भारतमा दिनहुँ बढ्दै कोरोना संक्रमित 

एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु
आइतबार, वैशाख ५, २०७८

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । ‘एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलोपटक हो’, एक सरकारी उच्च अधिकारीले आइतबार जानकारी दिँदै भने । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६१ हजार ५०० जना नयाँ सङ्क्रमित थपिएका छन् ।  त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ५०१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या एक लाख ७७ हजार १५० पुगेको देखिएको छ ।  त्यसैगरी कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ४७ लाख ८८ हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ ।  भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १८ लाख एक हजार ३१६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार ४२३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड २८ लाख नौ हजार ६४३ पुगेको छ ।  भारतमा शनिबार मात्रै १५ लाख ६६ हजार ३९४ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।  अप्रिल १७ सम्म कूल २६ करोड ६५ लाख ३८ हजार ४१६ जनाको कोरोना परीक्षण गरिएको पनि परिषदले उल्लेख गरेको छ ।  कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।  भारतमा अहिलेसम्म १२ करोड २६ लाख २२ हजार ५९० ओटा खोप खपत भएको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् ।  रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरुले जानकारी दिएका छन् ।–एएनआई
 

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार