सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर : ‘छोरीले जन्माएका आमाहरु’ सुन्दा तपाईलाई एकछिन त अचम्म लाग्न सक्छ । सोमबार सार्वजनिक हुन लागेको यो पुस्तकमा अमेरिकाका विभिन्न राज्यमा बसोबास गरिरहेका बाह्रजना छोरीहरुले आफ्ना आमाको जीवनकथा लेखेका छन् । पुस्तकको संयोजन गरेकी अग्रज पत्रकार मंजु थापा छोरीले आफ्नो कलममार्फत आफ्ना आमाको परिचय, योगदानलाई बाहिर ल्याएकाले ‘छोरीले जन्माएका आमाहरु ’ शीर्षक राखिएको बताउँछिन् । यो पुस्तकको पहिचान फरक भएको उनको तर्क छ । भन्छिन् , ‘बाह्र जना आमाहरुको जीवनकथा पुस्तकमा समेटिएपनि यो पुस्तकले अहिले र पहिलेको समयलाई,महिलाले भोगेको सामाजिक, सांस्कृतिक, राजनीतिक आर्थिक विषय र सन्दर्भलाई गहिरोसँग विश्लेषण गरेको छ ।’ पुस्तकमा आमाहरुको भोगाई फरक ढंगले प्रस्तुत गरिएको छ । आमाहरुको व्यक्तिगत जीवन, बाँचेको समाज, त्यतिबेलाका महिला पुरुषको अवस्थाको चित्रण,आमाछोरीको सम्बन्ध, हजुरआमा, आमा र छोरी र नातिनीहरुबीचको अन्तरपुस्ताको नालिबेली पुस्तकमा समेटिएको छ । पुस्तकको संयोजन गरेकी मंजु थापा भन्छिन्,‘ मूलत ः यो पुस्तक हर स्टोरी डक्युमेन्टेसनको एक प्रयास हो, महिलाको इतिहास लेखनको समिश्रण हो, हरेक महिलाको योगदानलाई सम्मान गर्दै त्यसलाई अजर, अमर तुल्याउने एउटा अभियानको अंश समेत हो ।’ थापाले यो पुस्तक आमाहरुले गरेका संघर्ष, श्रम, योगदान देखाउने आँखीझ्याल समेत भएको स्पष्ट पारिन् । चार सय ५० पृष्ठको यो पुस्तक अक्षर क्रिएसन्स्ले बजारमा ल्याउन लागेको हो । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक गरिने उक्त पुस्तकमाथि पत्रकार तथा अधिकारकर्मी आरती चटौत र सन्तोष परियार आफ्ना भनाई राख्नेछन् ।