका हुन् ।
मन्त्री बडूसहित प्रदेशका आन्तरिक मामिलामन्त्री रणबहादुर रावल र उद्योग, पर्यटन वन वातावरणमन्त्री धामीसहितको टोली शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत राहत लिएर बाढीप्रभावित क्षेत्रमा पुगेको थियो । प्रदेशका आन्तरिक मामिलामन्त्री रावल भने शनिबार साँझ कैलाली फर्किएका थिए । कटान रोकथामका लागि सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, महाकाली नगरप्रमुख नरसिंह चैसिर, उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, विभिन्न दलका कार्यकर्ता, सुरक्षाकर्मी तथा स्थानीयवासीले बिहानैदेखि तारजाली लगाएर बङ्गाबगड क्षेत्रमा खोला फर्काउने प्रयास गरिरहेका छन् । बस्ती जोगाउन ढुङ्गा जाली लगाएर नदीको धार परिवर्तन गर्नुपर्ने आवश्यक देखिएकोमन्त्री बडूले बताए । “अहिलेलाई पहिलो चरणमा कटान रोक्ने काम गराैँ”, उनले भने, “नदीको बहाव कम भएपछि बजारको कटान रोकिन्छ, यो सबैको साझा दायित्व हो ।” बङ्गाबगड क्षेत्रको खानेपानी ट्याङ्की नजिकैको बजार कटान हुन थालेपछि तारजाली र ढुङ्गा भर्ने काम भइरहेको नकपा (एमाले) जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकीले बताए ।
उनले भने, “स्थानीयवासीको सहभागितामा बिहान छ बजेदेखि नै जालीमा ढुङ्गा भर्न थालेका छौँ । माथिल्लो बङ्गाबगड नजोगाउने हो भने पूरै बजार विस्थापित हुने अवस्था छ ।” स्थानीयवासी खडक बडालले यो बङ्गाबगड क्षेत्रको कटान जोगाउन सकिएमा तल्लो क्षेत्रको कटान रोकिने देखिन बताए । लास्कु खोलाको सम्भावित कटान रोक्न आज बिहानैदेखि ढुङ्गा बोक्ने जाली भर्ने काम भइरहेको छ । सुरक्षाकर्मी र स्थानीयवासीको पहलमा जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको छ ।–रासस