सोसल मिडिया
Contact Us
युनिकोड
रुपन्देही । भ्रष्टाचार सामाजिक अपराध भएको लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले बताएका छन् । कार्टुनिस्ट क्लब अफ नेपालको आयोजनामा बुटवलको सुख्खानगरस्थित होटल स्पानमा उद्घाटन गर्दै उनले भ्रष्टाचारले मानिसमा खराब मनोवृत्तिको विकास गरिरहेको जिकिर गरे । ‘निसाना’ भ्रष्टाचारविरूद्ध कार्टुन प्रदर्शनीमा नेपालका करिब तीन दर्जन कार्टुनिस्टका ५० कार्टुन राखिएको उक्त कार्यक्रममा सभामुख घर्ती मगरले भ्रष्टाचारले समाजलाई आक्रान्त पारेको सुनाए । उनले भने, ‘भ्रष्टाचार हरेक मुलुकमा हुने गरे पनि विशेषगरी भ्रष्टाचार तीन आयामका रुपमा घुसखोरी, नीतिगत र अख्तियारीको दुरुपयोग गरी भइरहेको छ ।’ उनले नजिकका मान्छेलाई टेण्डर दिने गरी हुने भ्रष्टाचारले जनता आजित भएको बताए । उनले भने, ‘कुनै न कुनै रुपमा जनप्रतिनिधिमूलक संस्थाबाट यस्ता किसिमका हर्कत भएका छन् । यसलाई कम गर्नका लागि कलाका माध्यमबाट कार्टुनिस्टले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । तसर्थ कार्टुन प्रदर्शनीलाई अझै व्यापक ढंगले समाजका तल्लो तहसम्म लैजानु पर्दछ ।’
उनले भ्रष्टाचारकै कारण देश र सर्वसाधारणको जीवन बर्बाद भएको सुनाउँदै राज्यले यसको नियन्त्रणमा निर्ममतापूर्वक लाग्नुपर्ने बताए । घर्ती मगरले कार्टुनमा कलाकारले आग्रह पूर्वाग्रहविना गर्ने तीखो प्रहारले गल्ती गर्नेलाई सच्चिन बाध्य पार्ने जिकिर गरे । सो कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले भ्रष्टाचारले समाजका विभिन्न स्थानमा जरो गाडेको बताए । उनले भ्रष्टाचार अन्त्यका लागि समाजका सबै तहतप्काबाट पहलपदमी लिनुपर्ने भनाइ राखे । जनसांस्कृतिक महासंघ नेपालका लुम्बिनी प्रदेश संयोजक कविराज पौडेलले क्लबले देशव्यापी रुपमा भ्रष्टाचारविरोधी अभियान कार्टुनमार्फत गरेर देश र जनताप्रति विशिष्ट भूमिका निर्वाह गरेको सुनाए । उनले भ्रष्टाचार अन्त्यका लागि साहित्यकार, कलाकार, पत्रकार एवं संस्कृतिकर्मी लगायत सबैले सिर्जनात्मक ढंगले पहल लिनुपर्ने विचार व्यक्त गरे । प्रदर्शनीमा बोल्दै प्रगतिशील लेखक संघ, रूपन्देहीका अध्यक्षसमेत रहेका पौडेलले दृश्य सामग्रीले मनोविज्ञानमा सिधै प्रभाव पार्ने बताउँदै यो कार्यक्रम बुटवल आइपुगेकोमा धन्यवाद ज्ञापन गरे । कलाकार सुमित्रा रानाले कलामार्फत सर्जकले समाजलाई सचेतना जगाएको बताइन् । उनले भनिन्, ‘रङ, रेखा र शब्दद्वारा कलाकारले समाजमा रहेका विकृति विसंगतिप्रति व्यंग्य गरेर सामाजिक दायित्व निर्वाह गर्न सफल भएका छन् ।’ नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनालले भ्रष्टाचारविरुद्ध अभियानका रुपमा क्लबले देशका सातै प्रदेशमा कार्टुन प्रदर्शनी गरिरहेको बताए । उनले भने, ‘भ्रष्टाचारविरुद्ध देशव्यापी रुपमा जनचेतना जगाउने लक्ष्यका साथ दुई दिने कार्टुन प्रदर्शनी गरिएको हो ।’ कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना र सिएमआर नेपालको सहकार्यमा ‘निसाना’ भ्रष्टाचारविरोधी प्रदर्शनीमा तीन दर्जन कार्टुनिस्टका ५० कार्टुन राखिएको खनालले जानकारी दिए ।
उनले कार्टुन कलाको माध्यमले समाजमा व्याप्त रहेको भ्रष्टाचारलाई बाहिर ल्याउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको धारणा व्यक्त गरे । खनालले थपे, ‘कार्टुनको माध्यमले राजनीति, समाज, लगायतका क्षेत्रमा रहेको विकृत पक्षलाई प्रहार गरिएको छ । साथै समाजमा रहेका विकृत पक्षलाई न्युनीकरण गर्ने र जनतामा सचेतता जगाउने काम गर्दै कलाकारले कलामार्फत गर्दै आएका छन् । यसैको कडिका रुपमा कार्टुन प्रदर्शनी गरिएको हो ।’ अखिल नेपाल ललितकला संघका लुम्बिनी प्रदेश संयोजक कलाकार खेमबहादुर बिकले समाजमा जागरण ल्याउने लक्ष्यका साथ प्रदर्शनी गरिएको बताए । उनले विकृति विसंगतिविरुद्ध कार्टुनिस्टले जेहाद छेडेको भनाई व्यक्त गरे । आयोजक संस्था कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले पाठकले सधै पत्रपत्रिकामा मात्रै कार्टुन हेर्दै आए पनि प्रदर्शनीका रुपमा कार्टुनलाई देशका सातै प्रदेशमा लगेको बताए । उनले भने, ‘पत्रपत्रिकामा मात्रै नभएर प्रत्यक्ष देखाउने चाहनासँगै भ्रष्टाचारको जरो समाजको तलसम्म फैलिएझै भ्रष्टाचारविरोधी अभियान कार्टुनमार्फत सोही स्थानसम्म पु¥याउने लक्ष्यका साथ क्लबले प्रदर्शनी आयोजना गरेको हो ।’ क्लबले यसअघि बागमती प्रदेशको काठमाडांै, गण्डकी प्रदेशको पोखरा, मधेश प्रदेशको जनकपुरमा प्रदर्शनी गरिसकेको क्लबका महासचिव रवि मिश्रले जानकारी दिए । प्रदर्शनीमा दुर्गा बराल ‘वात्स्सायन’, मोहनश्याम महर्जन खोकना, गेहेन्द्रमान अमात्य, नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, अशोकमान सिंह, रविन सायमी, अविन श्रेष्ठ, राजेश केसी, सुषमा राजभण्डारी, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रविन्द्र मानन्धर, योगेशकुमार खपांगी, केशव राज खनाल, राजेश मानन्धर, कृष्णगोपाल श्रेष्ठ, सुजिता महर्जन, रामकृष्ण थापा, सागर शाह, सुदर्शन सिग्देल, उमेशचन्द्र अधिकारी, अनुप गुरुङ, सानुराज डंगोल, अकृन अधिकारी, विरोचन मल्ल, आशिष खनाल, विष्णु अथकमनु, विश्व थापा, देव कोइमी, वामन चालिसे, महेश बस्ताकोटी, पानसिंह तमोर, रामहरि रिमाल, लगायतका कार्टुनिस्टका कार्टुन राखिएको छ ।