गृहमन्त्रीमा थापाको पनि गयो राष्ट्रियसभा सदस्य पद 

गृहमन्त्रीमा पुन नियुक्त थापाको आजै शपथ ग्रहण गराइने 
आइतबार, वैशाख ५, २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले) का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छन् । थापालाई मातृ पार्टी नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य नरहेको जानकारी गराएपछि उनको सांसद पद गएको थियो । गृहमन्त्री थापा आजै राष्ट्रियसभा सदस्यबाट मुक्त भएका थिए ।  कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको थियो ।  राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले उनलाई सांसदबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरे बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज स्वीकृत गरेका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ । नेकपा विवादका बेला गृह मन्त्री थापाले प्रधानमन्त्री ओलीलाई साथ दिँदै अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको सहकार्य अन्त्य गरेका थिए । थापासहित माओवादी केन्द्रबाट मन्त्री भएका टोपबहादुर रायामाझीसहित चार जनालाई पनि माओवादीले कारवाही गरेपछि उनीहरुको पनि सांसद पद सकिएको थियो । सांसद पद सकिए पछि ओलीले उनीहरु चार जनालाई पनि मन्त्रिपरिषद्मा पुनर्नियुक्ति गरेका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १५:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार