सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं। निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दीसूची बुझाउने समय असोज २ र ३ गतेलाई तोकेको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । असोज २ देखि ३ गतेसम्म दलले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ आयोगले सूचना जारी गर्दै जनाएको छ । उक्त बन्द सूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुन अनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्ने छ । यस्तै दलहरुले बन्दसूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने छ ।
बन्दसूचीका लागि आवश्यक कागजातबारे स्पष्ट
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेस गर्दाको आवश्यक प्रक्रिया र कागजातबारे थप स्पष्ट पारेको छ । आयोगले सो प्रणालीका लागि आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरी आउँदो असोज २ र ३ गते उक्त बन्दसूची पेस गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । सूची पेस गर्दा समानुपातिक समावेशी सिद्धान्तबमोजिम कानुनबमोजिम आवश्यक कागजात अनिवार्यरूपमा पेस गर्न आयोगले आज दलहरूलाई आग्रह गरेको छ । आयोगको समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेले विज्ञप्ति जारी गरेर कागजात अपुग भएका सूची दर्ता नहुने स्पष्ट गर्दै आवश्यक प्रक्रिया र कागजातको चेकलिष्ट आयोगको वेबसाइटमा समावेश गरिएको बताए । उक्त प्रणालीतर्फको बन्दसूचीमाथि आयोगले जाँचबुझ गरी संशोधनका लागि असोज ४ देखि ९ गतेसम्म दलहरूलाई आग्रह गर्नेछ । आयोगको सुझावबमोजिम दलहरूले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्नेछ । आयोगले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ ।