सोसल मिडिया
Contact Us
युनिकोड
सुर्खेत । आफ्नो सांसद पद दाउमा राखेर फ्लोर क्रस गरी कर्णाली सरकार जोगाएका तीन जना एमालेका प्रदेशसभा सदस्य मन्त्रिपरिषद्मा सहभागी भएका छन् । नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका छन् । एमालेका प्रदेशसभा सदस्यहरू बुढा, थापा र शाहीका साथै प्रकाश ज्वालाले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका थिए । ३९ सदस्यीय प्रदेशसभामा माआवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् । कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन । तर एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिएपछि शाहीको सरकार जोगिएको थियो । एमाले प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्यलाई पार्टीबाट निस्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव विक्रम बुढाथोकीका अनुसार नेपाली कांग्रेसलाई पनि सरकारमा समेट्ने तयारी भइरहेको छ । उनीहरूले शुक्रबार ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको प्रस्तावमा मतदान गरेका थिए । अहिले कर्णाली सरकारमा माओवादी केन्द्रबाट नरेश भण्डारी र विमला केसी मन्त्री छन् । मुख्यमन्त्री शाहीले माओवादीबाट नयाँ अनुहारसहित नेपाली कांग्रेसलाई समेत सरकारमा सहभागी गराउने तयारी गरेको उनी निकटको भनाइ छ । नवनियुक्त मन्त्रीले आइतबार पद तथा गोपनीयताको सपथ लिने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।