खनाल–नेपाल समूहद्वारा सांसदहरुसँग परामर्श 

एमाले भित्र विवाद 
मंगलबार, वैशाख ७, २०७८

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्ने उद्देश्यसहित २ दिने स्पष्टीकरण सोधेपछि नेकपा एमाले भित्रको माधवकुमार नेपाल– झलनाथ खनाल समूहले सांसदहरुको आकस्मिक बैठक बोलाएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटेल उक्त समूहको बैठक सुरु भएको छ ।  पार्टी अनुशासन उल्लंघन गरेको भन्दै एमालेले माधव नेपाल र झलनाथ खनालसहित ३२ जना संघीय तथा प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको थियो । कांग्रेसको नेतृत्वमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी हुँदा नेपाल पक्षले ‘फ्लोर क्रस’ गर्न सक्ने भन्दै एमालेले संघीय संसद्का २७ सांसदलाई स्पष्टीकरण सोधेको हो ।  उनीहरुलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ । संघीय सांसदलाई पठाइएको पत्रमा छुट्टै राजनीतिक दलको अभ्यास गरेको भन्दै ‘तपाईंलाई संघीय संसद् सदस्यबाट किन नहटाउने ?’ भनेर सोधिएको छ । स्पष्टीकरण सोधिनेमध्येमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, झपट रावल, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, नीरादेवी जैरु, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, मुकुन्द न्यौपाने छन् । सोमबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न लगाउने नेता नेपालसहित चार र फ्लोर क्रस गर्ने चार सांसदलाई अन्तिम चेतावनियुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार