संसद्लाई घेराबन्दी गर्ने प्रयास भयो : सभामुख

आइतबार, वैशाख ५, २०७८

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्लाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको बताएका छन् । सभामुख सापकोटाले प्रतिनिधिसभालाई जीवन्त, जनमुखी र चलायमान बनाउँदै लोकतान्त्रिक, मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्ने सन्दर्भमा दृढताका साथ अघि बढ्न शुरु गर्दैगर्दा त्यहीँबाट घेराबन्दी शुरु भएको र अहिले पनि त्यो जारी रहेको बताए ।  नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय पदाधिकारीको आज काठमाडौँमा भएको पद हस्तान्तरण समारोहमा सभामुख सापकोटाले भने, ‘संसद्बारे अनेक खालका टिप्पणी भइरहेका छन्, तर मलाई दृढ विश्वास छ कि धेरै मान्छेलाई केही समय र केही मान्छेलाई सधँैभरि भ्रममा पार्न सकिन्छ, सबै मान्छेलाई सधैँभरि भ्रममा पार्न सकिँदैन ।’उनले महान बहसका बीचबाट भयानक भ्रमको अन्त्य हुने र महान सत्यको जन्म हुने उल्लेख गरे । मुलुकमा उत्पन्न टक्कर एउटा दृष्टिकोणमा आधारित भई आएको र जुन लोकतान्त्रिक मूल्यमान्यतालाई स्थापित गर्ने कुरासँग तथा नेपाली जनताले बनाएको संविधानलाई ठीक ढङ्गले रक्षा र विकास गर्नेसँग सम्बन्धित रहेको बताए । 
उनले भन्नेले के भन्छन भन्ने कुरालाई वास्ता नगरी लुरुलुरु अगाडि बढिरहेको जिकिर गरे ।  ‘मैले जे गरिरहेको छु देशलाई सम्झेर गरेको छु, देश र जनताको अधिकतम हितमा केन्द्रित भएको छु, बुद्धि, विवेक नपुगेर त्रुटि हुन सक्छन्, तर मैले जानीजानी देश र जनताको हितविपरीत कुनै पनि काम गरेको छैन’, सभामुख सापकोटाले प्रष्टीकरणका साथ भने ।  उनले कसैको दबाब र प्रभावबाट मुक्त रहेर स्वतन्त्रतापूर्वक काम गर्ने स्पष्ट पारे । 
जनताले सुम्पेको सार्वभौमसत्ताको नीहित अधिकार खासखास बेलामा सभामुखमा केन्द्रित हुने जानकारी गराउँदै सभामुख सापकोटाले जनभावना बुझेर अघि बढ्नुपर्नेमा आफू दृढ रहेको बताए ।  सभामुख सापकोटाले मुलुकमा अहिले तटस्थको होस भनेर चाहनेभन्दा पनि मेरो पक्षमा काम गरेन अथवा मेरो पक्षमा काम गरोस् भन्ने अन्तरनीहित भावना देखिएको बताए । उनले आफूले जिम्मेवारी सम्हालुञ्जेल देश र जनताप्रति इमान्दारिता र निष्ठाका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसका लागि कुनै कुराको त्याग गर्न र जोखिम लिन कठिनाइ नहुने उनको भनाइ थियो । 
यसमा पत्रकारले शक्तिशाली जनमत बनाइरहेकामा पत्रकारिता क्षेत्र प्रति नै गर्व लागेको उनले सुनाए । 
राज्यको महान बहसमा सामेल हुन सबैलाई आग्रह गर्दै सभामुख सापकोटाले बहस छेडिएपछि त्यो सही निष्कर्षमा पुग्ने र सत्यको अन्वेषण हुने बताए ।
उनले मुलुकसामु चुनौती खडा भएकाले त्यसलाई सामना गर्दै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । सभामुख सापकोटाले ठीक ढङ्गले काम गर्ने हो भने उत्पन्न समस्या समाधान गर्ने सन्दर्भमा कुनै कठिनाइ नहुनेसमेत बताएका छन् ।  हरेक भयानक सङ्कटका बीचमा महान अवसर रहने उल्लेख गर्दै उनले सङ्कट आउँदैमा चिन्तित हुनुपर्दैन भने । ‘पहिलेपहिले समुद्र मन्थन भनिन्थ्यो अहिले, महान बहसको बीचबाट अघि बढेका छौँ, कहिलेकाहीँ शून्य–शून्य जस्तो अन्योल र अलिकति राजनीतिक शून्यताको स्थिति देख्नुभएको छ नी, त्यो बाहिरको आवरणमा मात्रै हो, भित्रभित्रै बहसमा छ, निस्किएर प्रष्फुटन हुन्छ’, सभामुख सापकोटाले भने ।     उनले प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउन सङ्कल्पका साथ अघि बढेकाले गुणात्मक कानून निर्माणमा कुनै सम्झौता नहुने प्रष्ट्याए ।  विधेयक अड्काएको आरोप खेपेका सभामुख सापकोटाले त्यसलाई सङ्केत गर्दै सार्वजनिक कानून निर्माण गर्दा एउटा शब्दावलीले जमीन–आसमानको फरक पार्ने हुँदा सूक्ष्मरूपले अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए ।  उनले संसद्ले आफूले बनाएको कानून अदालतले ठीक ढङ्गले कार्यान्वयन गरेको छ की छैन भन्ने कुरा र हरेक निकायमा हुने क्रियाकलापका विषयमा संसदीय निगरानी जारी रहने पनि उल्लेख गरे । उनले समाचारको विश्वसनीयता, वस्तुनिष्ठता र तथ्यपरकताका लागि कठोर मेहनतका साथ लाग्न पत्रकारलाई आग्रह गरेका छन् । 
उक्त समारोहमा महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको सवालमा आफू ढृढ भएर लाग्ने प्रतिबद्धता जनाए । उनले महासंघका सदस्यलाई नै राज्यले आतङ्कित पार्ने काम भएको उल्लेख गर्दै समाचारमा चित्त नबुझे उपचार खोज्ने कानूनी बाटो लिनका लागि प्रेरित गर्नुपर्नेमा राज्य स्वयं बाटो छोडेर मिडिया क्षेत्रलाई आतङ्कित पार्ने ढङ्गले प्रस्तुत हुनु खेदजनक र निन्दनीय रहेको बताए । पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्यले नवनिर्वाचित कार्यसमिति मुलुकसामु आउनु चुनौतीको सामना गरेर अघि बढ्न सक्षम रहने विश्वस व्यक्त गरे । 
पूर्व अध्यक्ष डा.महेन्द्र विष्टले पत्रकारको हकहित, पेशागत सुरक्षा तथा नागरिक अधिकार संरक्षणको सवालमा गम्भीरताका साथ लाग्न समितिलाई सुझाव दिए ।  अर्का पूर्वअध्यक्ष शिव गाउँलेले लोकतान्त्रिक प्रणाली कता गइरहेको छ, संसद्मा कस्तो विधेयक जाँदैछ त्यसतर्फ ध्यान केन्द्रित गर्न तथा नागरिक र संवैधानिक सर्वोच्चता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सम्झौतारहितरुपमा अघि बढ्न सुझाव दिए ।  पूर्वअध्यक्ष धर्मेन्द्र झाले महासंघको प्रत्यक्ष निर्वाचन प्रणालीले लोकतान्त्रिक व्यवस्थालाई फराकिलो बनाएको स्मरण गर्दै मुलुकको लोकतान्त्रिक प्रक्रिया सङ्कुचनमा परेको वर्तमान चुनौतीपूर्ण समयमा पत्रकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । पूर्वअध्यक्ष तारानाथ दाहालले पत्रकार महासंघले लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण अभ्यास यसपाली गरेको र यसले राजनीतिक क्षेत्रलाई पनि दिशानिर्देशक गर्नेमा विश्वस्त रहेको उल्लेख गरे ।  अर्का पूर्वध्यक्ष डा .सुरेश आचार्यले नेपाली पत्रकार प्रेस स्वतन्त्रताका लागि मात्रै नभई लोकतन्त्रका पक्षमा समेत लडेको स्मरण गर्दै सत्तासँग निरन्तर सङ्घर्ष जारी रहने उल्लेख गरे ।    
पोखरेल नेतृत्वको महासंघको नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारीले आजै पदभार समेत ग्रहण गरेको छ । गत चैत २५ गते पहिलो पटक मुलुकभर एकैसाथ प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार महासंघको निर्वाचन सम्पन्न भएको थियो ।  मुलुकभर सञ्चालमा रहेका सञ्चार माध्यममा काम गर्ने १३ हजार बढी पत्रकार महासंघमा आबद्ध छन् ।–रासस
 

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार