तीन बर्षमा लागूऔषधका मुद्दा झण्डै तेब्बरले बृद्धि

मंगलबार, भदौ १४, २०७९

महेन्द्रनगर । कञ्चनपुरका बितेको केही बर्षदेखि लागूऔषध दुव्र्यसन तथा कारोबारका मुद्दा बढ्दै गएको छ । पछिल्लो समय कञ्चनपुर प्रहरीलाई नै चुनौतीको मुख्य विषय बनेको लागू औषध नियन्त्रणमा प्रहरी सक्रियता बढेसंगै यहाँ दैनिक जसो खैरोहिरोइन, चरेश, नाइट्राभेट लगायतका लागूऔषधसहित युवाहरू पक्राउ पर्ने गरेका छन् ।
चालु आर्थिक वर्षको झण्डै डेढ महिनामा तीन भारतीय सहित लागू पदार्थ मुद्दामा ३१ जनालाई पक्राउ गरिसकेको छ । “हरेक दिनजसो लागूऔषध कारोबार यससम्वन्धी कसुरमा पक्राऊ नपरेको दिनै छैन् ।” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले भने, “युवा पुस्ता लागूऔषधको दुव्र्यसनमा लिप्त रहेको घटनाक्रमले देखाउँदै गएको छ ।”
उनले अभिभावक, समाज र स्थानीयदेखि माथिल्ला सरकारसम्मले लागूऔषध नियन्त्रणमा ध्यान नदिए अवस्था झन् चुनौतीपुर्ण बन्दै जानेप्रति सचेत गराए ।
चालु आवको साउदेखि आजसम्मको तथ्याङ्क अनुसार १२७.०१ ग्राम लागूऔषध खैरोहिरोइन, २.२४ ग्राम चरेश, नाईट्राभेट २५५ ट्यावलेट लगायतका लागूपदार्थ प्रहरीले बरामद गरेको छ । “ चालु आवमा लागूऔषध सम्वन्धी ११ मुद्दा दर्ता भएर अनुसन्धान प्रक्रिया अघि बढेको छ ।” प्रहरी निरीक्षक गिरीले भने, “पछिल्लो समय डरलाग्दो रुपमा लागूऔषध दुव्र्यसन बढेको देखिन्छ ।”
जिल्लाभर सादा पोसाकदेखि मातहतका प्रहरी युनिट लागूऔषध नियन्त्रणमा खटिनुका साथै जिल्ला प्रहरी र सामुदायिक प्रहरी र ट्राफिक कार्यालय लागूऔषध सचेतना सम्वन्धी जनचेतानामुलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । आर्थिक बर्ष २०७६-०७७ मा ५५ लागूऔषध सम्वन्धी मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत आर्थिक वर्ष २०७८-०७९ मा १४३ मुद्दा दर्ता भएर कारबाही अघि बढेको प्रहरीले जनाएको छ ।
भारतीसित खुला सीमानाका जोडिएको कञ्चनपुरमा पुर्नबास, बेलौरी, बेल्डाँडी र दोधारा चादँनी नगरपालिका क्षेत्रबाट लागूऔषधसहित ओसारपसारमा संलग्नहरू बढी संख्यामा पक्राउ परेको प्रहरी तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालयले २०७६ सालयता हालसम्म लागूऔषध ओसारपसारमा संलग्न ३३  भारतीयलाई कारबाहीको दायरामा ल्याइसकेको छ । प्रहरीले केही बर्षअघि बेलौरी नगरपालिकाको सीमाक्षेत्रमा लागूऔषध पैठारीमा संलग्नहरूसित दोहोरो झडप हुँदा एक भारतीय तस्कर प्रहरीको गोली लागेर मृत्यु समेत भएको थियो ।
यसैगरी आर्थिक वर्ष २०७७-०७८ मा  प्रहरीले लागूऔषध सम्वन्धी १४१ मुद्दा चलाएर कारबाही गरेको थियो । सो आर्थिक बर्षमा १० भारतीयसहित दुई सय ३० जना पक्राउ परेको प्रहरीले जनाएको छ । त्यस्तै २०७८÷०७९ मा १४३ मुद्दामा १३ भारतीय सहित २३९ जनालाई कारबाहीको दायरामा ल्याइएको प्रहरी तथ्याङ्कले देखाएको छ । जसमा आठ जना महिला पनि छन् ।
गत बर्ष प्रहरीले ३३ किलो ९८५ ग्राम चरेश, ५८०.०६० ग्राम खैरोहिरोइन, नाइट्राभेट ट्याबलेट १ हजार ७४८ लगायतका लागूऔषध समेत बरामद गरेको थियो । जिल्लामा रहेको स्थानीय सरकार, स्थानीय प्रशासन, विभिन्न दातृ संघसंस्थाहरू लागूऔषध न्यूनीकरणका लागि सक्रिय रहेपनि खुला सीमानाका कारण चुनौती बनेको छ । लागूऔषध कारोबारीलाई भारतीय पक्षले सीमा क्षेत्रमा कडाई नगर्दा समेत यहाँ लागूऔषधको कारोबार बढेको हो ।
यहाँस्थित धुम्रपान निषेधका अभियन्ता मदन चन्दले आफूहरू विद्यालयहरूमा लागूऔषध न्युनीकरणका लागि सचेतनामुलक कक्षा सञ्चालन गरिरहेको बताए  । “लागूऔषध रोकथामका लागि बुवा आमादेखि विद्यालयमा शिक्षकहरू सम्मलाई सचेत गराउनपर्ने देखियो”, उनले भने, “ लागूऔषधको शिकार टिनेजर केटाहरू बढी छन् ।”
लागूऔषध नियन्त्रणका लागि सरकारको कडा निगरानी आवश्यक रहेको जनाउँदै विद्यालय स्तरमा समेत यसको रोकथामका लागि अग्रसर हुनुपर्ने बताए  । “छोरा छोरीलाई अभिभावक र शिक्षकहरूले निगरानी गर्नुपर्ने देखिन्छ ”, उनले भने, “प्रहरी प्रशासनले मात्रै सचेत र कारबाही गरेर पुग्दैन् ।” उनले बस्तीमा आमा समूह र क्लब पनि लागूऔषध नियन्त्रणमा लाग्नुपर्नेमा अभियान्ता चन्दको भनाइ  छ ।–रासस 
 

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार