सोसल मिडिया
Contact Us
युनिकोड
याङ्गुन । म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेकामध्ये कुल २३ हजारभन्दा बढीलाई नयाँ वर्षको अवसर पारेर रिहा गर्ने तयारी भएको हो । लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा हजारौँ आन्दोलनकारी अहिले बन्दी भएका छन्। तीनै हजारौँ बन्दीमध्ये केहीलाई रिहा गर्ने तयारी भएको एक उच्च अधिकारीले जानकारी दिएका छन् । म्यान्मारमा परम्परागत बुद्ध धर्माबलम्बीको नयाँ बर्षको अवसरमा कैदी बन्दीलाई आम माफी दिने चलनअनुसार नै यस पटक बन्दीलाई रिहा गर्न लागिएको हो । गत फेब्रुअरी १ देखि सेनाले सत्ता नियन्त्रणमा लिएपछि म्यानमारमा अहिलेसम्म हजारौँ गिरफ्तार भएका छन् भने सयौँ घाइते भएका छन् । त्यसैगरी ७०० भन्दा बढीको मृत्यु भएको जनाइएको छ । मृत्यु भएकामध्ये कम्तीमा ५१ जना बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीको तर्फबाट भएको हिंसामा परी उनीहरुको मृत्यु भएको राष्ट्रसङ्घीय अधिकारीको भनाइ छ । आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकालाई सुरक्षाकर्मीले अझै पनि नियन्त्रणमा लिएको पनि राष्ट्रसङ्घको तथ्याङ्कमा उल्लेख छ । हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसङ्घलगायतका धेरै निकाय र मुलुकले पटकपटक आग्रह गरेपनि म्यान्मारमा हिंसात्मक घटना भइरहेको छ । पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गराउने बाहनामा म्यान्मारको सत्ता हातमा लिएको छ । तत्कालिन नयाँ संसद्को पहिलो बैठक बस्ने तय भएकै दिन फेब्रुअरी १ तारिखमा सेनाले शिर्ष नेतालाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो ।– एएफपी