सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका भारतीयस्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज काठमाडौँको वसन्तपुरस्थित दरबार स्क्वायरको अवलोकन भ्रमण गरेका छन् । त्यसअघि उनी बिहान पोखरास्थित सेनाको मध्य कमाण्ड हेडक्वार्टरको निरीक्षण भ्रमण गर्नु भई त्यहाँ आयोजित एक समारोहमा सरिक भएका थिए । यसअघि सोमबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरेका थिए । मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले शिष्टाचार भेट गर्नुभएको थियो भने साँझ हिन्दूका आराध्यदेव पशुपतिनाथको दर्शन गरेका थिए । यस्तै उनले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजकोसमेत भ्रमण गरे । आइतबार नेपाल आएका उनी आज नेपालस्थित भारतीय राजदूतावासको भ्रमण गरी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
भूतपूर्व सैनिक नेपाल–भारत सम्बन्धको आधारस्तम्भ भारतीय सेनाध्यक्ष पाण्डेले भारतीय सेनाका भूतपूर्व नेपाली सैनिक दुई देश बीचको सम्बन्धको आधारस्तम्भका रुपमा रहेको बताएका छन् ।
नेपाल भ्रमण रहेका पाण्डेले पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै भूतपूर्व सैनिकले दुई देशबीचको वर्षौंदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कर्तव्यनिष्ठता, इमान्दारिता नेपाली भूतपूर्व सैनिकको विशिष्टता रहेको उल्लेख गर्दै उनले भूतपूर्व सैनिकको कल्याणकारी योजनाका लागि भारतीय सेना निरन्तर लागिरहेको बताए । भूतपूर्व सैनिकले प्राप्त गर्ने पेन्सनलगायत सेवा सुविधालाई पनि भारतीय सेनाले सहज र सरल बनाइरहेको उनले बताए । भारतीय सेनामा ३५ हजार गोर्खा सैनिक सेवारत रहेको र एक लाख २५ हजार भूतपूर्व सैनिक रहेको उनले जानकारी दिए । नेपाल र भारतबीच सांस्कृतिक, आहारविहार आदिमा समानता रहेको र खुला सिमानाका कारण दुवै देशका नागरिक सहजरुपमा आवतजावत गर्दै आएको सेनाअध्यक्ष पाण्डले बताए । सो अवसरमा उनले भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त गरेको सैनिकका परिवारजनलाई नगद चेक तथा सामग्री हस्तान्तरण गरे । साथै उनले दुर्गममा बस्ने भूतपूर्व सैनिकको स्वास्थ्योपचारलाई लक्षित गरी तीनवटा मोबाइल मेडिकल युनिटको चाबी हस्तान्तरण गरे । कार्यक्रममा सेनाध्यक्ष पाण्डेले भूतपूर्व सैनिक र परिवारजनसँग शिष्टाचार भेट गरेका थिए ।