सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टीका दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेका राजनीतिक प्रस्तावबारे छलफल भएको छ । मंगलबारको बैठकमा दुवै अध्यक्षले राखेको प्रस्तावबारे औपचारिक छलफल सुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा अध्यक्ष ओली र दाहालले आ–आफ्नो धारणा राखेको र अन्य सदस्यहरूले छोटो रूपमा सामान्य धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले अब नेकपाका नेताहरूबीच औपचारिक र अनौपचारिक दुवै तहमा छलफल हुँदै जाने बताए । बैठक भोलि बुधबार १ बजे पुनः बस्ने छ । पार्टीभित्र उत्पन्न भएको संकटको चुरो कारण र त्यसको समाधानका विषयमा गम्भीर छलफल गर्दै जाने र यसबारे औपचारिक र अनौपचारिक दुवै तहमा छलफलहरू हुने उनले बताए । प्रवक्ता श्रेष्ठले यही मंसिर १८ गते बस्ने स्थायी समिति बैठक पूर्वनिर्धारित तालिकाअनुसार बस्ने पनि बताए । नेकपा सचिवालय बैठकको सुरुवातमा महासचिव विष्णु पौडेलको आज परेको जन्मदिनको अवसरमा केक काटेर नेताहरुले शुभकामना दिएका थिए । बैठकमा नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । बोल्ने वक्ताहरुले कुनैपनि हालतमा पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका थिए ।