सोसल मिडिया
Contact Us
युनिकोड
लहान । व्यापक अनियमिमता भएको जनाउँदै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा विगत पाँच दिनदेखि गरेको तालाबन्दी अझै नखुल्दा सेवाग्राही मारमा परेका छन् । लामो समयदेखि नगरपालिकामा गरिएको तालाबन्दीका कारण सेवाग्राही मात्र नभई नगरक्षेत्रभित्रकै सम्पूर्ण कामकाज ठप्प हुँदा स्थानीय चिन्तित बनेका छन् । तालाबन्दीका कारण नगरपालिकाबाट सञ्चालित योजनाको काम प्रभावित हुनुका साथै काम विशेषले आउने सेवाग्राही रित्तै फर्किन बाध्य भएका छन् । कार्यवाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले गत चैत ३१ गते नगरपालिकामा तालाबन्दी गरेका थिए । नगरसभाले पारित गरेको योजनासमेत कार्यपालिका बैठकविनै आफ्नै मनोमानी तरिकाले परिवर्तन गरी कार्यवाहक नगरप्रमुख रोहिणी कुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासको मिलेमतोमा व्यापक अनियमितता भएकाले तालाबन्दी गरिएको वडाध्यक्षले बताएका छन् । कल्याणपुर नगरपालिकाका नौ जना वडाध्यक्ष तथा आठ जना कार्यपालिका सदस्यले सामूहिकरूपमा ११ सूत्रीय माग अघि सार्दै नगरपालिकामा तालाबन्दी गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवले जानकारी दिए । चालू आर्थिक वर्षमा हालसम्म सामाजिक सुरक्षा, बालपोषण लगायतका भुक्तानी गर्न नसकेकाले आफूहरूलाई स्थानीयले पटकपटक वडा कार्यालयमा गई विभिन्न किसिमको आरोप लगाइने गरेको र आफूहरूलाई वडा कार्यालय सञ्चालन गर्नसमेत कठिनाइ भइरहकाले बाध्य भएर तालाबन्दी गर्नु परेको कल्याणपुर नगरपालिका– १ का अध्यक्ष जयराम कामतीले बताए । कार्यवाहक नगरप्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत दासको मिलोमतोमा कार्यपालिकालाई जानकारी नदिइ विभिन्न योजना कमिसनको खेलमा नजिकका आफन्तलाई जिम्मा दिइ आफूखुशी सञ्चालन गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवले आरोप लगाएका छन् ।