माओवादीले समर्थन फिर्ता नलिँदासम्म सरकार गठनको पहल हुँदैन : सभापति देउवा

सोमबार, वैशाख ६, २०७८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको नेतृत्वमा तत्काल सरकार गठन गर्न कठिन भएको बताएका छन् ।  नेपाल विद्यार्थी संघको ५२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सभापति देउवाले माओवादी केन्द्रले सरकारसँगको समर्थन फिर्ता नगरेको र आफ्नो बहुमत नभएकाले अहिले नै कांग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको बताएका हुन् ।  कार्यक्रममा सभापति देउवाले नेविसंघको केन्द्रीय कार्यसमितिलाई तत्काल पूर्णता दिने प्रतिबद्धता पनि जनाएका छन् ।  तोकिएकै मितिमा पार्टीको महाधिवेशन हुने भन्दै सभापति देउवाले देश विकास गर्न युवा विद्यार्थीको ठूलो भूमिका रहने बताए ।   नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले पार्टी सभापतिले नयाँ सरकार गठन र  सञ्चालनका लागि नेतृत्व लिनुपर्ने धारणा राखे । सत्तारूढ पाटीभित्रको किचलोका कारण नेपाली जनताले दुःख खेप्नु परेको भन्दै महामन्त्री कोइरालाले अब कांगे्रसले सरकार सञ्चालन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकार संवैधानिक निकायहरूलाई कब्जा गर्ने उद्देश्यसहित अगाडि बढिराखेको आरोप लगाए । न्यायपालिका, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग सबैको निष्पक्षता र स्वतन्त्रता गुम्ने खतरा रहेको पनि पनि उनले धारणा राखे ।  नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले लामो समयदेखि खाली रहेका केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने माग राखेका थिए ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  २१:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार